सवारी दुर्घटना न्यूनिकरण गर्न पोखरामा ट्राफिक सप्ताह

डीएनबि, पोखरा न्युज – १४ वैशाख ।

पछिल्लो दुई महिना देखि पोखरामा सवारी दुर्घटना बढेको कारण सवारी दुर्घटनालाई न्यूनिकरण गर्न पोखरामा सचेतनामुलक ट्राफिक सप्ताह आयोजना गरिने भएको छ ।

जिल्ला ट्राफिक कार्यालय कास्की र नेपाल रेडक्रस सोसाइटी कास्कीको संयुक्त आयोजनामा यही वैशाख १७ देखि देखि २३ गतेसम्म ट्राफिक सम्बन्धि विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गनि ट्राफिक सप्ताह मनाईने भएको आज (शुक्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

सोमबार देखि शुरु हुने ट्राफिक सप्ताहमा प्रभातफेरी देखि चालक परामर्श, पर्चा पम्प्लेट बितरण, आमा समुह तथा कक्षा ९ र १० का विद्यार्थीलाई ट्राफिक सचेतना, जेब्राक्रसमा स्वयमसेवक परिचालन, रेडियो संवाद, प्याराग्लाइडिङ्ग चालक तथा ड्राइभिङ्ग इन्स्टीच्युटहरुलाई सचेतना कक्षा लगायतका कार्यक्रम आयोजना गरिने जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक ऐन बहादुर मल्लले बताए ।  उनले भने “ पछिल्लो दुई महिनामा पोखरामा सवारी दुर्घटना करिब दोब्बरले बृद्धी भएको छ, त्यसलाई न्यूनिकरण गर्न हामीले विभिन्न संघ संस्स्थाको समन्वयमा यस्तो कार्यक्रम आयोजना गर्न लागेका हौं, यसमा सवैको साथ र सहयोग आवश्यक पर्छ । ”

बैशाख १७ गते प्रभात फेरी, पर्चापम्लेट वितरण, चालक परामर्श, बैशाख १८ गते जेब्राक्रस स्वयमसेवक परिचालन, र अमरसिंह उच्चमावी र महेन्द्र उच्चमावीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सचेतना कक्षा, रेडियो सम्बाद, बैशाख १९ गते ड्राइभिङ्ग इन्ष्टीच्युट समितिका प्रतिनिधीहरुलाई सचेतना गराउने कार्यक्रम तय गरिएको प्रहरी निरीक्षक मल्लले बताए ।

त्यसै गरी बैशाख २० गते प्याराग्लाइडिङ्ग चालकहरुलाई ट्राफिक सचेतना र प्यारामाउण्ड बोर्डिंग स्कुलमा सचेतना कक्षा, चालक परामर्श, बैशाख २१ गते आमा समुहहरुलाई सचेतना कक्षा, चालक परामर्श, बैशाख २२ गते चालकका लागि ट्राफिक कक्षा, बाराही उच्च माविमा सचेतना कक्षा र बैशाख २३ गते फिल्म हलहरुमा अडियो क्लिप शो, र समापन गरिने प्रहरी निरीक्षक मल्लले बताए ।

देशमा हाल सडक दुर्घटना ठुलो विपदको रुपमा आई लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम प्रहरी उपरीक्षक अशोक सिंहले बताए । लापरवाहीकै कारण अधिकाशं सडक दुर्घटना भएको दाबी गर्दै एस.पी. असोक सिंहले विभिन्न ठाँउमा चेकिङ गर्दा गल्ति गरेको भेटेमा ठाँउको ठाँउ नै कारवाही गर्ने जनाए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखराको मार्गचित्र बनायर मात्र ट्राफिक व्यबस्थापनमा केन्द्रित हुनु पर्ने सुझाव दिदै पछिल्लो समयमा पोखरामा ट्राफिक जाम हुन सुरु भएकोमा चिन्ता व्यक्त गरे । नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारीले सवारुी दुर्घटनाबाट दैनिक करिब ६ जनाको ज्यान जाने गरी देशमा ठुलो विपद् आई लागेकोले यसलाई न्यूनिकरण तर्फ सवै लाग्नु पर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button