नमूना मध्यवर्ती सामुदायिक वनमा गिद्ध छोडिदै

पोखरा न्युज – ११ वैशाख ।

चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका थप सात वटा गिद्ध जंगलमा छोड्नका लागि नवलपरासीको कावासोती नगरपालिकाअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको छ । यसअघि चैतको अन्तिम साता छ वटा गिद्ध त्यहाँ लगिएको थियो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार गत वर्षका चार बच्चा, एउटा भाले माउ र दुई पोथी माउ गरी सात गिद्ध लगिएका थिए । यसअघि चैतमा गतवर्ष चार बच्चा र एक जोडी माउ गिद्ध जटायू रेष्टुरेण्ट पठाइएको थियो । खोरमा राखिएका ती गिद्ध केही महिनाअघि खुल्ला छाडिएको हो ।

अहिले लगिएका १३ वटा गिद्ध पनि सोही खोरमा राखिएको छ । केही महिनापछि ती गिद्धलाई खुल्ला छाडिने जानकारी दिंदै उहाँले खोर बाहिर पनि गिद्धका लागि सिनो र पानी राखिएको छ । खोर बाहिर खाना खान आउने गिद्ध र भित्रका गिद्धका बीचमा घुलमिल बढाएर भित्रका गिद्धलाई प्रकृतिमा छाड्ने गरिएको छ ।

हाल प्रजनन केन्द्रमा ५० गिद्ध छन् तिनबाट २१ वटा अण्डा पारिएपनि छ वटाबाट मात्रै बच्चा कोरलिएका छन् । नयाँ जोडीले अण्डा पारेका र चार वटा भुइँमा पारेकाले सबै अण्डा कोरलिन नसकेका हुन् ।

प्रजनन केन्द्रमा डाइक्लोफिनरहित राँगाको मासु गिद्धलाई खुवाइँदै आएको छ । प्रकृतिमा गिद्ध लोप हुँदै गएपछि सरकारले गिद्ध संरक्षण कार्य शुरु गरेको हो । प्रजनन केन्द्रमा गिद्ध हुर्काएर प्रकृतिमा छाड्ने यो अभियान विश्वमा नै नेपालमा सफल भएको मानिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सन् २००७ बाट डंगर गिद्ध संरक्षण थालिएको हो । सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा संरक्षण गरी राखिएका १९ वटा गिद्धलाई खुल्ला छाड्ने योजना बनाएको छ ।

खुल्ला छाडिने गिद्धमा रेडियो फ्रिक्वेन्सीसमेत जडान गरिएको छ । अति संकटापन्न अवस्थामा रहेको डंगर जातको गिद्धको संख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको हो ।

(प्रतिकात्मक तस्बिर)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button