म्याग्दीमा अक्षयकोष स्थापना

पोखरा न्युज -२८, जेठ।
म्याग्दी धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माध्यमिक विद्यालयमा रु एक लाख ७५ हजारको अक्षयकोष स्थापना भएको छ ।

विद्यालयमा हरेक वर्ष उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले उक्त अक्षयकोषको स्थापना गरिएको हो ।

अक्षयकोषमा विद्यालयका पूर्वअध्यक्ष सुवेदार तुलबहादुर घ्याप्चन छन्त्यालले आफ्नो स्व आमा अनमा (घ्याप्चन) छन्त्यालको स्मृतिमा रु एक लाख २५ हजार सहयोग गरेका छन् ।

यसैगरी मल्कबाङ घर भई हाल युकेमा रहेका शेर छन्त्यालले समेत रु ५० हजार सहयोग गरी अक्षयकोषको रकम वृद्धि गरिएको हो।

“विद्यार्थीलाई उत्कृष्ट हुन हौसला दिने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो,” साविक मल्कबाङ गाविसका पूर्वअध्यक्षसमेत रहेका सुवेदार तुलबहादुर घ्याप्चन छन्त्यालले भने, “विद्यालयको चौतर्फी विकासमा सधैँ मेरो साथ रहन्छ ।”

उक्त अक्षयकोषको ब्याज रकमबाट हरेक वर्ष शिक्षा दिवसका अवसरमा विद्यालयमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने, मेहनती, खेलकुदमा अगाडि आउने विद्यार्थीलाई पुरस्कृत गरिने अभियन्ता शेर छन्त्यालले बताए।

यसैबीच जनजागृति माविमा मल्कबाङ समाज युकेको पहलमा केन्द्रीय समाज पोखराद्वारा प्रदान हुने मोतिलाल पुरस्कारसमेत स्थापना गरिएको छ ।

विद्यालयका संस्थापक शिक्षकको नाममा दुई वर्ष अगाडि स्थापना भएको उक्त पुरस्कारबाट हरेक वर्ष एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने एक जना विद्यार्थीलाई रु २० हजार नगदसहित पुरस्कृत गरिँदै आइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button