चितवन माडीका काफ्ले राजनीतिसँगै बाख्रापालनमा

चितवन । स्थानीय स्तरमा राजनीति गर्नेलाई सँधै पैसाको अभाव हुन्छ । राजनीतिसँगै व्यवसाय पनि गर्दा राजनीतिमा टिक्न र अगाडि वढ्न सजिलो हुन्छ । कति व्यक्ति त राजनीतिमा लागेर आफ्नो श्रीसम्पत्ति नै सकेका उदाहरण पनि छन् ।

पारिवारिक व्यवस्थापनसँगै राजनीति उनीहरुको बाध्यता हुने गर्दछ । विगतमा राजनीति मात्रै गर्दै गर्दा धेरैले आफ्नो सम्पत्ति सके, राजनीीतसँगै व्यवसायलाई अगाडि वढाएका छन् चितवन माडीका नीलकण्ठ काफ्ले राजनीतिसंगै बाख्रापालनमा सम्लग्न छन् ।
स्थानीय निर्वाचनमा माडी नगरपालिका–७ मा पराजय भोगेका काफ्ले व्यावसायिक बाख्रापालनमा लाग्नुभएको हो । ५७ वर्षीय काफ्ले अहिले माडी एग्रोफार्ममार्फत बोयर जातका बाख्रा पालेर पाठापाठी बिक्री वितरण गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचनमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका तर्फबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएका काफ्ले अहिले आफ्नै व्यवसायमा रमाउँदै आउनुभएको छ । उहाँले गएको एक वर्षमा १० लाख रुपैयाँभन्दा बढीको बोयर जातका पाठापाठी बिक्री गरेको बताउनुभयो । भारतको तामिलनाडु पुगेर शुद्ध बोयरको पाठा ल्याएर उहाँले व्यवसाय शुरु गर्नुभएको हो । आफ्नो चाहना पूरा गर्नका लागि रु ५४ हजारमा १७ किलोको तीन महिने पाठो ल्याएर हुर्काउन थाल्नुभयो । तर छ महिनामै खोरभित्रका अन्य बाख्रा मर्न थाले ।

उहाँले भन्नुभयो, “५५ बाख्रामध्ये १५ वटामात्रै बाँचे ।” बाख्राका पाठा मर्न थालेपछि बाख्रापालन नै छाड्ने स्थितिमा पुग्नुभएका काफ्लेले हार खानुभएन । बिरामी परेको बोयरको पाठोपछि तङ्ग्रिन थाल्यो । विगत सुनाउँदै भन्नुभयो, “अर्को वर्ष खोरमा ५० बाख्रा पुगे, बोयर क्रस गरेर पाठापाठी जन्मिन थाले ।” त्यही बोयरमार्फत उन्नत जातका पाठापाठी जन्मिन थालेको उहाँको भनाइ छ । जसले खोर भरिन थाल्यो ।

उहाँले विसं २०७५ मा रु १२ लाख बराबरका बोयरका पाठा बेच्नुभयो । गत वर्ष करिब रु १० लाख बराबरको बेच्नुभयो । विसं २०७६ को असारमा उहाँले अष्ट्रेलियाबाट २४ वटा बोयरका पाठी र छ वटा पाठा किनेर ल्याउनुभयो । अहिले फार्ममा ६० वटा बाख्रा छन् । जसमध्ये ४० वटा माउ छन् । शुरुमा रु एक लाखको बाख्रा किनेर फार्म दर्ता गराउनुभएका काफ्लेले हालसम्म फार्ममा करिब रु एक करोड लगानी गरिसक्नुभएको छ । उहाँले भन्नुभयो, “यो वर्ष २० लाखका बोयरका पाठापाठी बेच्ने लक्ष्य छ ।” बोयर उन्नत जातको बाख्रा हो, यसबाट उत्पादन लिन सजिलो हुने रहेछ उहाँको भनाइ छ ।

छिटो हुर्कंने, तौल बढ्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले बोयर जातका बाख्राको माग बढ्दो छ । शुद्ध बोयर पाठा रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म बिक्री हुन्छ भने पाठी रु एक लाख ८० हजारसम्म बिक्री हुने गर्छ । दुई वर्षमा बोयरका बोका १०० किलो बढी तौलका हुन्छन् । शुद्ध बोयर बोका र स्थानीय बाख्राबीच क्रस गराएर जन्मने पाठापाठी चार महिनामा ४० किलो बढी तौलका हुन्छन् । अर्खाखाँची, स्याङ्जा, बुटवल, धनकुटा, पोखरासम्मबाट बोयरका पाठापाठी लिन आउने गरेको उहाँले बताउनुभयो ।

व्यावसायिकरुपमै अघि बढ्ने सोचका साथ उहाँले केही स्थानीयलाई लिएर धादिङ, गोरखा, तनहुँ, पोखरासम्म पुगेर उत्कृष्ट गाई, बाख्रा फार्म अवलोकन गर्नुभयो । उहाँका तीन छोरामध्ये जेठो छोरा मनोरोग विशेषज्ञ डा खगेन्द्र र माइलो छोरा हरि इञ्जिनीयर हुनुहुन्छ ।

कान्छो छोरा हिम भारतमा विद्यावारिधि गर्दै हुनुहुन्छ । छोरासँगै नभए पनि श्रीमतीको प्रत्यक्ष साथ छ उहाँलाई । बाख्रा उत्पादनमा नश्ल सुधार अतिआवश्यक रहेको उहाँको भनाइ छ । यस फार्मलाई नमूना स्रोत केन्द्रका रुपमा विकास गर्ने योजना रहेको छ । फार्ममा शुद्ध बोयर, बोयरका ५० प्रतिशत क्रस, ७५ प्रतिशत क्रस गरेका पाठापाठी उत्पादन हँुदै आएको छ । फार्मबाट अहिले पाठापाठी मात्रै बेच्ने गरिन्छ ।

बाख्रापालनका लागि चार बिघा जमिनको व्यवस्था गरिएको छ । जसमध्ये दुई बिघामा अहिले घाँसखेती छ । बाख्रापालनबाट भविष्य राम्रो भएको भन्दै उहाँले सीप र लगानी गरेर निरन्तरता दिएमा व्यवसायमा सफल बन्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “मिहिनेत ग¥यो भने विदेश जानुपर्दैन । स्थानीयस्तरमा राजनीति पनि छोडनु पर्दैन ।”

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button