मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

पोखरा न्यूज। स्थानीय वायुको प्रभावले आज देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘प्रि–मनसुन’ शुरु भएकाले स्थानीय वायुको प्रभाव परेको मौसमविद् गङ्गा नगरकोटीले बताइन् । “अङ्ग्रेजी महिना मार्चदेखि शुरु हने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख प्रभावित भइरहन्छ”, मौसमविद् नगरकोटीले भनिन् । राति देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

भोलि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टालाई चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ७ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । -रासस

सम्बन्धित न्यूज

Back to top button