आजको राशिफल : मंसिर ०८ गते आइतबार

पोखरा न्यूज – ०८. मंसिर । आज वि.सं. २०७६ मार्गशीर्ष ०८ गते आइतबार तदनुसार ई. सं. २०१९ नोभेम्बर २४ तारिख,
मार्गशीर्ष कृष्ण त्रयोदशी, चित्रा नक्षत्र, तुला राशिको चन्द्रमा, आयुष्मान् योग, गर र वणिज करण, आजको चाडपर्व र उत्सव : मृत पूर्वजहरूको सम्झनामा शिवालयमा महादीप बाली जाग्राम बस्ने दिन, पशुपतिनाथ, रामेछापको त्रिवेणी, खोटाङको हलेसी महादेव, झापाको सतासीधाम र अर्जुनधारालगायत देशभरिका शिवालयहरूमा बाला चतुर्दशी मेला, रवि प्रदोष व्रत,

आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी, कलशचक्र,
भोलिको चाडपर्व र उत्सव : बाला चतुर्दशी, सद्बिज छर्ने दिन, नेवारी पर्व बाला चह्रेपूजा,
भोलिको मूहुर्त : अग्निवास(होमादि), दैलो राख्ने, कलशचक्र,

आजका लागि अशुभ समय :–
राहु काल : साँझ ०३:४८ देखि ०५:०८ सम्म
यमघण्ट : दिउँसो ११:५० देखि ०१:०९ सम्म
गुलिक काल : दिउँसो ०२:२९ देखि ०३:४८ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो ०१:०९ देखि ०२:२९ सम्म
अमृत वारवेला : दिउँसो १०:३० देखि ११:५० सम्म
लाभ वारवेला : बिहान ०९:११ देखि १०:३० सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

प्रस्तुति – सहप्रा. कृष्णप्रसाद कोइराला

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । घरायसी सुखका वस्तुको किनमेल हुनसक्छ । प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुनसक्छ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । भावुकता बढ्ने समय हो, प्रेमी/प्रेमिकाको सामीप्यता बढ्ने छ । आफन्तका बीचमा आत्मीयता बढ्ने छ ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : माता लक्ष्मी
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कुलदेव्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने
के नगर्ने : कामुकता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । देख्दा झिनामसिना र सानातिना काम भए पनि आजको कामले दीर्घकालिक उपलब्धी हासिल हुनेछ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । तर्क, बहस र वादविवादमा जीत हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । उद्योगधन्दा, कलकारखाना र बन्दव्यापारमा खटेजति सफलता हासिल हुनेछ ।
शुभरङ्ग : सेतो वा घुर्मैलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : श्री गणेश
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने
के नगर्ने : मुद्दामामिला र झैझगडा

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो, आज । नयाँ कुरा सिक्न पाइने छ । अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । बन्दव्यापार र पेसागत जीवनमा सामान्य छ । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । विचारको कदर हुनेछ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ । तिनीहरूले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइ र बन्धुबान्धवले आवश्यक मद्दत गर्नेछन् । खानपान र मनोरञ्जनका लागि राम्रै दिन छ ।
शुभरङ्ग : आकासे
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : माता सरस्वती
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः
न्यूनतम जापसङ्ख्या : २१
के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने
के नगर्ने : अहङ्कार

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा किसिमकिसिमका भावना पलाउने छन् । मनलाई पापमतिमा जान दिनु हुँदैन । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । घरायसी खर्चमा बृद्धि हुनेछ । शरीरमा अल्छीपना र आलस्य जाग्नेछ । धन निवेश गर्नु ठिक छैन । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । परिवारजनमा असमझदारी बढ्नेछ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुनेछ । कृषि–चौपाया र बन्दव्यापारबाट पनि भनेजस्तो लाभ हुँदैन । गोपनीयता भङ्ग हुनाले हुन लागेको काम बिग्रने छ ।
शुभरङ्ग : कलेजी
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : भगवती दुर्गा
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ गौर्यादि षोडशमातृभ्यो नमः
न्यूनतम जापसङ्ख्या : १६
के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने
के नगर्ने : लोभ र मोह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समाजमा साख बनाउने उपयुक्त समय छ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित भइनेछ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ ।
शुभरङ्ग : हरियो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : श्री गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय नमः
न्यूनतम जापसङ्ख्या : २१
के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने
के नगर्ने : दुःखीको अपमान

