अझै ५ दिन भारी वर्षा हुने, सही सूचना दिन मन्त्री पुनको निर्देशन

काठमाडौं। न्यूनचापीय रेखा नेपाली आकाश माथि आएर बसेकाले देशभर अझै पाँच दिनसम्म भारी वर्षा हुनेभएको छ ।

उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार बैद्यले मुलुकको मौसमी अवस्थाबारे आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई जानकारी गराएका थिए ।

सो क्रममा महानिर्देशक बैद्यले यही साउन ९ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने जानकारी दिएका थिए। उनका अनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा १ सय मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ ।

यो मात्रा अझै बढेर २ सय मिलिलिटर पानीपर्ने सम्भावना छ । न्यूनचापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वी पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको बैद्यले बताए ।

महानिर्देशक बैद्यकाअनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १५०.६, तनहुँको श्याम्घामा १ सय ४८.८ तथा गोरखामा १ सय ४०.२ मिलिमिटर पानी परेको छ ।

यो परिमाणमा अझै वृद्धि हुने बैद्यले बताए । “यो पछिल्लो २४ घण्टाको विवरण हो”, बैद्यले भन्नुभयो, “यो अझै बढ्छ र धेरै स्थानमा २ सय  मिलिमिटरसम्म पानी पर्छ ।”

हरेक दिन मिडिया ब्रिफिङ

मौसम पूर्वानुमानबारे जानकारी लिएपछि मन्त्री पुनले पछिल्लो समय नेपालको मौसम पूर्वानुमान प्रणालीमा धेरै सुधार गरिएको बताए । आगामी दिनमा विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना थप विश्वसनीय बनाउनुपर्नेमा उनले जोड दिए ।

“पहिलाको तुलनामा अहिले हामीले जल तथा मौसमको पूर्वानुमानप्रति विश्वास गर्नसक्ने आधार बनाएका छौँ”, मन्त्री पुनले भने, “आगामी दिनमा थप विश्वसनीय बनाउनुपर्छ ।” उनले मौसम पूर्वानुमानका लागि राज्यले प्रविधि र जनशक्तिमा धेरै लगानी गरेको भन्दै पूर्व सूचना प्रदान गरेर जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । “बाढी र पहिराको सही सूचना सही समयमा दिऔँ, सूचना नपाएका कारण एक जनाले पनि ज्यान गुमाउनु नपरोस्” मन्त्री पुनले भने ।

यस्तै बाढीपहिराको सूचनालाई थप प्रभावकारी बनाउन मङ्गलबारदेखि अधिक वर्षात् नरोकिएसम्म हरेक दिन मन्त्रालयमा मिडिया ब्रिफिङ गर्न मन्त्री पुनले विभागलाई निर्देशन दिए । विभागले सोमबारदेखि अरेक दिन बिहान ११ः०० बजे सामाजिक दूरी कायम गर्दै मिडिया ब्रिफिङ गर्ने तयारी गरेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button