रोल्पामा बन्द भएको सिमेन्ट उद्योग खुल्यो

पोखरा न्यूज -२६, साउन ।

रोल्पा सिमेन्ट प्रालि र स्थानीय ट्रिपर व्यवसायीबीचको असमझदारीका कारण बन्द रहेको रोल्पा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ ।

उद्योगसँग भएको सम्झौता बमोजिम आफूहरूले उद्योगको सामान ढुवानी गर्न पाउनुपर्ने माग राखी ट्रिपर व्यवसायीले १० दिनदेखि आन्दोलन गरेका कारण उद्योग बन्द भएको थियो । लगातार सात दिन उद्योग बन्द भएपछि त्रिवेणी गाउँपालिकाले दुवै पक्षसँग छलफल गरी उद्योग सञ्चालनको वातावरण मिलाएको हो ।

गत असारमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुखलगायतको उपस्थितिमा उद्योग र स्थानीयवासीबीच भएको सम्झौतामा स्थानीय ट्रिपर व्यवसायीलाई काम लगाउने उल्लेख भएको व्यवसायीले बताएका छन् । सम्झौता तत्काल कार्यान्वयन गर्ने भनिए पनि लामो समयसम्म काम लगाउन उद्योगले तत्परता नदेखाएकाले आन्दोलन घोषणा गर्न बाध्य भएको ट्रिपर व्यवसायीले बताएका छन् ।

पछिल्लो पटक भएको सम्झौता बमोजिम उद्योगले स्थानीय ट्रिपर व्यवसायीका १० ट्रिपर काममा लगाउने भएको छ । जसका लागि उद्योगदेखि दाङको अमेलिया डिपोसम्म प्रतिटन रु ८३५ का दरले भाडासमेत निर्धारण गरिएको बताइएको छ ।

व्यवसायीले प्रति टन रु ९०० को माग गरेको र उद्योगले रु ८०० भन्दा दिन नसकिने भनिरहेको बेला त्रिवेणी गाउँपालिकाले दुवै पक्षलाई मान्य हुने गरी प्रतिटन रु ८३५ निर्धारण गरिदिएपछि दुवै पक्ष सहमत भएको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए ।

रोल्पा त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा विसं ०६६ मा स्थापना भएको उक्त उद्योगले दैनिक २ हजार ५०० बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । एक सय बढी प्राविधिक तथा अन्य कर्मचारी र मजदुरले रोजगारी पाएको उक्त उद्योगबाट उत्पादित सिमेन्ट भने जिल्ला बाहिर जाने गर्दछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button