कोरोना प्रभाव भन्दै चर्को मूल्य असुल्ने उपर अनुगमन गर्न मञ्चको आग्रह

पोखरा न्यूज ।  विश्वमा कोरोना भाइरसको संक्रमण बढी राखेका  बेला नेपालमा पनि यसको त्रासले गर्दा दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गर्न खोज्ने र बजारमा चर्को मुल्य असुल्ने प्रवृति देखिएकोले नियमित बजार अनुगमन गर्नु माग गरिएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षतामा पर्वतको कुस्मामा हालै बसेको तेश्रो बैठकले कोरोना भाइरसको निहुँमा केही व्यवसायी तथा व्यपारीहरुले बजार नियन्त्रण गर्न खोजेकोले आम उपभोक्तालाई सहज आपुर्तिको लागि बजार अनुगमन गर्न माग गरेको हो ।

साथै बैठकले सहज आपुर्ति र कृत्रिम मुल्यबृद्धि नगर्न तथा उपभोक्ताले पनि विवेक पूर्ण ढंगबाट आवश्यक भन्दा बढी बस्तु तथा सेवा सञ्चय नगर्न अनुरोध गर्दै कोरोना भाइरसको रोकथाम र यसको पूर्व सतर्कता अपनाउन आग्रह गरिएको महासचिव पुण्यप्रसाद पौडेलले बताए ।

जिम्मेवार आपुर्ति र दिगो उपभोक्ता भन्ने मुल नाराका साथ यस वर्षको उपभोक्ता दिवस मनाइने भएको उनले जनाए । विश्व उपभोक्ता दिवस मार्च १५ अर्थात आउदो चैत २ गते परेको छ ।

नेपालो संविधानले खाद्य, औषधीलगायतका वस्तुमा हरेक उपभोक्ताको अधिकारको रुपमा स्थापित गरेको छ । उक्त अधिकार प्राप्त गर्नु हरेक नागरिकको नैसर्गिक अधिकार भएको मञ्चले जनाएको छ ।

कोरोना भाइरसको निहुँमा कुनै व्यक्ति, संस्था, व्यापारी लगायतले कहिकतैबाट नागरिकको अधिकार माथि आघात पर्ने गरी दैनिक उपभोग्य बस्तु, औषधी, चाम, ग्याँस, नुन, तेल लगायतका अति आवश्यक वस्तु माथि कृत्रिम अभाव नगरी र चर्को मुल्य नअसुली अप्ठ्यारो परिस्थितिमा सवैले विवेक पूर्ण ढंगले वस्तु र सेवाको उपभोग गर्न मञ्चले सबैमा अनुरोध गरेको हो ।

सम्बन्धित न्यूज

Back to top button