भोलिदेखि पोखराका बसमा इ-टिकेटिङ लागु हुने, १ सय ३५ रुपैयामा कार्ड किन्न सकिने 

दीननाथ बराल, पोखरा न्यूज -३२, साउन ।  पोखराको मुख्य चोकहरु (कोर सिटि) मा संचालन हुने बसहरुमा भोलि भदौं १ गतेदेखि इ- टिकेटिङ सिस्टम शुरु हुने भएको छ । प्राविधिक कारणले पोखराका सबै क्षेत्र र बसहरुमा भदौं १ गतेदेखि  इ- टिकेटिङ लागु गर्न नसकिने भएको पोखरा महानगरपालिकाका सुचना अधिकारी गंगालाल सुवेदीले बताए ।

प्राविधिक समस्याको कारण पोखराका सबै रुटमा गुड्ने सवारी साधनमा भने भदौं एक गते सिस्टम लागु नभए पनि ३/४ दिनमा सम्पूर्ण पोखराका रुटमा इ-टिकेटिङ सिस्टम लागु हुने उनले दाबी गरे । पोखरा महानगरपालिका भित्र प्रविधि मैत्रि सवारी साधन प्रयोग गर्ने गराउने उद्धेश्यले महानगरको अगुवाईमा सिस्टम लागु भएको हो ।

पोखराको छोटो दुरीका यात्रु बहाक बसमा अनिर्वाय भदौ १ गते देखि शुरु हुने भनिएको सिस्टम डिभाइस आउन ढिलो भएकाले  भदौं ४ गते देखि पोखरा क्षेत्रमा पूर्ण रुपमा इ-टिकेटिङ सिस्टम लागु हुने पोखरा बस कम्पनीका संचालक मध्येका एक अमृत तिमिल्सिनाले बताए । उनले भने “हामीले पोखरा महानगरसंग भदौं १ गतेदेखि सबै बसहरुमा इ-टिकेटिङ सिस्टम लागु गर्ने भने पनि हङकङबाट आउनु पर्ने डिभाइस आउन केही दिन ढिलाई भएकाले ढिलोमा ४ दिन पछि अर्थात भदौं ४ गतेदेखि पोखरामा अनिवार्य रुपमा इ-टिकेटिङ सिस्टम हामी लागु गर्न सक्ने अवस्थामा हुनेछौं । ”  उनका अनुसार हाल पोखरामा करिब ३ सय ५० वटा बसहरुमा इ-टिकेटिङ सिस्टमको लागि डिभाइस र सफ्टवेयर जडान भएको छ बाँकी ४ सय ५० बसमा केहि  दिनमै जडान गरिने छ ।

यात्रुहरुले मेट्रो कार्ड खरिद गर्न १ सय ३५ रुपैया तिरेर पनि शुन्य व्यलेन्समा कार्ड पाउने छन भने अन्यथा पासपोर्ट साइजको एक प्रति फोटो र परिचय पत्र खुल्ने आइडि कार्डको फोटो कपिको आधारमा एउटा फम भरेर एक सय रुपैया व्यालेन्स भएको कार्ड लिन सक्छन्। एक सय रुपैया धरौटी स्वरुप यात्रुसंग लिइने भएको छ । सिस्टम लागु भएसंगै आर्थिक पारदर्शी, भाडाको बिषयमा हुने विबादको अन्त्य हुने संचालक तिमिल्सिनाले बताए ।

यात्रुहरुले कार्ड प्रयोग गर्दा उनीहरुको रेकर्ड समेत हुने हुँदा छुट भएको यात्रुले यदी सामान बसमा छुटाएको अवस्थामा हराउने सम्भावना कम हुने संचालक तिमिल्सिनाले बताए । कार्ड प्रयोगकर्तालाई पोखरा बस कम्पनीले चढ्नसाथ न्यूनतम १३ रुपैया, यदि नगद भाडा दिनेसंग १४ रुपैया लिने संचालक तिमिल्सिनाले जनाए ।

कार्ड प्रयोग कर्तालाई भने २० रुपैया भाडा लाग्ने ठाउँमा भने २ रुपैया छुट, ४० रुपैयासम्मको ४ रुपैया छुट र ५० रुपैयासम्म भाडा लाग्ने ठाउँमा ५ रुपैया छुटको व्यावस्था गरेको उनले जनाए । जेष्ठ नागरिकलाई दुई सिट आरक्षण सहित विद्यार्थीहरुलाई ४५ प्रतिशतसम्मको छुटको समेत व्यावस्था गरिएको उनले जनाए ।

कार्डमा भएको  ब्यालेन्स सके पछि पुनः कार्ड फिर्ता गरेर एक सय रुपैया धरौटी फिर्ता समेत हुने भएको छ । पुनः रिचार्ज गर्दा सिस्टम लागुको बैंकीङ पाटनर ओम डेभलपमेन्ट बैंक तथा सह-चालकहरुसंग समेत गर्न सकिने भएको छ । ओम डेभलपमेन्ट बैंकका सिइओ विश्वमोहन अधिकारीले पहिलो चरणमा आफुहरुबाट १० हजार कार्ड वितरण गर्ने तयारी भएको जनाए । उनका अनुसार करिब ७ सय कार्ड वितरण गरिएको छ । उनले भने “पहिलो चरणमा १० हजार प्रति कार्ड निःशुल्क रुपमा वितरण गर्ने छौं, ३ लाखसम्म कार्ड वितरण गर्ने योजनामा हामी रहेका छौं । ”

कुनै कार्ड लिनु परेमा वा रिचार्ज गर्नु परेमा ओमका कुनै पनि शाखा तथा पोखरा महानगरका कुनै पनि वडा तथा बस कम्पनीका काउण्टरबाट समेत सेवा लिन सकिने ब्यावस्था मिलाएको सिइओ अधिकारीले जनाए । मेट्रो कार्ड आइतबारदेखि पोखरा महानगरपालिकाका अधिकाशं वडा कार्यालय, ओम बैंकको शाखा, बस कम्पनीहरुका कार्यालयबाट आइतबारदेखि कार्ड वितरण हुने भएको छ । पोखरा महानगपालिका संरक्षक रहेको छ। कार्डमा न्यूनतम एक सयदेखि अधिकतम एक हजार रुपैया सम्मको ब्यालेन्स हुनेछ ।

यो सिस्टम शुरु भएपछि यात्रुहरुले पहिलो पटक बसका सह-चालकलाई कार्ड देखाएर स्मार्ट पोष्ट डिभाइस मेसिनमा छुने र झर्ने बेलामा मेसिनमा छुँदा आवश्यक शुल्क कार्डबाट काटिने एनक्लाउड कम्पनीका सिइओ दिपेन्द्र नारायण श्रेष्ठले बताए ।

आफुहरुले पोखरामा करिब ३ लाख कार्ड वितरण गर्ने तयारी गरेको जनाए । उनका अनुसार पोखराका ७ बस कम्पनी पोखरा बस, पृथ्बी राजमार्ग बस संचालक, श्रृङगा यातायात, स्थानिय यातायात, विन्ध्यवासिनी यातायात, बेगनास यातायात र फेवा यातायात कम्पनी प्रालिका बस तथा मिनि माइक्रो बसमा कार्ड लागु हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button