पाँच रुपैयाँको टिकट काटेर फिल्म हेरेको सम्झना छः अविनाश घिसिङ

म पनि हिरो भएको भए भन्ने मनमा आउथ्यो

पोखरा न्यूज । पप गायक अविनाश घिसिङको जन्म आजभन्दा ३९ वर्ष अगाडि सिन्धुपाल्चोक जिल्लाको लिसखु गाउँपालिका ७ ठूलो पाखरमा भएको हो । उहाँका हालसम्म ७५ को हाराहारीमा गीत रेर्कड भएका छन् । उहाँ नयाँ एल्बम ‘द काप्रेन्टर मेन’ को तयारीमा हुनुहुन्छ । घिसिङ केही समयको ग्यापमा गतवर्ष ‘माथिल्लो लेकमा (सेलो टन)’ मार्फत सांगीतिक क्षेत्रमा फर्किनु भएको थियो । उहाँले लगभग ५ वर्षपछि आफ्नै प्रोजेक्ट लिएर आउनुभयो । जुन गीत दर्शक श्रोताले रुचाए ।

घिसिङका हालसम्म सातवटा एलबम सार्वजनिक भइसकेका छन् । २०५७ सालमा च्याङबा, २०५९ सालमा जेनेरेसन डट एनपी, २०६१ सालमा जिरो पोइन्ट, २०६४ सालमा हिल एरिया, २०६४ सालमा नै तामाङ भाषाको एलबम काइरन, २०६७ सालमा सन अफ हिमालय, २०७२ सालमा कन्ट्री साइड एलबम उहाँले श्रोतामाझ पस्कनुभयो ।

उहाँले केही गीत अरुको एलबमको लागि समेत गाउनुभएको छ । अब उहाँको आठौं एलबम ‘द काप्रेन्टर मेन’ एलबम आउने क्रममा रहेको छ । सोही एलबममा समावेश गरिने एउटा गीत ‘माथिल्लो लेकमा (सेलो टन)’ हो । एलबमका लागि अन्य गीत समेत तयार भइरहेका छन् ।

अब केही वर्ष गीत संगीतमा नै व्यस्त रहने र त्यसपछि सामाजिक कार्य गर्ने सोच उहाँले बनाउनुभएको छ । गाउँले जीवन पार गरेर आउनुभएका घिसिङसँग खेती किसान सम्बन्धी काम गरेको अनुभव छ । सोही कारण डाँडाकाडा उकाली ओराली, आफैले भोगेका अनुभवलाई समेटेर उहाँले गीत मार्फत पस्कने गर्नुहुन्छ । जंगल जाने, हलो जोत्ने, पौडी खेल्ने, थान्का लेख्ने, गोठ सार्ने, लगायतका काम उहाँले ८, ९ वर्षको उमेरदेखि गर्नुभयो । उहाँको गायन यात्रा मेलोडी गीतबाट भएको थियो । उहाँले हिपपप गीत समेत गाउनुभयो । आर एन बी शैलीमा पियोर नेपाली गीतलाई शब्दमार्फत ¥याप शैलीमा गाउने उहाँको विशेषता हो । यसपाली पप गायक अविनाश घिसिङसँग सांगीतिक क्षेत्र भन्दा भिन्न फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईले फिल्म कतिको हेर्नुहुन्छ ?
फिल्म हेर्ने गर्छु धेरै नै ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
मेरो फिल्म हेर्ने पछिल्लो समयको माध्यम नेटफ्लिक्स र युट्युब हो ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?
हलमा तथा घरमा फिल्म हेर्दा धेरै अन्तर हुन्छ । हलमा विशेषगरी व्याकराउण्ड म्युजिक क्लियर रुपमा सुन्न सकिन्छ । स्क्रिनमा समेत ठूलो भिन्नता हुन्छ । सोही कारण फिल्म हेर्दाको वास्तविक मज्जा हलमा नै हुन्छ । अरु विकल्पले फिल्म हेर्नु भनेको फुर्सदको समयको सदुपयोग मात्र हो ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
बाल्यकालमा फिल्म हेर्दा निकै रमाईलो हुन्थ्यो । पाँच रुपैयाँको टिकट काटेर फिल्म हेरेको सम्झना छ । विशेषगरी नेपाली फिल्म ‘सम्पति’ हेरेको भुलेको छैन । विश्व ज्योति हलमा गाँउबाट भागेर काठमाण्डौं आएको बेला हेरेको थिए । त्यतिबेला निकै खुशी भएको थिए । ती दिनहरु अझै मलाई याद छ । सम्झदा रमाइलो लाग्छ ।

हलमा हेरेको पहिलो फिल्म ?
हलमा हेरेको पहिलो फिल्म विश्व ज्योति हलमा हेरको नेपाली फिल्म ‘सम्पत्ति’ हो ।

मनपर्ने फिल्मी कलाकार ?
मलाई मनपर्ने फिल्मी कलाकार राजेश हमाल हुनुहुन्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
नेपाली फिल्मको सकारात्मक कुरा भनेको नेपाली फिल्ममा नेपाली कला संस्कृति सहित नेपाली परिवेशलाई समेटिएको हुन्छ ।

सुधार गर्नुपर्ने पक्ष ?
फिल्ममा अभिनय गर्ने कलाकारको कलाकारितामा निखार थप्नुपर्छ । यसका अलावा फिल्म मेकिङ गर्दा धेरै सोच बिचार गर्नुपर्छ । नेपालको कला संस्कृति समेटिएको कथा, निखारता भरिएका कलाकारको अभिनय र पछिल्लो क्रममा आएको नयाँ प्रविधिको प्रयोग गरेर फिल्म मेकिङ गर्नुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
सानोछदाँ फिल्ममा अभिनय गर्ने धेरै रुचि हुन्थ्योे । र म पनि हिरो भएको भए भन्ने मनमा आउथ्यो ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?
नेपाली फिल्म व्यवसायिक बन्दै दर्शकको मन जित्न सफल बनुन् । सबैले नेपाली फिल्मलाई माया गरौ । शुभकामना नेपाली फिल्म क्षेत्रलाई ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button