आजको राशिफल : २०७६ असार १० गते मंगलबार

पोखरा न्यूज – १०, असार । आज वि.सं. २०७६ आषाढ १० गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जुन २५ तारिख, भौमाष्टमी व्रत, भलभल अष्टमी, भूमिपूजा, कामाख्यामा अम्बुवाची मेलाको समापन आषाढ कृष्ण अष्टमी, उत्तराभाद्रा नक्षत्र, मीन राशिको चन्द्रमा, सौभाग्य योग, बालब र कौलव करण

आजको चाडपर्व र उत्सव : भौमाष्टमी व्रत, गोरखकाली पूजा, देउपाटनमा त्रिशूल यात्रा, भलभल अष्टमी, भूमिपूजा, कामाख्यामा अम्बुवाची मेलाको समापन
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
भोलिको मूहुर्त : कलशचक्र,

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०३:३४ देखि ०५:१७ सम्म
यमघण्ट : बिहान ०८:३९ देखि १०:२३ सम्म
गुलिक काल : दिउँसो १२:०६ देखि ०१:५० सम्म
काल वारवेला : दिउँसो ०१:५० देखि ०३:३४ सम्म
रोग वारवेला : बिहान ०५:१२ देखि ०६:५५ सम्म र साँझ ०५:१७ देखि ०८:१७ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान १०:२३ देखि १२:०६ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा महिलाको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बाह्रौं चन्द्रमा रहेकाले प्रतिकूल समय चल्दैछ । धैर्यले काम लिने समय छ । आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । सामान हराउने वा धननाशको सम्भावना छ । भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैलाई दुःख होला । मानसिक एवं बौद्धिक क्षमतामा कमी आउने छ । नजिकैको आफन्त वा नातेदारले पनि आफ्ना कुरा नबुझिदिनाले दुःख लाग्नेछ । खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्ध बिग्रन सक्छ । यात्राबाट फाइदा छैन ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : खर्र्चमा नियन्त्रण
के नगर्ने : विलम्ब र ढिलासुस्ती

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
एकाबिहानै मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ । लाभ भावमा रहेको कमजोर चन्द्रमाको प्रभावले ढिलो गरी कार्यसम्पादन हुने दिन छ । साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ । बोझिला र शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता प्राप्त हुने छैन । राज्यपक्ष र सरकारी काममा बाधा पुग्नेछ । बन्दव्यापारमा ध्यान दिनु आवश्यक छ, सानो लापरबाहीले नोक्सानी बढ्न सक्छ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी
के नगर्ने : अनुशासन भङ्ग

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय निकालेमा कर्मसिद्धि हुनाले व्यवसायमा प्रगति हुनेछ । व्यवसायिक यात्राका लागि उचित समयको योग छ । आफ्नो काममा तल्लीन हुनुपर्ने छ, दिन बितेको पत्तो पाइने छैन । काम गर्दा कुनै दुविधा भएमा जान्नेबुझ्ने वा अनुभवीको राय लिनु पर्छ, सफलता मिल्नेछ । आज कर्मक्षेत्रमा सबल चन्द्रमा रहेकाले नोकरी, बन्दव्यापार वा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा अनुभवी व्यक्तित्वका साथमा अति सुमधुर सम्बन्ध कायम हुनेछ ।
शुभरङ्ग : कालो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास
के नगर्ने : अल्छीपन र अकर्मण्यता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
भाग्यमा चन्द्रमा छ, तर धेरै आशावादी हुने दिन छैन । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । आर्थिक सङ्कट हुनाले योजना स्थगित हुनसक्छ । व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुनसक्छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । यद्यपि आँट र हिम्मतका साथमा अघि बढेमा आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । मिहिनेत गर्दा एउटै कामबाट दोहोरो फाइदा मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । विशेष योजनाहरू बन्नेछन् ।
शुभरङ्ग : गाढा पहेंलो वा केशरी
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : धर्मराज
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम
के नगर्ने : अपमान

