पोखरामा दुई महिना भित्रै हिमाल हेर्दै बन्जी जम्प गर्न पाइने

दीननाथ बराल , पोखरा न्यूज – २१, पुष । सहासिक खेलकुदको केन्द्र पोखरामा अर्को साहसिक खेल बन्जी जम्प थपिदैछ । साहसिक खेल प्याराग्लाइडिङ, जिप फ्लायर, र्याफ्टीङ, काइकिङ, क्यानोनिङ, रक क्लाइमिङ, बन्जी जम्प लगायतका खेलले परिचित पोखरामा थप अर्को बन्जी जम्प थपिने भएको हो ।

बञ्जी नेपाल एडभेन्चर प्रालिले आगामी दुई महिना भित्र पोखरामा सहासिक खेल बन्जी जम्प संचालनमा ल्याउने तयारी गरेको हो ।पोखरामा आउने अधिकांश साहसिक पर्यटकहरु भएकोले उनीहरुलाई थप आकर्षण गर्न आफुहरुले फरक ढंगबाट पोखरा १७ स्थित रातोपहिरामा बन्जी जम्प संचालनमा ल्याउने अन्तिम तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले बताए ।

हाइग्राउन्ड एड्भेन्चर नेपाल प्रालिले पोखरा २५ हेमजामा विगत ६ बर्ष देखि बन्जी जम्प संचालनमा ल्याएको छ । बञ्जी नेपाल एडभेन्चर प्रालिले करिब एक वर्ष अघि देखि निर्माण गर्न थालेको बन्जी जम्प आगामी फागुनको दोश्रोे साता देखि संचालनमा ल्याउने तयारी गरेको हो ।

पोखरा अन्तराष्ट्रिय म्युजियम भन्दा करिब २ सय ५० मिटर तल सेतीनदी किनारमा अत्याधुनिक प्रविधिमा बन्जी जम्प निर्माण हुदै गरेको प्रबन्ध निर्देशक भट्टराईले बताए । उनका अनुसार हालसम्म बन्जी जम्पको ८० प्रतिशत जति निर्माण कार्य सम्पन्न भएको छ । उनले भने “ हामीले यस बन्जी जम्प गर्दा आन्तरिक तथा बाह्यि दुबै पर्यटकलाई हामीले एउटै व्यहार गछौं, हाम्रो मुल्यमा पनि एकैरुपता हुन्छ, सुरक्षामा पनि हामीले कुनै कसर बाँकी राखेका छैनौं, आइएसओ मान्यता प्राप्त इकुमेन्ट मात्र हामीले प्रयोग गरेका छौं । ”

तस्बिर : सुदर्शन रञ्‍जित

मौसम खुलेको समयमा भने माछापुच्छ्रे सहितको हिमश्रृखला हेर्दै सेती गण्डकीमा हाम फाल्न मिल्ने गरी बन्जी जम्प निर्माण गर्न लागिएको प्रबन्ध निर्देशक भट्टराईले बताए । करिब एक दशक देखि विश्वका केही मुलुकमा बञ्जी सम्बन्धि कामको अनुभव सम्हालेका भट्टराईले बन्जीमा प्रयोग गर्ने डोरी आफै उत्पादन गर्ने गरेका छन् । भट्टराई सहित ८ जना युवा तथा व्यवसायीको लगानीमा पोखरामा साहसिक पर्यटकीय गन्तव्य थपिएको हो ।

पोखराका भट्टराईसहित राजु कुँवर, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपाल बहादुर बराल क्षेत्री, शान्ती लम्साल भट्टराई र बुद्धीनाथ बरालको संयुक्त लगानी रहेको छ । उक्त बन्जी जम्पमा करिब ८ करोडको लगानी भएको कम्पनीले जनाएको छ । बन्जी जम्पको परीक्षण भने माघको अन्तिम साता हुने भएको छ ।

बञ्जी बाट ८५ मिटर सम्म जम्प गर्न सकिने गरी १ सय २५ मिटरसम्मको बन्जीको उचाई रहेको भट्टराईले जनाए । आगन्तुक पाहुनालाई थप आकर्षण गर्न बन्जी जम्पसँगै रेष्टुरेण्ट र टावर क्लाइम समेत निर्माण हुने भएको प्रबन्ध निर्देशक भट्टराईले बताए । पोखरा १७ को सबै भन्दा अग्लो टावरको रुपमा उक्त टावर क्लाइम रहने उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button