म्याग्दीको फगाम र तिप्ल्याङमा सडक निर्माण

पोखरा न्यूज – १०, माघ ।

दाना–कुश्मा प्रशारण लाइन आयोजनाको सहयोगमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दाना र हिस्तानमा सडक निर्माण भएको छ । बेनी–जोमसोम सडकको दानाको दुवाडी खण्डदेखि फगाम र हिस्तानको महभिर खण्डदेखि तिप्ल्याङ गाउँ जोड्ने पाँच किलोमिटर ५०० मिटर सडक निर्माण भएको हो ।

रु एक करोडको लागतमा दुई वटा बस्तीलाई जोड्ने सडक निर्माण गरिएको कालीगण्डकी कोरिडोर प्रशारण लाइन आयोजनाको वातावरण तथा सामुदायिक विभागका सामाजिक अधिकृत प्रमोद न्यौपानेले जानकारी दिए ।

आयोजनाको ठेकेदार कम्पनी टाटा–चिन्ट जेभीले रु ८५ लाखमा दुवाडीदेखि सुवा हुँदै फगाम जोड्ने चार किलोमिटर ५०० मिटर र रु १५ लाखमा महभिरदेखि दोसल्लेको तिप्ल्याङ जोड्ने एक किलोमिटर सडक निर्माण गरेको हो । सडक निर्माण भएपछि स्थानीयवासीका साथै प्रशारण लाइनको टावर निर्माणका सामग्री ढुवानी गर्न सहज भएको फगामकी सीता विश्वकर्माले बताइन् ।

गत वर्षनै ट्रयाक खोलिएको दुवाडी–फगाम सडक बर्खामा पहिरोका कारण भत्किएपछि आयोजनाले पुनःमर्मत गरेको हो । सडक चार मिटर फराकिलो छ । यसबाट दुई वटा गाउँका १०० घरधुरी लाभान्वित भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button