लमजुङको दोर्दीमा ३० वर्षदेखि साङ्लोले बाँधेर राखिएका पुरुषका उद्धार

पोखरा न्यूज । तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक बनाइएका गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका-९ हिलेटक्सार माझगाउँका मानसिक सन्तुलन गुमेका ४९ वर्षीय इमानसिंह गुरुङको उद्धार गरिएको छ । मानवसेवा आश्रम लमजुङले बिहीबार उक्त स्थानमा पुगी उनको उद्धार गरेको हो ।

सोही वडाका वडाध्यक्ष खेमबहादुर गुरुङ, स्थानीयवासी र परिवारको रोहवरमा आश्रमका संयोजक अनिता अधिकारी, प्रहरी, सञ्चारकर्मीलगायत त्यहाँ पुगेका टोलीले उद्धार गरेको हो । बेवारिसे सडक मानव उद्धार गर्ने गरे पनि बेलाबखत यस्ता दयनीय अवस्थामा रहेका व्यक्तिको समेत उद्धार गर्ने गरेको उहाँको भनाइ छ । उहाँको जीवन परिवर्तन गर्नका लागि आश्रममा ल्याइएको र मान्छे भएर मान्छेकै भेषमा पशुतुल्य जीवन बिताउँदै आएका कारणले आश्रमले उद्धार गरेको जनाइएको छ ।

मानसिक सन्तुलन गुमेका गुरुङका ठूलो दाई बेनीराम गुरुङले भाइको बारेमा समाचार प्रकाशित भएपछि उद्धार गरेकामा आश्रमलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “हामीलाई धेरै दुःख थियो, कताबाट सहयोग होला र भाइको उद्धार तथा उपचार होला भन्दै बसेका थियौँ तर अहिले उद्धार भएकाले भगवान्ले आशीर्वाद दिएजस्तो लागेको छ ।” गुरुङको १८ वर्षको उमेरमा मानसिक सन्तुलन गुमेयता परिवारले घरकै कोठामा फलामको साङ्लोले बाँधेर कोठामै बन्धक बनाउँदै आएको थियो ।

गुरुङलाई यतिकै छोड्दा जता पायो त्यतै जाने, जो भेट्यो उसलाई हिर्काउने, पिट्ने तथा घरका सामान फाल्ने, घर भत्काउनेलगायतका क्रियाकलाप गर्ने गरेको परिवारले जनाएको छ । गुरुङका बुबाआमाको मृत्यु भएपछि ठूलो दाइ बेनीराम र भाउजुु दबलकुमारी गुरुङले हेरचाह गर्दै आउनुभएको थियो । कष्टकर जीवन बिताउँदै आउनुभएका गुरुङको आश्रमले उद्धार गरेपछि परिवारसमेत खुशी भएको छ ।

बेँसीशहर नगरपालिका-७ हाइस्कूलचोकमा विसं २०७३ चैत १२ गते एक स्थानीयवासीको घर भाडामा लिएर आश्रम सञ्चालन हुँदै आएको छ । हाल आश्रममा उद्धार गरिएका गुरुङसहित २५ जना छन् । यस आश्रमले आगामी पुस महिनाभित्रमा जिल्लालाई बेवारिसे सडक मानवमुक्त बनाउने लक्ष्य राखेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button