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आर्थिक दृष्टिले राम्रो दिन छ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको कदर हुने दिन हो । तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । दिदीबहिनीको सहयोग पाइने छ । आर्थिक क्षेत्र सबल रहने छ भने स्वास्थ्यमा पनि सकारात्मक सङ्केत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुनसक्छ । भौतिक साधनको जोहो गर्ने र मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । बोलीका भरमा काम फत्ते गर्न सकिन्छ ।
शुभरङ्ग : सेतो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : माता लक्ष्मी
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने
के नगर्ने : फजुल खर्च

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ । आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । पेसा र व्यवसायका विविध क्षेत्रमा सफलता पाइने छ ।
शुभरङ्ग : गुलाबी
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : श्री गणेश
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः
न्यूनतम जापसङ्ख्या : २१
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बाह्रौं घरमा चन्द्रमा भए पनि शरीरमा स्फूर्ति, उत्साह र उमङ्ग देखिनेछ । सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ र रामरमाइलो तथा मनोरञ्जनात्मक क्षेत्रमा धनलगानी हुनसक्छ । छरछिमेकी वा साथीभाइले कुनै महत्वपूर्ण काममा सहयोग गर्नेछन् । तपाईको दार्शनिकता र विचारलाई सबैले सराहना गर्नेछन् । खर्च बृद्धि हुने समय छ, तर समुचित स्थानमा धनव्यय हुनेछ । परोपकारमा चित्त जानसक्छ वा अस्वस्थ रहेका वा अप्ठ्यारामा परेका आफन्तको सहयोग गर्दा धन खर्च हुनेछ । मातापिता र अभिभावक वर्गको इच्छाबमोजिम धार्मिक वा सांस्कृतिक क्षेत्रको भ्रमण हुनसक्छ ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : खर्र्चमा नियन्त्रण
के नगर्ने : विलम्ब र ढिलासुस्ती

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । बौद्धिक र प्राज्ञिक उन्नयनको प्रयास सफल हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । समय उत्साहवद्र्धक रहला ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : महालक्ष्मी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ श्रियै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी
के नगर्ने : अनुशासन भङ्ग

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक सम्बन्ध सुदृढ हुनेछ । कर्मक्षेत्रमा व्यस्त रहनु पर्ने दिन छ । पठनपाठनमा समय दिन सकिंदैन । प्रतिस्पर्धामा विजयी भइने छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न सकिंदैन । पेसा/व्यवसायमा भनेजस्तै लाभ मिल्नेछ । आर्थिकपक्ष कमजोर छैन, कर्मसिद्धिको समय छ, जेगरे पनि फाइदा नै छ । मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय दिनुपर्ने छ । मान्यजनको सद्भाव मिल्नाले आत्मबल तथा प्रतिष्ठाबृद्धिमा सहयोग पुग्नेछ । दिन बितेको पत्तो पाइने छैन, साँझ श्रममूलक काम गर्नेहरूले अलि बढी थाकेको अनुभूति गर्नेछन्, पौष्टिक आहारामा ध्यान दिनु राम्रो हो ।
शुभरङ्ग : कालो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : भगवान् भोलेशङ्कर
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ कर्मेश्वराय नमः
न्यूनतम जापसङ्ख्या : २१
के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास
के नगर्ने : अल्छीपन र अकर्मण्यता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मान्यजनको आशीर्वाद पाउनु हुनेछ । हाँकेताकेका र चिताएका काममा सफलता मिल्नेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल छ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । बन्दव्यापारबाट फाइदा हुनेछ ।
शुभरङ्ग : गाढा पहेंलो वा केशरी
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : भगवान् विष्णु
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम
के नगर्ने : अपमान

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउनाले दैनिक कामकाजमा असर पर्नसक्छ वा गर्नैपर्ने कुनै काम रोकिन सक्छ । आज धननिवेश गर्नु र साक्षी/जमानी बस्नु हुँदैन । अनाहकमा अरुले गरेका गल्तीको सजाय पनि आफैले भोग्नु पर्ने हुन्छ । यात्राबाट फाइदा छैन, त्यसैले धेरै टाढा जानु हुँदैन, चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । बोलीमा अङ्कुश लगाएको नै राम्रो हो, नत्र साथीभाइ टाढिन सक्छन् अनि बेकारको विवादमा फँस्न सकिन्छ । सोच नै उल्टो हुने भएकाले आज कुनै पनि नयाँ काम नथाल्नु होला ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : भगवान् भोलेशङ्कर
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः
न्यूनतम जापसङ्ख्या : २१
के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण
के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button