दीननाथ बराल , पोखरा न्यूज २८, जेठ । पोखरा १७, दोभिल्ला स्थित फुर्सेखोलामा पौडी खेल्ने क्रममा सोमबार वेपत्ता भएका एक युवाको आज (मंगलबार) शव भेटिएको छ ।
काठमाण्डौ घर भई हाल चिप्लेढुंगा पोखरा बस्दै आएका १९ बर्षीय संजिव तामाङको पोखरा -३१ बागमारा सितापाइला नजिकको खोलामा शव भेटिएको प्रहरीले जनाएको छ । तामाङको शव आफन्तले पहिचान गरेसंगै हाल पोष्टमाटमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानम राखिएको छ ।
आफ्ना साथीहरुसंग पौडी खेल्न फुर्सेखोलामा पुगेका तामाङ सोमबार दिउसो बरिब ४ः३० बजे पौडी खेल्ने क्रममा एकाएक वेपत्ता भएका थिए । प्रहरी सहितको अन्य सुरक्षाकर्मी एवं स्थानियले उनीको खोजी कार्यमा सोमबार साँझ देखि खोजी कार्य जारी राखेको थियो ।
उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेश सुवेदीले बताए ।