नेपालको इज्जत र प्रतिष्ठासँग जोडिएको सागलाई बजेट विनियोजन हुन्छः मन्त्री खतिवडा

दीननाथ बराल, पोखरा न्यूज – ०४, असोज ।  अर्थ मन्त्री डा. युवराज खतिवडाले नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) गेमको पूर्वाधार निर्माणको लागि आवश्यक बजेट विनियोजन हुने बताएका छन्।

पोखरा रंगशालामा निर्माण हुँदै गरेको पोखरा फुटबल स्टेडियम सहितका खेल पूर्वाधार निर्माणको शनिबार अवलोकन गर्दै मन्त्री खतिवडाले सागको लागि कुनै पनि खेल संरचना निर्माणमा मन्त्रालयले बजेटको विनियोजन गर्ने बताएका हुन्। पोखरा रंगशालामा पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री खतिवडाले अर्थ मन्त्रालयले आवश्यकता अनुसार साग लक्षित खेल पूर्वाधार निर्माणको लागि रकम निकाशा  गर्दै जाने जनाए ।

उनले भने “ साग हाम्रो देशको इज्जत र प्रतिष्ठासंग जोडिएको बिषय हो, हामीसंग अझै ७० भन्दा बढी दिन बाँकी छ, यस भित्र हामीले आवश्यक साग लक्षित खेल पूर्वाधार निर्माण गर्नु पर्छ त्यसको लागि सरकार तयारी अवस्थामा छ, यसको लागि आवश्यक बजेट हामीले विनियोजन समेत गरेका छौं। ” अर्थ मन्त्रालयले साग लक्षित खेलकुदका भौतिक संरचना निर्माण गर्दा कुनै अरोध नपुर्याउने मन्त्री खतिवडाले जनाए ।

मन्त्री खतिवडालाई पोखरा रंगशालामा निर्माण हुँदै गरेको अन्तराष्ट्रिय स्तरको फुटवल स्टेडियमको बारेमा जानकारी गराउदै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले पोखरामा निर्धारित समय सिमा कार्तिक १५ भित्र पोखरा फुटवल स्टेडियम निर्माण हुने गरी हाल निर्माण कार्य युद्ध स्तरमा भएको जनाए ।

अर्थ मन्त्री खतिवडाको साथमा पोखरा रंगशालामा पुगेका पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भौतिक संरचना निर्माण हुदा गुणस्तरलाई बिषेश ख्याल गर्नुपर्नेमा सुझाव दिए । अर्थ मन्त्री खतिवडा सहितको टोलीले क्रिकेट मैदान, आर्चरी, टेनिस, पोखरा बहुउद्धेश्य कवर्ड हल लगायतको समेत अवलोकन गरेको थियो ।

मन्त्री खतिवडाले पोखरामा हाल सागको लागि प्रशिक्षणमा रहेको नेपाली ह्याण्डबल टोलीसंग भेटघाट समेत गरेका थिए । पोखरा फुटबल स्टेडियमको हालसम्म करिब ४० प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भएको निमार्ण कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बरालले बताए ।

केही दिन पानी परेका कारण भारतको कोलकक्ताबाट कृतिम दुवो आउन केही दिन ढिलाई भएको उनले जनाए । अबको केही दिनमा पोखरामा दुवो रोपिने उनले जनाए । कार्तिक दोस्रो हप्ता भित्रै पोखरा फुटवल स्टुडिएम करिब ८/१० हजार दर्शक सिट क्षमताको फुटबल स्टुडिएम निर्माण गर्ने उनले बताए । उनले भने “सकेसम्म हामीले निर्धारित समय सिमा भित्र १८ हजार सिट क्षमताकै फुटवल स्टुडिएम निर्माण गर्ने छौं , अन्यथा हामीले करिब १० हजार दर्शक सिट क्षमताको फुटवल स्टुडिएम निर्माण गर्ने छौं । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button