नेपालको सीमा सुरक्षाका लागि बोर्डर आउट पोष्ट दोब्बर पार्ने तयारी: गृहमन्त्री थापा

दीननाथ बराल, पोखरा न्यूज । नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा (बादल) ले नेपालको सीमा सुरक्षामा समस्या उत्पन्न भएकोले गर्दा बोर्डर आउट पोष्ट (बिओपी) वृद्धि गरि  दोब्बर पार्न  लागिएको बताए ।

गण्डकी प्रदेश स्तरीय सुरक्षा बैठकको पोखरामा  शनिबार उद्घाटन गर्दै गृहमन्त्री थापाले नेपालको सीमा अतिक्रमण हुन थालेकोले  सीमा सुरक्षाको लागि हाल भएकै सङख्यामा बोर्डर आउट पोष्ट थप गर्न लागिएको बताएका हुन्।

पहिला ८७ वटा मात्र रहेको बोर्डर आउट पोष्ट सरकारले केही थप गरी १ सय १४ पुर्याएको उल्लेख गर्दै गृहमन्त्री थापाले यस वर्ष २ सय भन्दा बढी बोर्डर आउट पोष्ट स्थापना गर्ने भएको बताए । उत्तरी नाकामा समेत बोर्डर आउट पोष्ट विस्तार गर्ने योजना रहेको उनले जनाए । भारतसँग सीमा सम्बन्धित केही समस्या रहेको बताउदै गहृमन्त्री थापाले नेपाल सरकारले कुटनीतिक ढंगबाट समस्या समाधान गर्ने भएको जनाए ।

नेपालको तर्फबाट पनि अब छिट्टै आफ्नो नक्सा सार्वजनिक गर्ने तयारीमा रहेको उनले उल्लेख गरे । गृहमन्त्री थापाले भने “ भारतले हाल काश्मीरमा ३ सय ७० को धारा खारेज गरेपछि नयाँ नक्सा जारी गरी नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा देखिको  भूभागलाई आफ्नो मानचित्रमा देखाएको छ । ”

सरकार गठन भएको दुई वर्ष पुरा भएकोेमा सरकारले दुई वर्षको समीक्षा समेत गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले देशको शान्ति सुरक्षाको अवस्था हाल सामान्य भएको दाबी गरे । सुशासनको अवस्था पनि हिजोको तुलनामा राम्रो हुदै गएको सरकारले निष्कर्ष निकालेको उनको भनाई थियो । उनले भने “हाम्रो सरकारको मात्र होइन कि अन्तर्राष्ट्रिय संस्थाहरुको पनि निष्कर्ष हो, शान्ति सुरक्षा र शुसासनको पक्षमा हिजोको तुलनामा यसले प्रगति गरेको छ, राम्रो स्थिति नेपालमा भएको छ भन्ने अन्तराष्ट्रिय संघ संस्थाहरुको पनि यो निष्कर्ष रहेको छ ।”

सरकारले विकास र समृद्धिको पक्षबाट पनि समिक्षा गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले नेपालले आर्थिक वृद्धिदर ७.१ प्रतिशत हासिल गरेको निष्कर्ष निकालेको छ । ” यसमा पनि अन्तर्राष्ट्रिय संघ सस्थाको निष्कर्ष भएको उनले जनाए । उनले भने “ ७.१ प्रतिशत आर्थिक वृद्धिदर भनेको संसारमा सर्वाधिक आर्थिक वृद्धिदर हो, ५ प्रतिशत भन्दा माथि गएको आर्थिक वृद्धिदर राम्रो भएको मानिन्छ, विश्वमा ७.१ प्रतिशत भन्दा माथि आर्थिक वृद्धिदर हासिल गर्ने थोरै मुलुकहरु मात्र रहेका छन् । ”

चीनको आर्थिक वृद्धिदर हाल खस्केको उनले जनाए । यस चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउने लक्ष्य राखिएको गृहमन्त्री थापाले बताए । आगामी तीन बर्षमा दुई अंकको आर्थिक वृद्धिदर हासिल हुने गरी सरकारले काम गर्दै अघि बढेको उनले जनाए । अहिले हाम्रो आयात घटेको निर्यात भने बढेको समेत सरकारले निष्कर्ष निकालेको उनले जनाए ।

कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्षको अवसरमा २० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य पुरा गर्न केही कठिनाई हुन सक्ने गृहमन्त्री थापाले बताए । उनले भने “ २० लाख पर्यटक भित्राउन सके हाम्रो आर्थिक वृद्धिदर पनि स्वतः हामीले ८ प्रतिशत हासिल गर्न सक्छौं । ” समृद्धिको अवस्था सकरात्मक बाटोमा रहेको सरकारको निष्कर्ष रहेको उनले जनाए । गृहमन्त्री थापाले यो बर्ष नेपालमा ठुला ठुला परि घट्ना भएको उल्लेख गरे ।

उनले भने “यो वर्षलाई हामी विकासको प्रारम्भिक वर्षको रुपमा मानेर आवश्यक नीतिगत र कानुनी व्यवस्था गरेका छौं । ” पार्टी भित्र केही विवादहरु हुनु स्वभाविक भएको गृहमन्त्री थापाले जनाए । राष्ट्रिय सभामा एक सिट खाली भएकोले त्यसमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको उनले बताए । उनले भने “ वामदेवलाई राष्ट्रिय सभामा पठाउने सन्दर्भमा कानुनी प्रकृयामा मन्त्रीपरिषदले निर्णय गरी राष्ट्रपति समक्ष सिफारिस गर्ने प्रकृयामा रहेको छ । ”

कार्यक्रममा सुरक्षा निकायका तीन अंग नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान समेतको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Back to top button