पोखराको कालाबाङ होमस्टेमा पर्यटकको भिड

दीननाथ बराल, पोखरा न्यूज – १७, असार । पोखरा क्षेत्रका धेरै होम स्टेहरुको बिचमा कालावाङ घरेडीले आफ्नो छुट्टै  स्थान बनाउन सफल भएको छ । पोखरा महानगरपालिका-२२ पुम्दी भुम्दीमा रहेको होमस्टेले आन्तरिक पर्यटकहरुको समुहलाई आकषर्ण गरी अन्य होमस्टेको भिडमा आफुलाई छुट्टै स्थान बनाउन सफल भएको छ ।

पछिल्लो केही महिनादेखि हरेक शुक्रबार र शनिबार तथा सार्वजनिक विदाको दिन होमस्टेमा जाने आन्तरिक पर्यटकहरुको भिड् नै लाग्ने गरेको कालाबाङ घरेडी सामुदायिक होमस्टेका अध्यक्ष प्रकाश गुरुङले बताए । उनले भने “पहिलो दुई बर्षमा हामीले होम स्टे छाडौं की जस्तो अवस्थामा पुगेका थियौं तर विस्तारै होमस्टेले लय लिदै जाँदा हिजो आज विदाको दिनमा हामीले पर्यटकलाई ब्यवस्थापन गर्न कठिन भएको छ, हामीले चाहेर पनि कहिले काहिँ अर्को दिन आउनुहोला सम्म भन्नु परेको छ । ”

२०७१ देखि संचालनमा आएको होमस्टे शुरुको दुई बर्षमा होम स्टे संचालकहरु होमस्टे बन्द गर्ने कि भन्ने सम्मको सोच्न बाध्य भएका अन्ततः तेश्रो बर्ष देखि वितारै पर्यटकहरुको आगमन बढेसंगै हाल पर्यटक व्याबस्थापन गर्न समेत हम्मे हम्मे भएको बताएकाछन् ।

विभिन्न संघ संस्था, सहकारी, रोटरी, लायन्स, आमा समुह, क्लबको बार्षिकोत्सव, अधिवेसन्, प्रशिक्षण, गोष्ठी लगायतका कार्यक्रम सहित होम स्टेमा विदाको दिनमा अत्याधिक रुपमा आन्तरिक पर्यटकहरु जाने गरेको अध्यक्ष गुरुङले जनाए । हाल होमस्टेमा १८ घर धुरीमा ८२ जना क्षमता रहेको उनले जनाए । पोखरा क्षेत्र भन्दा बाहिरबाट समेत होम स्टेको बारेमा बुझ्न र धुमघामको लागि समेत आउन थालेको अध्यक्ष गुरुङले जनाए ।

पोखराको मुख्य बजार देखि करिब १३ किलोमिटर नजिक, शान्त वातावरण, दृश्यावलोकनको लागि उत्कृष्ट गन्तव्य कालाबाङको न्हेआल डाँडा/चक्र हाल्ने डाँडाबाट लमजुङ हिमाल देखि अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरीसम्मका हिमश्रृखला देख्न सकिन्छ । समुद्रि सतह देखि करिब १ हजार ४ सय ५६ मिटर उचाइमा पर्ने सो क्षेत्रमा अर्गानिक खाना, सांस्कृतिक कार्यक्रम, पिकनिक स्पट, अर्गानिक कफि तथा चिया, लोकल कुखुरा, खसी तथा भेडाको मासुको परिकार लगायतका सेवा सुविधा उपलब्ध हुने अध्यक्ष गुरुङले बताए ।

गत बर्ष मात्र करिब साँढे ६ हजार पर्यटकहरु भित्रिएको अध्यक्ष गुरुङले जनाए । यस चालु आर्थिक बर्ष २०७५/०७६ मा करिब साँढे ७ हजार पर्यटक भित्रने आफुहरुले विश्वास लिएको उनले जनाए । सामान्यतया एक घर परिवारले मासिक होम स्टेबाट मात्र हाल करिब १० हजार देखि २५ हजारसम्म आम्दानी गर्न सफल भएको अध्यक्ष गुरुङले जनाए । प्रति घरमा दुई  देखि चार वटा रुमसम्म रहेका छन्।

गाउँमा होमस्टे राम्रो हुँदै आएपछि होमस्टेले स्थानियलाई  पुनः गाउँ फर्काउन समेत सफल भएको अध्यक्ष गुरुङले दाबी गरे । उनका अनुसार दुर्गाबहादुर गुरुङ र तोल बहादुर गुरुङ पोखराको मुख्य बजार क्षेत्रमा बसोबास गर्दै आएका दुई परिवार गाउँमा फर्किएका हुन्। उनले भने “पहिला पुराना घर भएकाहरुको लागि खानेपानी योजना अनुसार एक घर एक धारामा पानी चाहिदैन भन्नेहरु हाल पानीको धाराको समेत माग गर्न थालेको अध्यक्ष गुरुङले बताए ।

स्थानिय एक अगुवा कृषक देविलाल बरालको प्रेरणाबाट आफुहरु घर-घरमा व्यवसायिक रुपमा काक्रों समेत लगाउन थालेको उनले बताए । उक्त होमस्टेमा एक रात बसेको बिहान तथा बेलुका खाना , बिहानको नास्ता सहित प्रति व्यक्ति १ हजार १ सय ५० र विदेशीलाई भने २ हजार ५ सय रुपैया शुल्क निर्धारण गरिएको छ ।

गाउँमा सेमिनार हल सहित गुम्बा समेत रहेकोले पर्यटकहरुलाई थप आकर्षण गर्ने गरेको उनले जनाए । होमस्टे संचालन भएसंगै स्थानियको आय आर्जनमा केही सुधार हुँदै आएको स्थानिय व्यवसायीहरु बताउछन्। स्थानिय रुपमा उत्पादन भएको फलफुल तथा तरकारी सहितको अन्नवाली समेत होमस्टेमा खपत हुने गरेको अध्यक्ष गुरुङले जनाए । उत्पादनलाई प्रोत्साहन गर्न पनि एक घर एक उत्पादनमा आफुहरुले जोड दिने उनले जनाए । उक्त होमस्टेमा गुरुङ, ब्राहमण, दलित समुदायको बस्ती रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button