साबिक विजेता थ्रि स्टारलाई पराजित गर्दै पुलिस आहा राराको फाइनलमा

पोखरा न्यूज । साबिक विजेता रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै विभागिय टोली नेपाल पुलिस क्लब १८ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा थ्रि स्टार विरुद्ध पुलिसले एकतर्फी तीन गोल बर्साउदै फाइनलमा यात्रा तय गरेको हो ।

पुलिसको जितमा म्यान अफ दी म्याच घोषित निर कुमार राईले दुई र कप्तान भरत शाहले एक गोलको योगदान दिए । खेलको शुरुवाती ८ औं मिनेटमा पुलिसका कप्तान शाहले रवि पास्वानको पासमा गोल गर्दै टिलीलाई अग्रता दिलाए । खेलको ५१ औं मिनेटमा निर कुमार राईले दायाँ साइडबाट फष्ट वार च्याप्दै प्रहार गरेको बल विपक्षि गोलरक्षक पूर्ण चेम्जोङको हातबाट फुत्केर गोल भयो । राईको गोलले जित सुनिश्चित भएसंगै राईले नै खेलको ७२ औं मिनेटमा पुनः एक गोल थपी गोल अन्तर फराकिलो पारे । राईले तेज तामाङको पासमा गोल गरेका हुन्।

आहा रारामा १२ औं पटक सहभागी भई गत वर्षसहित ५ पटक विजेता भएको थ्रि स्टारले पाएका केही अवसरलाई गोलमा परिणत गर्न नसक्दा पुलिससंग स्तब्ध हुनु पर्यो । खेलको शुरुवातमै गोल खाएर दबाबमा परेको थ्रि स्टारले पुलिसको जुनियर टिम विरुद्धको खेलमा दोस्रो हाफमा केही दबाबमा पार्न सफल भए पनि अन्ततः गोल गर्न चुकेसंगै यस पालीको आहा राराको फाइनलमा पुग्ने सपना अधुरै रह्यो ।

थ्रि स्टारका आसिस राईले खेलको २१ औं मिनेटमा गरेको प्रहार पुलिसका सन्तोष हेर्मुनले उत्कृष्ट बचाउ गरे । खेलको ५३ औं मिनेटमा संजोग राईले गरेको हेड बल विपक्षि गोलरक्षक रोशन खड्काले पन्च गरी उत्कृष्ट बचाउ गरे । खेलको अन्तिम मिनेटमा करिब पेनाल्टी एरिया नजिकै पाएको वल असोक खवासले चार्ज गर्दा गोल गर्न चुके ।

त्यसैगरी पुलिसले पाएको अवसर खेर जाँदा  बिशाल गोल अन्तर बनाउने मौका गुमायो । पुलिसका हेम तामाङ, बुद्ध वल तामाङका केही अवसर गुमेको थियो । थ्रि स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो हारको कारण भन्दा पुलिसको जुनियर खेलाडीहरुले एकै रफ्तारमा उत्कृष्ट खेल प्रर्दशन गरेको प्रशंसा गरे ।

आफुहरुसंग पनि जुनियर खेलाडी भए पनि पाएका केही अवसर सदुपयोग हुन नसक्दा हार्नु परेको उनले जनाए । पुलिसका प्रशिक्षक अनन्तराज थापाले थ्रि स्टारले विदेशी खेलाडी बिना खेलेको हुँदा आफ्नो टिमसंग पराजित हुनु परेको बताए । आफ्ना खेलाडीहरु जुनियर भए पनि आफ्नो सोचे अनुसार ९० मिनेट एकै गतिमा खेलेको कारण जित भएको उनले जनाए । लिगमा थ्रि स्टारले पुलिसलाई १-० ले जितेका थियो ।

यसैबिच बिहीबार दोस्रो सेमिफाइनल खेलमा मनाङ मस्र्याङदी विरुद्ध विभागीय टोली त्रिभुवन आर्मी क्लब विच खेल हुनेछ । विजेता टोलीले उपाधि सहित १० लाख नगद पुरस्कारको लागि नेपाल पुलिस क्लबसंग चैत एक गते फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ । मनाङले झापा ११ लाई र आर्मीले संकटा क्लबलाई पराजित गर्दै  सेमिफाइनलमा यात्रा बनाएका हुन्।

सम्बन्धित न्यूज

Back to top button