गण्डकी प्रदेशको पर्यटनमा कोरोना महामारीको असर

पोखरा नेपालको पर्यटनको राजधानी र गण्डकी प्रदेश नेपालको पर्यटनको हव भएको कुरा तथ्यहरुले पुस्टि गर्दै आएका छन् । प्रकृति,संस्कृति र साहसी गतिविधिको अतुलनीय संगम भेटिने यस स्वर्गको टुक्रा जस्तो भूगोल साँची नै अनुपम छ ।

यहाँका पर्यटकीय उपजहरु, पर्यटकीय पुर्वाधारहरु ,हवाई तथा सडक सम्पर्क संजालहरु, निजी क्षेत्रबाट उच्च मनोबलका साथ भएको व्यापक लगानी आदिले गर्दा यो ठाउँ बास्तवमै नेपालको पर्यटनको राजधानीको रुपमा स्थापित भैसकेको छ । सन् १८९९ मा इकाई कावागुचीको भ्रमंणबाट चर्चामा आउन थालेको पोखरा सन् १९५० को जुन ३ तारेखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगको समुहले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेबाट शुरु भएको यहाँको पर्यटनले १९७० तिर व्यवसायिक रुप लियो भने १९८० बाट व्यापक रुपमा पर्यटन व्यवसाय फस्टाउन थाल्यो ।

नेपाल सरकार र निजी क्षेत्रबाट भएका प्रवर्धनात्मक अभियानहरुले गर्दा यो क्षेत्र विश्वभरि नै स्थापित हुन गयो । यहाँको समग्र क्षेत्र प्रत्यक्ष वा परोक्ष रुपले पर्यटनसंग जोडिएको हुन्छ । जसको कारणले गर्दा पर्यटनमा आएको फेर बदलले यी सबै क्षेत्रमा प्रभाव परेको हुन्छ । यस प्रदेशमा सामान्य अवस्थामा पर्यटनको अवस्था कस्तो हुन्छ । यसमा प्रत्यक्ष्य रुपले कति पक्ष जोडिएका छन्, लगानी कति छ र कोभिड महामारीको प्रभाव कस्तो छ भन्ने कुरालाई यस लेखमा संक्षिप्त रुपमा राख्न खोजिएको छ ।

२०१९ मा मात्र बिदेशी ४ लाख ८० हजार  र करिब पाँच लाख आन्तरिक पर्यटक गरी करिब १० लाख पर्यटकहरुले पोखराको भ्रमण गरेका थिए बिदेशी पर्यटक मध्ये ६०% जति विभिन्न साहसी गतिबिधि गर्न पोखरा आउने गर्छन त्यहाँ सरकारी तथा निजी क्षेत्रबाट ठूलो मात्रामा लगानी भएको छ । पोखरामा मात्र ७ सय  भन्दा बढी पर्यटक स्तरका होटल, रिसोर्ट लज,गेस्ट हाउस आदि छन् भने १ सय ५० पर्यटक स्तरका रेस्टुरेन्ट,२०३ ट्राभल एजेन्सी ,१५९ ट्रेकिङ्ग एजेन्सी ,६५ वटा प्याराग्लाइडिङ कम्पनी , तीन वटा अल्ट्रा लाइट कम्पनी,११५ वटा ट्रेकिङ्ग सामग्री पसल , ७५ वटा गार्मेन्ट पसल, ६३ स्पा ,४२ वटा मनी चेन्जर , १५ वटा पर्यटक किताब पसल ८७ वटा पर्यटक बस आदिमा करिब ७५ हजार मानिसहरुले प्रत्यक्ष्य रुपले रोजगारी पाएका छन् ।  यहाँ १० हजार ६ सय  वटा पर्यटक सेवा प्रदायक व्यवसाय संचालित छन् ।

यहाँ १९२ अरब प्रत्यक्ष्य लगानी देखिन्छ भने समग्रतामा हेर्दा ५०० अरब निजी क्षेत्रको मात्र लगानी भएको पाइन्छ । यति ठूलो लगानी भएको यस क्षेत्रमा २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा देखिएर विश्वब्यापी महामारीको रुप लिएको कोभिद –१९ को महामारीले गण्डकी प्रदेशमा मात्र दैनिक १३.३६ करोड नोक्सान हुँदै आएको छ । यस महामारीको कारण समग्र विश्वको साथमा हाम्रो देश, हाम्रो समुदाय , समाज र व्यवसाय सबैमा नकारात्मक प्रभाव परेको छ । फरक यति छ कि,बिकसित देशले जनता तथा व्यवसायीलाई राष्ट्रको तर्फबाट प्रभावकारी सहयोग पुर्याएका छन् । हाम्रो देशको अर्थ तन्त्रका विभिन्न पक्षहरु लगभग चलायमान हुन सुरु गरेका छन् तर पर्यटन बजार शून्यको अवस्थामा छ । पर्यटनका विभिन्न क्षेत्रहरु तनावको अवस्थामा छन्।

