पोखरामा बुधबारबाट कोरोना बिरुद्धको खोप लगाइने

पोखरा न्यूज ।  गण्डकी प्रदेशमा  बुधबार पहिलो चरण अन्तरगत कोरोना बिरुद्धको खोप लगाइने भएको छ ।

गण्डकी प्रदेशका सबै जिल्ला अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रमक तथा सरुवा रोग अस्पताल पोखरा, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा एकैसाथ खोप कार्यक्रम शुरुवात गरिने जानकारी गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले दिनुभयो । पहिलो चरणको खोप सरकारी, गैरसरकारी, निजी अस्पताल तथा मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी, महिला  स्वास्थ्य स्वयंसेवी रअस्पतालको फेहोर व्यवस्थापनमा खटिने कर्मचारीलाई दिइने भइएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामा पहिलो चरण अन्तरगत ३९ हजार एक सय ३९ मात्राको खोप प्राप्त भएको छ । यही माघ ९ गते आएको खोप  १२ गते  स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका लागि पठाइसकिएको जानकारी मन्त्रालयले दिएको छ ।

कोभिड-१९ खोपलाई व्यवस्थित रूपमा संचालन गर्न प्रदेश तहमा प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवसहितको कोभिड-१९ खोप समन्वय तथा अनुगमन समिति र जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन भएको छ ।

शुरुआतका दिनहरुमा यस प्रदेशमा कोभिड-१९ को संक्रमण नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने अस्पताल, भौतिक पूर्वाधार, प्रयोगशाला, अनुभवी स्वास्थ्य जनशक्ति, यन्त्र उपकरण तथा अन्य स्वास्थ्य सामग्रीको अभाव थियो । गण्डकी प्रदेशको आजसम्मको तथ्यांक हेर्दा कोरोना परीक्षण एक लाख २५हजार चार सय ९७ जनाको भएको त्यसमध्ये १५हजार तीन सय ३७ जना संक्रमित भएको अवस्था छ । हाल संक्रमितमध्ये  ४ सय ६४ जना मात्र सक्रिय रहेका छन् भने १४ हजार ६सय ७१ निको भएको जानकारी मन्त्रालयले दिएको छ ।

बुधबार बिहान १०.०० बजे प्रधानमन्त्री केपी ओलीले खोप कार्यक्रमको शुभारम्भ गर्नुहुने छ भने गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले दिनुभयो । यही महिनाको १४ देखि १८ गतेसम्म १८ वर्ष माथिका लक्षित वर्गलाई पहिलो चरणको खोप लगाइने भएको जानकारी न्यौपानेले दिए । दोस्रो मात्राको खोप एक महिनापछि दिइने बताइएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button