एपीएफको हान्यो २२ गोल

पोखरा न्यूज संवाददाता । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सोमबार उदयपुरको टोली चौदण्डीगढी नगरपालिका माथि फराकिलो जीत निकालेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२-० गोल अन्तरले पराजित गरेको हो । एपीएफको जीतमा सावित्रा भण्डारी एक्लैले १२ गोल गर्दा कप्तान अनु लामाले ५, अनिता बस्नेतले ३ गोल गरे । यस्तै रेनुका नगरकोटी र सरु लिम्बुको नाममा एक/एक गोल रह्यो ।

प्रतियोगिताकै कमजोर टिम चौदण्डीविरुद्ध एपीएफले पहिलो १२ गोल गरेको थियो भने दोस्रो हाफमा दश गोल थपेर भारी अन्तरको जीत निकालेको हो । यो जारी लिगमा अहिलेसम्मकै सर्वाधिक गोल हो ।यस सँगै एपीएफले लगातारका ६ खेलमा स्पष्ट जीत निकाल्दै लिग तालिकामा शीर्षता कायम राखेको छ । एपिएफको १८ अंक भएको छ भने पराजित चौदण्डीगढी अंक तालिकामा अंक विहीन छ ।

लिग अन्तर्गत सोमबारकै पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले विराटनगर नगरपालिका मोरङमाथि ७-० को जीत निकाल्यो । आर्मीको जीतमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै बिमला चौधरीले दुई गोल गर्दा रश्मी घिसिङ र बिमला बिकले एक एक गोल गरिन् । विराटनगरविरुद्ध एकतर्फी जीत निकाल्ने क्रममा आर्मीले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा ४ गोल गरेको थियो । प्रतियोगितामा मंगलबार वालिङ नगरपालिका स्याङ्जा र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुनेछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button