मझौला तथा ठुला व्यवसायीको तनाव :

कुनै पनि व्यवसायको स्थायित्व वा निरन्तरता भनेको कुल आम्दानीबाट सबै दायित्व कटाएर निश्चित रकम बचतको अवस्था हो । कम्तिमा आम्दानी र खर्च बराबर (Break even ) को अवस्था नहुने हो भने कुनै पनि व्यवसाय लामो समयसम्म संचालन हुन सक्दैन । पर्यटन व्यवसाय भनेको मानवको सहज रुपले आवत जावतको अवस्था भएमा मात्र संचालन तथा निरन्तरता हुन सक्छ । यस महामारीले मानिसहरु घरमै बन्धक भएका छन् । उनीहरुका विभिन्न स्थानको भ्रमण गर्ने , साहसी गतिबिधि गर्ने तथा नयाँ अनुभव बटुल्ने इच्छा , चाहनाहरु हाललाई स्थगित भएका छन् ।

यस कारणले आन्तरिक तथा बाह्य पर्यटकहरु पोखरामा नआएपछि यहाँका व्यवसायीहरुको दायित्व कायमै छ भने आम्दानी शून्यको अवस्थामा छ । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको किस्ता र ब्याज तिर्ने नगद प्रभाव नभएको हुनाले नेपाल रास्ट्र बैंकको यस वर्षको मौद्रिक नीति मार्फत सो रकम तिर्ने भाका एक वर्ष पर धकेलिएको छ भने ब्याज घटाउनका लागी एक सय अरबको पुनार्कर्जा कोषको व्यवस्था गरिएको छ। यस्तै गरी २०७७ असारसम्मको दायित्वको समायोजन गर्नका लागी १०% टप अप लोनको व्यवस्था गरिएको थियो । हालसम्म टप अप लोनको प्रावधान बाहेक कुनै पनि सुबिधा पाउन सकेका छैनन् ।

अन्य सुबिधा पाउनका लागि विभिन्न कडा प्रावधान राखिएको हुनाले साना तथा मझौला व्यवसायीहरुले सो सुवधा पाउने सम्भावना क्षिण हुँदै गएको छ । एकातिर कोभिड नियंत्रणको खासै प्रगति नदेखिनु , कुनै औषधि तथा खोपलाई डब्लुएचओ ले स्वीकृत नगर्नु अर्को तिर मौद्रिक नीतिबाट प्राप्त सुबिधाको उपयोग गर्न नपाउने अवस्थाले समग्र व्यवसायीहरु तनावको अवस्थामा छन् । लगानीकर्ताहरु तनावमा हुनुको अर्थ पर्यटनमा लगानी खुम्चिनु हो जसको कारणले राजस्वमा र रोजगारीमा पुर्याउने योगदान पनि खुम्चिन जान्छ । तसर्थ व्यवसायको यस अवस्थालाई मध्यनजर गरीकन सरकारले यस क्षेत्रको अविभावकको भूमिका खेलेको अनुभूति गराउन सक्नुपर्छ ।

साना व्यवसायी तथा स्व-रोजगारीको तनाव :

पोखराको पर्यटन क्षेत्रमा आफुले यस क्षेत्रमा हासिल गरेको अनुभव र ऋण धन गरेर जोहो गरेको सानो रकमको लगानी गरेर भाडामा लिएर पसलहरु खोल्ने वा आफ्नो सवारी साधन किनेर चलाउने हजारौं स्व–रोजगारी व्यवसायी छन् । उनीहरुको हरेक महिना सामान्य ब्यापार हुँदा त सबै कुरा चली नै रहेको हुन्छ तर करिब एक वर्ष भै सकेको यो महामारीले घांटीसम्म ऋणको बोझ आइसकेको छ । कतिपयले भाडा तिर्न नसकेर घाटा खाएर आफ्नो लगानी त्यसै छाडेर गाउँतिर गएको अवस्था छ ।यसो गर्दा भोलि परिस्थिति सामान्य लयमा फर्केको अवस्थामा सेवाको संजाल नै भत्कने सम्भावना हुन्छ जुन समग्र पर्यटन कै निम्ति घातक हुन्छ । तसर्थ ,घर भाडामा लगाउने घर भेटी ,तीनै तहका सरकार र नागरिक समाज मिलेर यस्तो chain भत्कन दिनु हुँदैन ।

