तनहुँको प्रसिद्ध तीर्थस्थल देवघाटधाममा भक्तजनलाई स्वागत

पोखरा न्यूज- १६, पुष । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजनलाई नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज स्वागत गरिएको छ ।

देवघाट क्षेत्र विकास समितिले देवघाटधाम भ्रमणका लागि देशका विभिन्न ठाउँबाट आएका भक्तजनलाई स्वागत गरेको हो । क्ष समितिका अध्यक्ष शिवराज पौडेलले करीब ६०/७० भक्तजनलाई स्वागत गरिएको जानकारी दिए । भ्रमण वर्षका अवसरमा सरकारले पर्यटकलाई स्वागत गर्न निर्देशन गरेबमोजिम देवघाट गाउँपालिका, विभिन्न टोल समूहलगायतको उपस्थितिमा भक्तजनलाई स्वागत गरिएको पौडेलले जानकारी दिए ।

धार्मिक, सांस्कृतिक पर्यटनको केन्द्र बन्दै गइरहेको देवघाटमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि भक्तजन आउने गरेका छन् । देवघाटमा माघे सङ्क्रान्तिका अवसरमा ठूलो मेला लाग्छ । मुक्तिनाथको शिरबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशुलीको सङ्गम देवघाटलाई विश्वका हिन्दूको आस्थाको केन्द्रका रुपमा विकास गर्ने गरी भ्रमण वर्षका अवसरमा पर्यटक लक्षित विभिन्न कार्यक्रम गरिने समितिका अध्यक्ष पौडेलले बताए ।

नेपाल आउने पर्यटकमध्ये ४० प्रतिशतलाई देवघाटमा भित्र्याउन सके यस क्षेत्रको विशिष्ट महत्वका बारे संसारभर प्रचारप्रसार हुने पौडेलले बताए । पर्यटकको स्वागतका लागि देवघाटमा विभिन्न जनजातिका सांस्कृतिक कार्यक्रम, गुरुकुल, विद्यापीठ तथा आश्रमका तर्फबाट साहित्यिक कार्यक्रम, त्रिशूली र कालीगण्डकी नदीमा जलविहारलगायत कार्यक्रम सञ्चालन गरिनेसमितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए ।

देवघाटमा महाशिवरात्रि, माघे सङ्क्रान्ति जस्ता ठूला पर्वमा पाँच लाखभन्दा बढी आन्तरिक पर्यटक र भक्तजनको आगमन हुन्छ । अब बाह्य पर्यटकलाई देवघाटमा भित्र्याउने तयारी गरिएको उनले बताए। त्यसका लागि समितिका पदाधिकारीले गत महिना भारतका विभिन्न भागको भ्रमण गरी देवघाट आउन निमन्त्रणा गरिसकेका छन् ।

देवघाटस्थित हरिहर सन्न्यास आश्रमका पीठाधीश एवं नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष ज्ञानानन्द सरस्वतीले देवघाटको महिमा ठूलो छ भन्दै यहाँ करीब ५ सय ५० वर्ष पहिले चक्रवर्ती राजा मणिमुकुन्देश्वरले ध्यान गरेको बताए । देवघाटमा रहेका विभिन्न मठमन्दिर र गुफाले यहाँ देवताको बास रहेको पुष्टि हुन्छ भन्दै उनले कालीगण्डकीको तीरमा पाइने शालिग्राम विश्वमा अन्यत्र कहीँ नपाईने बताए ।

देवघाटको चक्रवर्ती मन्दिरमा रहेको ॐ लेखिएको चक्रेश्वर शिला विश्वमै एक मात्र रहेको जिकिर गर्दै उनले त्यसको उचित प्रसारप्रसार हुन सकेमा देवघाटको अन्तरराष्ट्रिय ख्याति बढ्ने बताए । देवघाटको महिमाको चर्चा गर्दा करीब पाँच सय वर्षअघि त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा एक माझीले चक्रैचक्र भएको एक कुर्म (कछुवा) शालिग्राम शिला फेरा पारे, जुन देवता र दानवद्वारा अमृत प्राप्तिका लागि समुद्रमन्थन गर्दा आधारका रुपमा विष्णुबाट कछुवा रुप धारण गरिएको थियो, त्यही कछुवा आकारको शालिग्राम नै यही शिला भएको र उक्त शिलालाई विष्णुको प्रतीक मानिने विश्वास रहिआएको छ । विष्णुका प्रतीक शङ्ख, चक्र, वनमाला आदि सबै रहेको उक्त शिला गलेश्वर बाबाले मन्दिर बनाई स्थापना गरेका थिए।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले देवघाटलाई हिन्दूको पवित्रभूमि र आस्थाको प्रतीकका रुपमा विकास गर्न सङ्घीय सरकारसँग हातेमालो गरी काम गरिने बताए । मुग्लिङ–नारायणगढ खण्डको दासढुङ्गाबाट ६ किमी सडक हुँदै सवारी साधनमा र चितवनको नारायणगढ नजीकैको आँपटारीबाट तीन किमी यात्रामा सवारी साधन हुँदै त्रिशूलीको झोलुङ्गे पुल तरेर सजिलैसँग देवघाट पुग्न सकिन्छ । वेणी, चक्रवर्ती मन्दिर, सीता गुफा, वशिष्ठ गुफा, धार्मिक उद्यान, बागीश्वरी क्षेत्र, अघोरी आश्रम, हरिहर मन्दिर, सिद्धेश्वर मन्दिर, बौद्धगुम्बा, राम मन्दिर, गणेशस्थान यहाँका प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हुन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button