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
शरीरमा आलस्य, भ्रम र रिसरागले डेरा जमाउने दिन छ । अष्टम चन्द्रमा भएकाले मेसिन, कलपुर्जा, सवारी साधन र हतियार चलाउँदा होस् राख्नु राम्रो हुन्छ । घाउखटिरा र चोटपटकलगायत स्वास्थ्यमा समस्या देखिन सक्छ । बेकारको विवादमा फँस्न सकिन्छ, व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, बोलीमा नियन्त्रण गरेको राम्रो हुन्छ । कुनै पनि नयाँ काम थालनी गर्दा शुभफल पाउन सकिंदैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो । व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । सामाजिक र परोपकारका मार्गमा जस पाइँदैन, यद्यपि संलग्न हुनु राम्रो हुन्छ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : भगवान् महादेव
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण
के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज भावनाप्रधान दिन हो । प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुनसक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । व्यावसायिक यात्राको सम्भावना पनि छ । नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ साथी वा साझेदार बनाउन पाइने छ ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : राधाकृष्ण
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने
के नगर्ने : कामुकता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
तर्क, बहस र वादविवादमा संलग्न हुने समय चल्दैछ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । आफन्त, मित्रवर्ग, सहयोगीहरू तपाईंको साथमा हुनेछन् । स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुनेछन् । साथीभाइले सकेको मद्दत गर्नेछन् ।
शुभरङ्ग : सेतो वा घुर्मैलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : विष्णु भगवान्
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने
के नगर्ने : मुद्दामामिला र झैझगडा

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता बढे पनि कुनै नयाँ कामधन्दाका लागि काम गर्ने वातावरण सिर्जना हुन्छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । भोगविलासप्रति आशक्ति बढ्न सक्छ वा कुनै तिर्सना जाग्नाले मन विरक्तिन सक्छ, सचेत रहनु होला । एकाबिहानै सन्ततिको व्यवहारिक समस्याका क्षेत्रमा चिन्तित बन्न सक्नुहुन्छ, आज बौद्धिक र प्राज्ञिक क्षेत्रमा समय प्रदान गरिने छ । दैनिक कामकाज र बन्दव्यापारमा राम्रै छ । मानप्रतिष्ठा प्राप्तिका प्रयास हुनेछन् । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहालाई मान्नु आजका लागि उपयोगी हुनेछ ।
शुभरङ्ग : आकासे
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने
के नगर्ने : अहङ्कार

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चौथो चन्द्रमाले स्वास्थ्यसम्बद्ध समस्या ल्याउनसक्छ, तर डराई हाल्ने परिस्थिति छैन । धैर्यले काम लिने समय छ । घरगृहस्थी र पारिवारिक रमझममा समय व्यतीत हुनेछ । वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरूले घरायसी कुरा सम्झेर दिन बिताउने छन् । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । बन्दव्यापार राम्रो छ, आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना देखिन्छ । नचिताएको साथी वा छिमेकीले अप्रत्यासित सहयोग गर्ने सङ्केत पनि छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । पति/पत्नी र प्रेमी/प्रेमिकाका बीचमा निकटता बढ्ने छ ।
शुभरङ्ग : कलेजी
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : अष्टमातृका
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने
के नगर्ने : लोभ र मोह

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । पराक्रम र उत्साह बढ्नेछ । आम्दानी बढ्नेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित भइनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । बन्दव्यापार र क्रयविक्रयबाट लाभ मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रतिस्पर्धामा सफल भइने छ, प्रतिस्पर्धी परास्त हुनेछन् । परिश्रम र पराक्रम गरेबमोजिम समाजमा सम्मान र साख बढाउन सकिने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।
शुभरङ्ग : हरियो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने
के नगर्ने : दुःखीको अपमान

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, त्यसैले सचेत रहनुपर्छ । कृषि, पशुपालन र झिनामसिना घरायसी काममा समय दिनु पर्ने हुन्छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन र श्रमको समुचित मूल्याङ्कन नहुनाले दिक्क लाग्नेछ । पढाइलेखाइमा समय दिन सकिंदैन । बोलीमा संयमता अपनाउनु राम्रो हुन्छ । स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । कुनै नयाँ काममा हात हाल्ने विचारमा हुनुहुन्छ भने जान्नेबुझ्नेको सुझाव प्राप्त गर्नु बेस हो । मनोरञ्जन र विलासिताका क्षेत्रमा धनखर्चको योग छ ।
शुभरङ्ग : सेतो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने
के नगर्ने : फजुल खर्च

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ तर पनि आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । बन्दव्यापारका अन्य क्षेत्रमा समेत लाभ मिल्नेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।
शुभरङ्ग : गुलाबी
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

ज्योतिष : कृष्णप्रसाद कोइराला , धर्म संस्कृति

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. : कृष्णप्रसाद कोइराला , धर्म संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button