नयाँ संरचनाले मुलुकमा स्थिरता र स्थायित्व प्रदान गर्ने – अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने नयाँ संरचनाले मुलुकमा स्थिरता र स्थायित्व प्रदान गर्ने बताउनुभएको छ ।

निर्वाचन प्रचारका क्रममा आज रुपन्देही क्षेत्र नं. ५ अन्तर्गत रुद्रपुरको हरैयामा आयोजित चुनावीसभामा उहाँले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि मुलुक नयाँ संरचनाअनुसार संघीयतामा चल्ने भएकाले स्थिरता र स्थायित्व कायम भई विकासको गतिमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले निर्वाचनपछि मुलुकमा बामपन्थीको जनपक्षीय र स्थिर सरकार बन्ने निश्चित भएकाले जनतामा अहिले उत्साह देखिएको बताउँदै “अब बन्ने सरकार साधारण बहुमतको होइन, दुई तिहाइसहितको बहुमतको बन्नेछ,” भन्नुभयो ।

नेपाली कांग्रेसले २०१५ सालमा दुई तिहाइ बहुमतको सरकार बनाएपनि धेरै समय टिकाउन नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एमाले नेतृत्वमा बनेका छोटो समयका अल्पमतको सरकारले धेरै जनपक्षीय काम गरेर जनताको मन जितेको छ, अब २०७४ साल बामपन्थीमय हुने निश्चित छ ।”

अध्यक्ष ओलीले लुम्बिनीको विकास राष्ट्रिय भावनाको हिसाबले गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्दै लुम्बिनीमा अन्तर्रारिष्ट्रय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको हुँदा यसले यस क्षेत्रको आर्थिक तथा पर्यटकीय विकासमा कायापलट गर्ने बताउनुभयो ।

माओवादी केन्द्रका नेता रामबहादुर थापाले नेपालमा अब छिट्टै नै विभाजित रुपमा रहेका कम्युनिस्टबीच एकता हुन लागेको चर्चागर्दै नेपालको इतिहासमा यसलाई ठूलो घटनाको रुपमा लिइएको छ भन्नुभयो ।

रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डिलाराम आचार्यले परिर्वतनका लागि नयाँ जग रुपन्देहीबाटै सुरु भएको भन्दै बेरोजगार युवालाई स्वरोजगार बनाउने योजना आफूसँग रहेको बताउनुभयो ।

उहाँले अबको १५ वर्ष बाम गठन्धनलाई सरकारमा काम गर्न दिएमा वैदेशिक रोजागारमा गएका सबै युवालाई स्वदेशमा नै स्वरोजगार प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर ५ का सचिव तथा रुपन्देही क्षेत्र नम्बर ५ (क) का प्रदेशसभा सदस्य उम्मेदवार भूमिश्वर ढकाल र रुपन्देही क्षेत्र नम्बर ५(ख) का उम्मेदवार हजरत बलाल फकीर(राजु) लगायतले मुलुकको आर्थिक रुपान्तरणका लागि वाम गठबन्धनको सरकारको आवश्यकता रहेको बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button