भारतमा एकै दिन साढे ३२ हजार कोरोना संक्रमित थपिए

भारत। भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३२ हजार ६ सय ९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ९५ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या ९ लाख ६८ हजार ८ सय ७६ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६ सय ६ जनाको मृत्यु भएपछि कोभिड १९ बाट मृत्यु हुनेका संख्या २४ हजार ९ सय १५ पुगेको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ३१ हजार १४६ रहेको छ भने ६ लाख १२ हजार ८ सय १५ जना संक्रमणमुक्त भइसकेका छन् ।

भारतमा महाराष्ट्र राज्य अत्यन्त प्रभावित भएको छ । संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय ४० पुगेको छ । तीमध्ये १० हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु राज्यमा १ लाख ५१ हजार ८ सय २० संक्रमित हुँदा २ हजार १ सय ६७ जनाको मृत्यु भएको छ ।

केन्द्रीय राजधानी समेत रहेको दिल्ली राज्यमा पनि १ लाख १६ हजार ९ सय ९३ जना संक्रमित भएका छन् भने ३ हजार ४ सय ८७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button