श्रमिकहरुको तनाव :

सामान्यतया पर्यटन क्षेत्रमा काम गरेका श्रमिकहरु अन्य क्षेत्रमा स्थानन्तरण हुन गाह्रो हुन्छ । पर्यटन उद्योगको संस्कार अगालिसकेका श्रमिकहरुलाई अन्य क्षेत्र केही असहज जस्तो देखिन्छ । हाम्रो समाज शास्त्रलाई हेर्ने हो भने सामान्यतया घरको एक प्रमुख व्यक्तिको आश्रयमा अन्य तीन जना सदस्य भर पर्दछन अर्थात् एक जनाको कमाईबाट चार जना पालिनु पर्छ । विभिन्न ठाउंबाट पोखरा आएर पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरुको पीडा कसैले अनुमान गर्ने नसक्ने गरी कठिन छ । बच्चाहरुको बिद्यालयको व्यवस्था गर्ने लगायतका कुराको बन्दोबस्त गर्नुपर्ने व्यक्तिकै आम्दानीको माध्यम नभएपछि जीवन कति असहज होला सहज अनुमान गर्न सकिन्छ । यस्ता समस्या समाधान गर्नका लागि प्रदेश सरकारले केही रकम बिनियोजन गरेकोमा सो रकम श्रमिकहरुलाई तालिम पनि दिने र पारिश्रमिक पनि दिने गरी खर्च गर्नु राम्रो हुने सुझाव दिएका थियौँ तर आजसम्म पनि प्रक्रियागत जटिलताले हो कि किन हो केही प्रगती भए जस्तो लाग्दैन ।

घरबास तथा पदमार्गको तनाव :

गण्डकी प्रदेशको दिगो पर्यटनका मुख्य आधार भनेका विभिन्न छोटो तथा लामो दुरीका पदमार्ग तथा घरबास हुन । बिस्व विख्यात अन्नपुर्ण क्षेत्र, मनास्लु क्षेत्र ,धौलागिरि क्षेत्र, पञ्चासे, धम्पुस , मर्दी हिमाल आदि क्षेत्रका ब्यवासायीहरु तथा घरबास संचालकहरु अब पनि व्यवसाय खोल्ने कि नखोल्ने दोसाँधमा छन् । खोल्दा केही भैहालेमा के गर्ने भन्ने तनाव ,नखोल्दा कहिलेसम्म यसरी बस्ने भन्ने तनावले सो क्षेत्रका सबै व्यवसायीहरु अप्ठेरोमा छन् ।

अब कसले के गर्नुपर्ला ?

महामारी भनेको दीर्घकालीन हुँदैन तर अब कति समयसम्म रहला भन्ने निस्चित छैन । सामान्य अवस्थामा पर्यटन लगायतका निजी क्षेत्रबाट सरकारको राजस्व लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याएकै हुन्छन । तर यो समय सरकारले पर्यटन क्षेत्रलाई सहयोग गर्ने बेला हो । मौद्रिक नीतिको कार्यन्वयनका जटिलता हटाएर सहज रुपले कार्यान्वयन हुने अवस्था सृजना गर्नुपर्छ । बैंकहरुले पनि व्यवसायीहरुलाई हैरान पार्न छाड्नुपर्छ । प्रदेश सरकारले बिनियोजन गरेको व्यवसाय बचाउ कोष साना र स्व–रोजगार पर्यटन व्यवसायलाई राहतको रुपमा न्यूनतम अर्थात ३५ ब्याजमा लगाउनुपर्छ । घर भेटीहरुले ७५ प्रतिशतसम्म भाडा छुट दिनुपर्छ ।

विश्वका सारा बैज्ञानिकहरुले कोभिड़संग लड्ने दीर्घकालीन समाधानका लागि औषधि तथा खोपको लागि कामगरी रहेका छन् । आशा गरौँ,केही समयमै त्यो समाधान सर्व साधारणका बीच आइपुग्ला । खोपको आधिकारिकता प्रमाणित भएपछि विश्वका ९२ वटा गरिब देशका जनताको पहुँचमा सो खोप कसरी पुर्याउने भनेर gavi भन्ने संस्थाले गृहकार्य गरि रहेको छ र तयारी अवस्थामा छ । स्थायी समाधान आएपछि बैंकहरुले नाफा कमाउलान, घरभेटीहरुले पूरैभाडा बुझ्नु हुने छ । सरकारले पूर्ववत रुपले राजस्व प्राप्त गर्ने छ । आपतमा सबै एक भएर आपसमा सहयोग गर्यौं भने सहज दिन छिटो आउने छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button