स्याङ्जामा घाँस खेतीबाट मनग्य आम्दानी

स्याङ्जा  । जाँगर र इच्छा शक्ति भए थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण गल्याङ नगरपालिका–८ झोल्पेका ८१ वर्षीय टेकबहादुर थापाले देखाएका छन् ।

घाँस खेतीबाट वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गर्नुहुने थापाको कामबाट छरछिमेक र गाउँले प्रभावित बनेका छन् । घाँस बाजे नामले चिनिएका थापा आफ्नै घर वरिपरि घाँसखेती गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । बिहान उठेदेखि साँझसम्म उनी घर वारिपरिको बरीमा आफूले लगाएको घाँस गोडमेल गर्नाका साथै कुनै नयाँ प्रजातिका घाँसका बिरुवा पाएमा ल्याएर आफ्नो बारीमा लगाउँदैमा बित्ने गर्छ ।

विसं २०५५ देखि घाँसको खेती गर्दै आउनुभएका थापाले घाँसका बिरुवा बेचेर राम्रो आम्दानी गर्ने गरेको बताए । उनले भने “अब त अल्ली अल्ली उमेर पनि गयो, एक वर्षमा रु तीन लाखभन्दा बढीको घाँसको बिरुवा बेच्ने गरेको छु । अरुले पनि यो काम गर्दा राम्रै हुन्छ । कामका लागि अरुको भर पर्नुभन्दा आफ्नै काम गर्न राम्रो हुन्छ ।”

सिद्धार्थ राजमार्गको छेउमै रहेको नौ रोपनी पाखो बारीमा थापाले सुपर नेपिय, मोलाटो पासपलम, नेपियर मोत, अम्लिसो, बदामे, रसियन कम्फे, भट्टमासे, गुहाटेमाला, सिग्नल, इपिलिपीलगायत २३ प्रजातिका बिरुवा लगाएका छन । गल्याङ नगरपालिका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले यत्तिकै खेर गएको पाखो बारी जमिनमा घाँसखेती गरेर मनग्य आम्दानी लिन सकिने बताए ।

बदामे घाँस, मोलाटो, रसियन कम्फेलगायतका घाँसमा २८ प्रतिशत प्रोटिन हुने भएकाले कुखुरा बङ्गुरलगायतलाई खुवाएर दानाको बचत गर्न सकिने उनले बताए। उनले भने, “घाँसलाई घाँसका रुपमा मात्रै नभएर अब हामीले यसलाई घाँसखेतीका रुपमा लिनुपर्छ । यसबाट कृषकलाई एउटा राम्रो आम्दानीको स्रोत बन्न सक्छ । व्यावसायिकरुपमा पशुपालन गर्न चाहाने किसानले पहिला घाँसखेती गर्नु अति आवश्यक छ ।”

थापाको घाँस खेतीमा असाध्यै लगाव छ । उहाँका दौंतरी धेरैले गाउँ छोडिसकेका छन् । उनले भने गाउँमै कसैले नपत्याएको घाँस खेती गरेर खाडी मुलुक जानेहरूको भन्दा राम्रो आम्दानी गरिरहेका छन् । सवैको सोचाइमा सामान्य लाग्ने घाँस खेतीले उनको दिनचर्या नै बदलिदिएको छ ।

गाईभैसीँका लागि आवश्यक पर्ने भिटामिनयुक्त घाँस खुवाउन सके दूध उत्पादनमा वृद्धि भई किसानले राम्रो आम्दानी लिन सक्ने अर्यालको भनाइ छ । टेकबहादुर थापाले पाखो बारीमा घाँस सँगसँगै कफी र सुन्तलासमेत लगाएका छन । सुन्तला र कफीबाट समेत वर्षमा रु तीनदेखि चार लाखसम्म आम्दानी हुने गरेको र आफू यसमै सन्तुष्ट रहेको उनले ब ताए।

घरमा भैँसी र बाख्रा समेत पालेका थापाले घाँसको टुप्पा भैँसी र बाख्रालाई खुवाउने गरेको र डाँठलगायत अन्य बिरुवा बिक्री गर्ने गरेको बताए । घाँसका बिरुवा लिनका लागि प्रदेश नं. ५ को गुल्मी, पाल्पा, अर्घाखाँची, नेपालगञ्ज र गण्डकी प्रदेशको तनहुँ, बागलुङबाट समेत यहाँ आउने गरेको उनको भनाइ छ ।

“घाँसखेती गर्दा पशुपालनमा मद्दतसँगै राम्रो आर्थिक आम्दानी हुने भएपछि विगत केही वर्षदेखि व्यावसायिक घाँस खेती गर्ने किसानको सङ्ख्या वृद्धि हुँदै गएको छ”, अधिकृत अर्यालले भने, “घाँस खेतीले घरमा गाईभैंसीपालनमा समेत सहयोग पुर्याउँछ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button