म्याग्दीमा दूध प्रशोधन उद्योग सञ्चालनमा, कृषकमा खुशियाली

सन्तोष गौतम । म्याग्दीको बेनीमा दूध प्रशोधन उद्योग सञ्चालनमा आएको छ ।

धौलागिरि डेरी उद्योगले औपचारिक क्षेत्रमा उत्पादन हुने दूधलाई संकलन गरी दूध कम उत्पादन हुने स्थानमा पठाउनका लागि दूध प्रशोधन उद्योग सञ्चालनमा ल्याएको हो ।

दूध प्रशोधन उद्योग सञ्चालनमा आएपछि उपभोक्ताले अब स्वच्छ र गुणस्तरीय दूध उपभोग गर्न पाउनुका साथै खपत नभएको दूध बिक्री नहुने समस्याबाट यहाँका कृषकले मुक्ति पाएका छन् ।

गण्डकी प्रदेशको पशु विज्ञ तथा मत्स्य विकास निर्देशनालयको सहयोगमा दूध प्रशोधन उद्योग सञ्चालन गरेको सञ्चालक वीरेन्द्र उपाध्यायले बताए । रु २८ लाखको लगानीमा स्थापित उद्योगमा जडित उपकरण खरिदमा निर्देशनालयले चालीस प्रतिशत अनुदान उपलब्ध गराएको उनले जानकारी दिए । किसानले उत्पादन गरेको दूध प्रशोधन गरेर विभिन्न दूग्धजन्य पदार्थ उत्पादन गर्न सकिने सञ्चालक उपाध्यायले बताए ।

‘‘दूधमा मिसावट भएको छ वा छैन ? कुन तत्व कति प्रतिशतमा छ भन्ने सबै परीक्षण गर्न सकिन्छ,’’ उनले भने ‘‘गुणस्तरीय दूध बिक्रीका साथै दूग्धजन्य पदार्थ उत्पादन गर्न सकिन्छ ।’’

उद्योगमा एक घण्टा दूध चिस्याएपछि ७५ घण्टासम्म सुरक्षितरुपमा भण्डारण गर्न सकिन्छ । म्याग्दीमा यसअघि यस्तो सुबिधा थिएन् । उद्योगमा दूधको गुणस्तर परीक्षण गर्ने अत्याधुनिक एनालाइजर मेसीनसमेत जडान गरिएको छ । प्याकेजीङ गर्ने उपकरण पनि छ ।

पासराइजीङ, आइक्रिम, मिल्क क्यान, क्रिम सेपरेटर, पनिर बनाउने मेसिन पनि उद्योगमा राखिएको छ । किसानले ल्याएको दूध पाइपमार्फत उद्योगको क्यानमा खनाउन सकिन्छ । उद्योगको क्षमता ५०० लिटरको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा बेनीकै दोभान कृषि सहकारी संस्थाले मङ्गलाघाटमा पनि दूध सङ्कलन तथा प्रसोधन उद्योग सुरु गरेको अध्यक्ष अमृतादेवी बानियाले बताइन् ।

खपत नभएको दूधलाई प्रसोधन गरेर घीउ, पनिर, दही र छुर्पी बनाउने सञ्चालक उपाध्यायले बताए । दैनिक तीन हजार लिटर दूध खपत हुने बेनीमा जिल्लाका कृषकले दुई हजार लिटरको हाराहारीमा आपूर्ति गर्दै आएका छन् ।

पछिल्लो समय बेनी आसपासका क्षेत्रमा व्यवसायिक गाईभैँसीपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै दूधलाई बजारको समस्या थियो । प्रसोधन उद्योग सञ्चालन भएपछि बिक्री र खपत नभएको दूध बोकेर घर फर्कनुपर्ने समस्या हट्ने कृषक सुरेश ढुङ्गानाले बताए ।

पहाडी जिल्ला म्याग्दीमा व्यावसायिक गार्ईभैँसीपालनमा कृषकको आकर्षणसँगै दूध उत्पादन बढ्दै गएको छ । बेनी नगरपालीकाको अर्थुङ्गे, सिङ्गा, घतान, पात्लेखेत, मङ्गला गाउँपालिकाको बाबियाचौर, बरङ्जा, अर्मन, रघुगङ्गा गाउँपालिकाको पिप्ले र अन्नपूर्ण गाउँपालिकाको पाउद्धार, घारका कृषकले दूध उत्पादनका लागि उन्नत जातको गार्ईभैँसी पालेका छन् ।

विश्व स्वास्थ्य संघका अनुसार एक जना व्यक्तिले एक दिनमा २ सय ५० एमएल दूध उपभोग गर्नुपर्छ । नेपालको सन्दर्भमा हेर्दा एक जना व्यक्तिले प्रतिवर्ष कम्तिमा ९२ लिटर दूध उपभोग गर्नुपर्ने देखिन्छ । नेपालमा उत्पादन हुने दूधका आधारमा एक व्यक्तिले करिब ७२ लिटर वार्षिक दूध उपभोग गर्छन् । अहिले नेपालमा प्रतिव्यक्ति वार्षिक २० लिटर दुध अपुग भइरहेको बताइएको छ ।

नेपालमा गाईको वार्षिक न्यूनतम १४ प्रतिशत र भैँसीले २६ प्रतिशत दूध उत्पादन हुने गरेको छ । यसरी गाईको वार्षिक ६ सय २७ लिटर दूध र भैसीको ८ सय ९३ प्रतिशत दूध उत्पादन हुने गरेको राष्ट्रिय दूग्ध विकास बोर्डले जनाएको छ । -रासस

सम्बन्धित न्यूज

Back to top button