जापानका सम्राटको सिंहासनको उपलक्ष्यमा साढे ५ लाख कैदीलाई कैदमाफी

पोखरा न्यूज –१ , कार्तिक । जापानका नयाँ सम्राट नारुहितोको सिंहासनको उपलक्ष्यमा साढे ५ लाख कैदीले कैदमाफी पाउने भएका छन् । आउँदो शुक्रबार हुने सिंहासनको उपलक्ष्यमा ती कैदीहरुलाई सुधार र पुनर्वासको मौकासहित कैदछुट दिइने भएको हो ।

सिंहासन कै उपलक्ष्यमा हुने भनिएको सम्राट नारुहितो र साम्राज्ञी मासाकोको टोकियो मोटरकेड परेड भने ५ दिन अघि आएको ह्यागाबिस आँधीले पारेको ठूलो क्षतिको कारण पछि सारिएको छ । उक्त आँधीबाट हालसम्म ७८ को मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन् ।

पुर्व सम्राट अकिहितोले राज्यगद्दी त्याग गरेपछि नारुहितो जापानका १ सय २६ औं सम्राट घोषित भएका हुन् । नारुहितोले मङ्गलबार १७४ देशका प्रतिनिधिले भाग लिने समारोहमा गद्दारोहण गर्नेछन् भने टोकियोको इम्पेरियल प्यालेस देखि आकासाका प्यालेससम्मको पुर्वनिर्धारित परेड भने अक्टोबर १० तारिखका लागि सारिएको छ।

कैदमाफी पाउने साढे पाँच लाख कैदीहरु साना अपराधमा कैदसजाय भुक्तान गर्दै आएकाहरु हुनेछन् । साना अपराधहरु जस्तै ट्राफिक उल्लंघन, चोरी र चुनावी जालसाजी गरेर कम्तिमा तीन वर्ष कैद भुक्तान गरिसकेका कैदीहरु नै आममाफीको लागि योग्य हुनेछन् । साथै खराब स्वास्थ र कमजोर आर्थिक अवस्थाका अपराधीले पनि कैदमाफी पाउने सम्भावना रहेको बताइएको छ ।

जापानमा साना कसुरमा दोषी ठहर्‍याइएका वा जरिवानामा परेकाहरुलाई पनि राष्ट्रिय लाइसेन्स लिन वा कुनै जाँचमा बस्न कम्तिमा पाँच वर्ष कुर्न पर्ने नियम छ । आममाफीले यस्ता प्रतिबन्ध हटाउने विश्वास गरिएपनि क्रिमिनल रेकर्ड भने नहट्ने जनाइएको छ ।

जापानमा यसअघि पनि ठुला समारोहहरुको उपलक्ष्यमा आममाफीहरु दिइदै आइएको छ । सरकारको प्रतिपक्षीहरुले भने उक्त कदम राजनीतिक उद्देश्य बोकेको र सरकारले माहौलको आडमा स्वार्थपुर्ण निर्णय गरेको आरोप लगाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button