पोखराको संक्रामक तथा सरुवा रोग अस्पतालमा कोरोना विरुद्धको खोप कार्यक्रम शुरु

पोखरा न्यूज । गण्डकी प्रदेश सरकारले संचालनमा ल्याएको संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथ वाट कोभिड-१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ ।

सरकारले देशव्यापी रुपमा बुधबार देखी शुरु गरेको खोप कार्यक्रम सामाजिक विकास मन्त्री नरदेवी पुनको प्रमुख आतिथ्यतामा संक्रामक तथा सरुवा रोग अस्पतालमा पनि शुरु भएको हो।

सरकारले पहिलो चरणमा कोरोना खोप स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी लगायत कोभिड-१९ महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिएकाहरुलाई लगाउने निर्णय गरेपछि संक्रामक तथा सरुवा रोग अस्पतालमा पहिलो खोप अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई लगाईएको थियो ।

पहिलो चरणमा सम्पूर्ण सरकारी, गैरसरकारी, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी गरी १७ हजार ६ सय ३० जनालाई खोप दिइनेछ।

उक्त खोप कार्यक्रममा पोखरा महानगरपालिका कार्यालयका स्वास्थ्यकर्मीहरु, निजी क्षेत्रका स्वास्थ्यकर्मीहरु, मादी र रुपा गाँउपालिकाका स्वास्थ्यकर्मीहरु समेतगरी जम्मा १ हजार २ सय १९ जनालाई खोप सेवा दिने लक्ष्य राखिएको छ । बुधबार मात्रै १ सय ४४ जनालाई खोप लगाईएको अस्पतालका सूचना अधिकारी केदारनाथ लामिछानेले जानकारी दिनुभयो ।

कोरोना खोप प्रत्येक व्यक्तिलाई दुई डोज दिइने र पहिलो मात्रा लिएको एक महिनापछि अर्को मात्रा दिइने जनाइएको छ । गण्डकीमा पहिलो चरणमा ३९ हजार १ सय ३९ मात्रा खोप प्राप्त भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button