डिभी को आवेदन खुल्यो

पोखरा । सन् २०२२ को लागी अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भीसा (डीभी) को आवेदन खुलेको छ ।

नेपाली समय अनुसार आश्विन २१ बुधबार राति ९ः४५ बजेबाट आवेदन दर्ता सुरु भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिट्ठा कार्तिक २५ गते मंगलबार राति १०ः४५ बजे बन्द हुनेछ । दुतावासले डि.भी. आवेदकलाई चाडै आवेदन दिन आग्रह गरेको छ । डि.भी. चिट्ठा भर्नका लागि कुनै शुल्क तिर्नु पर्दैन । अमेरिकी दूतावासले डिभी चिट्ठा भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । डिभी चिट्ठा निःशुल्क भएकाले कुनै शुल्क नतिर्न समेत दुतावासले आग्रह गरेको छ । अमेरिकी दुतावासले डिभी भर्न सहयोग चाहिएमा परिवारका सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिने आग्रह गरेको छ । सहयोग जसले गरेपनि आफ्नो आवेदनका स्वयं जिम्मेवार रहनुपर्ने दुतावासले भनेको छ ।

निःशुल्क रुपमा डि.भी. लोटरी चिठ्ठा भरेर विदेश जान पाउने भएपछि डि.भी. भरेर विदेश जान खोज्नेको लर्को डि.भी. भर्ने ठाउँमा देखिने गर्दछ । आफैले घरमानै बसेर निःशुल्क भर्न सक्ने भएपनि डि.भी. भर्ने ठाउँमानै पुगेर रकम तिरेरै भर्न उनीहरुलाई संकोच लाग्दैन । किनभने उनीहरुलाई अमेरिका पुग्ने हुटहुटी जो छ । तर गएको वर्षदेखि डि.भी. भर्नको लागि पासपोर्ट नम्बर अनिवार्य भएपछि यसतर्फको भीड केही घटेको छ । यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नै पर्नेछ ।

डिभी २०२२ का लागि नयाँ व्यवस्था अन्र्तगत मुख्य आवेदकको बहालवाला, म्याद नसकिएको, विदेश भ्रमण गर्न मिल्ने राहदानीको राहदानी सङ्ख्या, जारी भएको देश र म्याद समाप्त हुने मिति लगायतको जानकारी दिनुपर्नेछ । यो व्यवस्था मुख्य आवेदकलाई मात्र लागू हुनेछ र आश्रितहरूलाई लागु हुने छैन ।

हुनपनि धेरैको सपनाको देश हो अमेरिका । नेपालबाट वर्षेनी डि.भी. लोटरी मार्फत चिठ्ठा परी अमेरिका पुगिरहेका छन् । तहाँ पुग्ने सबै सन्तुष्ट त देखिदैनन् । कति सन्तुष्ट छन् त कति असन्तुष्ट । तरपनि अमेरिका प्रतिको आर्कषण उत्तिकै छ ।

सन् २०२२ को डिभि चिट्ठाका लागि आवेदकहरूले फारम भर्न पाईने मिति भित्र   www.dvlottery.gov मा गई डिभी चिट्ठाको आवेदन फारम भर्नु पर्नेछ । फारम भर्दा आफ्ना श्रीमान श्रीमती र फारम भर्ने मिति कार्तिक २५ गते राति १०ः४५ बजे सम्म २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण अनिवार्य भर्नुपर्नेछ । श्रीमान, श्रीमती र सन्तानको विवरण नभरी पेश गरिएको आवेदन मान्य हुनेछैन । तपाईँले एउटा मात्र आवेदन फारम बुझाउनु पर्नेछ ।

एकभन्दा बढी आवेदन फारम बुझाउने आवेदक चिट्ठाका लागि अयोग्य ठहरिनेछ । अघिल्लो वर्षको डि.भी. भर्दा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटो सम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ । पेश गरिएको फोटो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने हुनुपर्नेछ । चश्मा लगाएर खिचिएको फोटो स्वीकार्य हुनेछैन । डिभीका लागि पेश गरिने फोटोले पनि अमेरिकी भिसाका लागि पेश गरिने फोटो सरहकै मापदण्ड पुरा गर्नुपर्दछ । आवेदक र आवेदकका परिवारका सदस्यको फोटो कुनै पनि प्रकारले मिलाइएको वा त्यसले मापदण्डहरू पूर्ण रूपमा पुरा नगरेको खण्डमा तपाईँको आवेदन अयोग्य ठहरिनेछ वा तपाईँलाई भिसा जारी हुने छैन । आवेदन जुनसुकै देशमा भएका नेपालीले दिन सक्नेछन् ।

आवेदन दिने योग्यता माध्यमिक तहको शिक्षा वा त्यसको समानार्थ शिक्षा जसको अर्थ प्राथमिक र माध्यमिक गरी १२ वर्षे औपचारिक शिक्षा सफलताका साथ पुरा गरेको वा विगत पाँच वर्षमा दुई वर्षको कामको अनुभव भएको हुनुपर्दछ । त्यस्तो काम जसको लागि कम्तीमा दुई वर्षको तालिम वा अनुभव आवश्यक पर्दछ । कामको अनुभव योग्य भए नभएको निर्धारण युएस डिपार्टमेन्ट अफ लेबर (अमेरिकी श्रम मन्त्रालय) को o*net online को डेटाबेसद्वारा गरिनेछ ।

डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ । किनकी पछी डिभी परे नपरेको हेर्ने यही कन्फर्मेसन नम्बरबाट हो । तपाईलाई डिभी चिट्ठा प¥यो कि परेन भन्ने कुरा आगामि २०७८ साल बैशाख २५ गते ( मे ८, २०२१) का दिन थाहा हुन्छ । अर्थात २०७८ को बैशाख २५ गते पछि  www.dvlottery.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर टाईप गरी नतीजा हेर्न सकिनेछ । यसरी डिभी चिट्ठाको आवेदन फारम भर्नको लागि र नतिजा हेर्नको लागि कुनै रकम तिर्नुपर्देन । डिभी कार्य सम्बन्धी अन्य जानकारीका लागि काठमाण्डौस्थित अमेरिकी दुतावासको वेभसाइट httpso://np.usembassy.gov/visas/immigrant-visas  मा हेर्न सकिनेछ ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । तर छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना भने आउदैन । अर्को कुरा तपाई डि.भी. विजेताका रूपमा छानिदैमा तपाईले भिसा पाउनुहुन्छ भन्ने कुरा प्रत्याभूत हुदैन । तपाईले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी.का लागि तपाई योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निकर््यौल गर्नेछन् । डि.भी. लोटरी परेर पनि गलत विवरण र न्युनतम योग्यता नपुगेको कारण अमेरिका जानबाट वञ्चित हुनेहरुको संख्या समेत उतिकै भएकोले डि.भी. आवेदन भर्ना सचेत बन्नुपर्नेहुन्छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button