‘एक चिहान’ नाटक पोखरामा पुनः मञ्चन हुँदै

आर.आर. पौडेल, पोखरा न्यूज – ०६, कार्तिक । नाटक ‘एक चिहान’ पुनः मञ्चन हुने भएको छ । पोखरा थिएटरको आठौँ प्रस्तुतीको यो नाटक कार्तिक २४ गतेबाट पुनः मञ्चन हुन लागेको हो । पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने यो नाटक विद्यार्थी भाइबहिनीको लागि मञ्चन गर्न लागिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए ।

एक चिहान’ साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेखेको उपन्यास हो । प्रधानको उपन्यास एक चिहान पाठ्यक्रम विकास केन्द्रद्धारा कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समावेश गरिएको छ । यो उपन्यासका माध्यमबाट प्रधानले लेखनकालिन नेपाली समाजका नारीहरुले भोग्नु परेका यातना, किसानहरु माथीको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिहरुबाट मुक्तिको मार्ग निर्देश गरेका छन् । जसको अनुभुती नाटक हेर्दा पाइन्छ । उपन्यास एक चिहानलाई नाट्य रुपान्तरण तथा निर्देशन परिवर्तनले गरेका छन् ।

नाटकमा जनक पराजुली, प्रमिला तुलाचन, नवराज गिरी, सन्तोष पुन, सुविना श्रेष्ठ, सोनिया खत्री, सुदिप बाँस्तोला, अञ्जु दाहाल, सन्दिप ठाकुर, विष्णु तिमिल्सिना, सुमन तिमिल्सिना, इश्वरी राना, आशिका केसी, नितिषा बस्ताकोटीको अभिनय हेर्न पाइन्छ । उनीहरु अष्टनारान, लतमाया, शिवनारान, हाकुमाया, पुननारान, नानीथकु, रत्नमान, रामखेलावन रावत, गोदत्तप्रसाद, गुठियार, भरिया, रामबहादुर, रोपारे, सहेली, रञ्जनादेवी र तामाङ बुहारी पात्र मार्फत नाटकमा देखिएका छन् ।

नेपाली गरीब किसान र मजदुरको जीवनमा आधारित नाटक एक चिहान सामाजिक यथार्थबादी नाटक हो । वि.स २०११ सालतिरको निम्न वर्गीय जीवनको यथार्थलाइ नाटक एक चिहानमा प्रस्तुत गरिएको छ ।

गरिबी, वाध्यता र विवस्ताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत भएको नाटकमा विशेष गरि नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ । नेवारी पोशाक, नेवारी लवजले नाटकलाई परिपक्क बनाइदिएको छ । अभिनयमा निखारता थप्न कलाकारहरुले कडा मेहनत समेत गरेका छन् ।

प्रजातन्त्र प्राप्ति पछि विस्तारै मौलाउदै गएको प्रगतिशिल सोचको परिवेश, सास्कृतिक सम्मिश्रण, समावेशी र समानताको लागि आवश्यक परेको तथ्य, रुढिबादी र अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकुल घटनाक्रम र स्वभाविक पात्रको परिवेशबाट व्यक्त गरिएको छ । पाठ्यक्रममा समावेश नाटक भएको कारण विद्यार्थीको रुचि यो नाटकमा बढी देखिएको पोखरा थिएटरका सञ्चालक दिल प्रसाद गुरुङले बताए । यस अघि यो नाटक गत साउन ३१ गतेबाट नियमित मञ्चन भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button