पोखरा न्यूज- २४, मंसिर।
७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यसै अवसरमा सोमबार बिहान पोखरामा पनि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।
मानव अधिकार दिवसको अवसरमा पोखरामा निर्मला पन्तको हत्यारा पत्ता लगाउन सांकेतिक रुपमा बिरोध समेत जनाइएको छ । सरकार भेटियो न्याय भेटिएन, निर्मलाहरुलाई न्याय खै ? सरकार कहाँ लुक्दै छ ? बलात्कारी संग झुक्दै छ जस्ता ब्यानर र प्ले कार्ड बोकेर सर्वसाधारण जनताले निर्मलाको न्यायका लागि बिरोध जनाएका हुन् ।
सबै खाले विभेदको अन्त्य गरौ, फेशन नबनोस् मानवअधिकारः हाम्रा लागि ३६५ दिन सरोकार, मानवअधिकार सबैका लागि बराबरीः विभेद भए गर्नेछौ कडा खबरदारी भन्ने मूल नाराका साथ स्वयमसेवी मानवअधिकार रक्षक सञ्जाल नेपालको आहृवानमा मानव अधिकार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो ।
पोखराको मानवअधिकारचोक चिप्लेढुङ्गाबाट सुरु गरिएको प्रभातफेरी न्यूरोड हुदै सभागृह पुगेर समापन भएको थियो । प्रभातफेरी कार्यक्रममा सहभागी भएका मानव अधिकारकर्मीहरुले मानव अधिकारको पूर्ण प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन् । उनीहरुले महिला हत्या, हिंसा लगायतका घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई तत्काल रोक्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले मानव मर्यादालाई व्यवस्था गर्नका निम्ती मानव अधिकारको कुरा अगाडी बढाइरहेको बताए । राज्य संचालनमा मानवअधिकारको मर्मको अनुभुति गरेकै राजनिति व्यत्तित्वहरु हुने गरेको उनले जनाए । मानव अधिकारका विषयमा राज्यको कुनै अंग पनि अनविज्ञ नरहेको उनले बताए ।
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवि पुनले समाजमा पछाडी पारिएका समुदाय र वर्ग सबैको अधिकारको समुच्च रुप मानवअधिकार भएको बताइन । मन्त्री पुनले १६ दिने महिला हिंसाको अभियानको आज समापन पनि भएकाले शिक्षा, अर्थ सहित देशको कानुनको प्रभावकारी कार्यन्वयन भएमात्र लैंगिक हिंसाको अन्त्य गर्न सकिने बताइन । त्यसैले यि सबैको रक्षा गर्ने जिम्मेबारी प्रदेश सरकारको रहेको बताउदै त्यहि अनुरुप काम कारबाही भइरहेको मन्त्री पुनले जनाईन।
कार्यक्रममा मानवअधिकार संस्थामा आबद्ध रहि काम गरेका महिला अधिकार कर्मी स्याङजाकी गीता शर्मा र गैर सरकारी महासंघ तनहूँका निवर्तमान अध्यक्ष रामलिला सुवर्णकारलाई सम्मान गरिएको थियो ।
नागरिक समाज पोखरा, युवा पत्रकार सञ्जाल गण्डकी, मानव अधिकार तथा शान्ति समाज कास्की, स्वतन्त्र पत्रकार संघ कास्की, पोखरा बृद्धाश्रम लगायत दर्जन भन्दा बढि संघसंस्थाको सहभागितामा ¥यालीमा सहभागि भएका थिए ।
प्रभातफेरीमा सहभागी भएका मानव अधिकारकर्मीहरुले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाइ नगर्न पनि सरकारलाई दवाव दिएका छन् । उनीहरुले समानता, न्याय र मानव मर्यादाका लागि सबैलाई एकजुट हुन पनि आहृवान गरेका छन् ।