नेपाल गोल्डेन आइडलको फाइनलिष्ट देशदौडाहमा

प्रतियोगीताको फाइनल माघ २४ गते शनिबार पोखरामा हुने

पोखरा न्यूज । सातौँ संस्करणको नेपाल गोल्डेन आइडलको फाइनलमा ९ जना प्रतियोगी पुगेका छन् । जसमा गायनतर्फका पाँच जना र नृत्यतर्फका पाँच जना रहेका छन् ।

यसरी फाइनल पुग्नेमा गायनतर्फ संखुवासभाका मदन लिम्बु, ललितपुरका सुमन लामा घिसिङ, खोटाङका किस्मत चाम्लिङ राई, काठमाण्डौँकी सुजिता योञ्जन रहेका छन् । यसैगरी नृत्यतर्फ झापाकी स्वस्तिका काफ्ले, कैलालीकी नेहारिका बोहोरा, बाँकेकी मनिषा परियार, दाङकी जेबिका रेउले, काठमाण्डौकी आकृती पोखरेल फाइनलमा पुगेका हुन् ।

गायन तथा नृत्यमा गरी यो प्रतियोगीताका लागि देशका विभिन्न ११ स्थानमा अडिसन भएको थियो । अडिसनमा गायन र नृत्यतर्फ गरेर ४ हजार ७ सय जना सहभागी भएको कार्यक्रम निर्माता तथा गोल्डेन स्टार मल्टिमिडियाका निर्देशक सरन गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगीताको निर्णायकमा गायक तथा संगीतकार रामभक्त जोजीजु, विनोद बाँनिया, गुरुङ फिल्मकी निर्देशक जसु गुरुङ र कोरियोग्रफर निरुता गुरुङ रहनुभएको छ ।

यतिबेला फाइनलमा पुगेका प्रतिष्पर्धीहरु देश दौडाहमा छन् । फाइनलमा पुगेका प्रतियोगीलाई देशव्यापी रुपमा परिचित गराउने उद्धेश्यले ‘फाइनलिष्ट लाइभ कन्र्सट एण्ड म्युजिकल टुर’ कार्यक्रम मार्फत देशदौडाह गर्न लागिएको आयोजक संस्थाका निर्देशक गुरुङले बताउनुभयो । यसरी हुने कार्यक्रममा फाइनलिष्ट प्रतियोगीलाई स्थानीय कलाकारहरुले समेत साथ दिनेछन् ।

टुर कार्यक्रम ललितपुरमा माघ ८ गते, दमक झापामा माघ १० गते, संखुवासभामा माघ १२ गते, खोटाङमा माघ १४ गते, कैलालीमा १६ गते, बाँकेमा माघ १७ गते र दाङमा माघ १८ हुनेछ । प्रतियोगीताको फाइनल माघ २४ गते शनिबार पोखरामा हुने गोल्डेन निर्देशक गुरुङले पोखरा न्युजसँग बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button