दर्शकको माया बटुल्दै ‘यो कस्तो महाभारत’

पोखरा न्यूज । पोखरामा मञ्चन भइरहेको नाटक ‘यो कस्तो महाभारत’ले दर्शकको माया पाउदै गएको छ । देशको समसामयिक विषयवस्तु नाटककमा पाउँदा दर्शकले रुचाएका हुन् ।

यो नाटकलाई दीपक पराजुलीले लेखेका हुन् । महाभारतका सम्बन्धमा यसका रचनाकार वेदव्यासको दावि छ, ‘जो महाभारतमा छ, त्यो संसारमा अवश्य छ । जो महाभारतमा छैन, त्यो संसारमा कहीँकतै छैन ।’ रङ्गमञ्चमा प्रयोगको निम्ति यही वचन प्रेरणा बनेको लेखक पराजुलीले बताए ।

 

हामी आफ्नो समयका घटना एवं दुर्घटनाहरुका भोक्ता हौँ । साक्षी हौँ । भनिन्छ, परिवर्तन बाहेक संसारमा सबथोक अनिश्चित छ । त्यही अनिश्चित थोकभित्रका निश्चित घटकहरुको बलमा यो कथाको विनिर्माण संभव भयो । त्यसैले घटना, पात्र र परिवेश वदलिन सक्छ तर कथा उही सत्ताको हो । शक्तिको हो अनि स्वार्थको हो । अनि यसैका लागि चलि रहन्छ आपसी टकराव, संघर्ष र लुछाचुँडी हो, महाभारत आज पनि जारी छ । भन्ने सन्देश नाटकमा छ ।

फागुन ९ गतेबाट मञ्चन शुरु भएको नाटक फागुन २४ गतेसम्म निरन्तर पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । यो नाटक हरेक साँझ ५ बजे नियमित मञ्चन तथा शनिबार दिउँसो १ बजे अतिरिक्त सो मार्फत मञ्चन भइरहेको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए ।

पोखरा थिएटरको ११ औँ प्रस्तुतीमा पंच सुब्बा गुरुङको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा निश्चल विमल, रोशन ज्ञवाली, रमेश बाबु तिमल्सीना, नवराज गिरी, विष्णु तिमल्सीना, राजेन्द्र अधिकारी,सरोज तिवारी, सुमन तिमिल्सिना, उज्वल राज ढकाल, गौरव पौडेल, एम.डि. काफ्ले, अन्जन रोका, प्रतिक घिमिरे र धनकाजी श्रेष्ठको अभिनय हेर्न पाइन्छ । एकघण्टा अवधिको यो नाटक मार्फत देशको वास्तविक अवस्थालाई देखाउने प्रयास गरिएको छ ।

सम्बन्धित न्यूज

Back to top button