सहारालाई पराजित गर्दै पुलिस आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश

पोखरा न्यूज । आयोजक सहारा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै  विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा पुलिसले सहारालाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित ९० मिनेटको खेल एक/एक गोलको बराबरीमा टुंगियो। त्यसपछी थप गरिएको ३० मिनेटको अतिरिक्त समय दुबै टोलीले गोल गर्न नसकेपछी खेल टाइब्रेकरमा धकेलियो ।

टाइब्रेकरमा सहाराका विदेशी खेलाडी उलरिच राम्जे र त्रिदेव गुरुङले पेनाल्टी सुटआउटमा गोल गर्न चुकेसंगै सहाराको यात्रा क्वाटरफाइनलमै टुंगियो । पुलिसको जितमा भरत शाह, सुजन राई, हेम तामाङ र सुमन सुवेदीले पेनाल्टी सुटआउनमा गोल गरे । पुलिसका अनुप लिम्बुको पेनाल्टी सुट सहाराका गोलरक्षक अर्पन कार्कीले उत्कृष्ट बचाउ गरे । सहाराका आसिस गुरुङ र अजय श्रेष्ठले पेनाल्टी सुटआउटमा गोल गरे ।

पुलिसका भरत शाहले खेलको ७५ औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम समयमा कप्तान मनबहादुर तामाङको पासमा  अजल श्रेष्ठले चमत्कारी रुपमा गोल गर्दै सहारालाई खेलमा फर्काए । श्रेष्ठ खेलको ९० औं मिनेटमा सुमित श्रेष्ठको स्थानमा मैदानमा छिरेका थिए ।  कप्तान भोला शिलवालले २ वटा पहेलो कार्ड पाएर मैदान बाहिरिए । खेल सकिन एक मिनेट बाँकी हुँदा पुलिस १० खेलाडीमा सिमित भयो । पुलिसका गोलरक्षक रोसन खड्का म्यान अफ दी म्याच घोषित भए ।

सहाराले पहिलो हापमा पुलिसलाई दबाबमा राख्न सफल भयो भने थपिएको ३० मिनेटमा पनि दबाबमा पार्यो । दोश्रो हापमा दबाबमा पारेको पुलिसले एक गोल गर्न सफल भयो । दुबै टिमले पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा खेलको निर्णय लिन टाइब्रेकरमा पुग्नु पर्यो ।

सहाराका प्रशिक्षक विष्णु गुरुङले आफु आफ्नो टिम प्रति निकै सन्तुष्टि भएको बताउदै पेनाल्टी सुटआउटमा प्राविधिक रुपमा नमिलेका कारण हार्नु परेको जनाए । पुलिसका प्रशिक्षक अनन्तराज थापा खेल सकिए पछि पत्रकारहरु संगको भेटघाट कार्यक्रममा कुनै प्रतिक्रिया  जनाएनन्।

भोलि आइतबार दोस्रो क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङदी क्लब विरुद्ध झापा-११ बिच खेल हुने सहारा क्लबका महासचिब रामजी प्रसाद अधिकारीले बताए । झापा-११ ले एपिएफलाई पराजित गर्दै क्वाटरमा यात्रा बनाउदा मनाङले सिधै बाइ पाएर क्वाटरमा स्थान बनाएको हो ।

 

सम्बन्धित न्यूज

Back to top button