तनहुँ समाज युकेद्वारा ६ बर्षदेखिका घाइते २८ वर्षीय युवकलाई ५ लाख सहयोग

पोखरा न्यूज – ०४, पुष । करेन्ट लागेर घाइते भएका तनहुँको भिमाद नगरपालिका–३ बगुवाका २८ वर्षीय शिव थापामगरको उपचारका लागि तनहुँ समाज युकेले रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । कष्टकरपूर्ण जीवन बिताइरहेका थापालाई समाजले रु पाँच लाख ४५ हजार ३ सय  आर्थिक सहयोग गरेको हो ।

युकेमा रहेमा नेपालीहरुबाट सङ्कलन गरिएको उक्त रकम समाजका उपाध्यक्ष केशरबहादुर राना र भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले घाइते थापा र उनका श्रीमती सङ्गीता थापालाई हस्तान्तरण गरेका छन ।

विसं २०७० मा घर नजिकै बाँसपानीमा बिजुलीको लाइन मर्मतको क्रममा करेन्ट लागेर थापा घाइते भएका थिए  । घाइते थापाको कष्टकरपूर्ण जीवनको बारेमा जानकारी पाएपछि युकेमा आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरिएको समाजका उपाध्यक्ष रानाले जानकारी दिए। “कामको सिलसिलामा परदेशमा रहे पनि गाउँघरमा अप्ठ्यारो परेकालाई समाजले सहयोग गर्दै आइरहेको छ”, रानाले भने ।

भिमाद नगरपालिकाका उपप्रमुख खनालले थापाको लागि नगरपालिकाको तर्फबाट पनि सहयोग गरिने प्रतिबद्धता जनाए  । “स्थानीय सरकार जनताको घरदैलोको सरकार हो, आपत्विपत्मा परेकालाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध छ”, उनले भने ।

करेन्ट लागेर थापाको अनुहार डढेको छ । शरीरको विभिन्न भागको मासु निकालेर उनको डढेको अनुहारमा मासु राखिएको छ । श्वास फेर्न कठिनाइ भएपछि नाकमा पाइप राखिएको छ भने देब्रे आँखा मासुले ढाकिएको र दाहिने आँखाको ज्योति गुमेको छ । आँखाको ज्योति फर्काउन चिकित्सकले रु ३० लाखभन्दा बढी खर्च लाग्ने बताएको शिवले बताए  ।

उनको उपचारका लागि नेपालमा पनि आर्थिक सङ्कलन शुरु गरिएको अभियान्ता शालिकराम सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म रु पाँच लाख सङ्कलन भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button