नेपाल गोल्डेन आइडलको उपाधि सुमन र जेविकालाई

पोखरा न्यूज । सातौँ संस्करणको नेपाल गोल्डेन आइडलको उपाधि ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेविका रेउलेले जित्नुभएको छ । पोखरामा भएको अन्तिम प्रतिष्पर्धामा सुमनले गायनतर्फको र जेविकाले नृत्यतर्फको उपाधि जितेको कार्यक्रम निर्माता तथा गोल्डेन स्टार मल्टी मिडियाका निर्देशक सरन गुरुङले पोखरा न्युजलाई जानकारी दिनुभयो ।

प्रतियोगितामा गायन तर्फ संखुवासभाका मदन लिम्बु फस्ट रनर्सअप र खोटाङका किस्मत चाम्लिङ राई सेकेन्ड रर्नसअप बन्न सफल हुनुभयो । नृत्यतर्फ कैलालीकी नेहारीका बोहोरा फस्ट रर्नसअप, बाँकेकी मनिषा परियार सेकेन्ड रनर्सअप र काठमाण्डौकी आकृति पोखरेल थर्ड रर्नसअप घोषित हुनुभयो ।

गायनतर्फका ४ जना र नृत्यतर्फका पाँच जना बीच अन्तिम प्रतिष्पर्धा भएको थियो । फाइनल पुग्नेमा गायनतर्फ काठमाण्डौँकी सुजिता योञ्जन र नृत्यतर्फ झापाकी स्वस्तिका काफ्ले समेत रहनुभएको थियो । विजेतालाई गण्डकी प्रदेशका सासंद राजीव गुरुङ (दीपक मनाङ्गे), जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, गुरुङ फिल्मका कलाकार ताराबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभयो ।

गायन तथा नृत्यमा गरी यो प्रतियोगिताका लागि देशका विभिन्न ११ स्थानमा अडिसन भएको थियो ।

अडिसनमा गायन र नृत्यतर्फ गरेर ४ हजार ७ सय जना सहभागी भएको आयोजक गोल्डेन स्टार मल्टी मिडियाका निर्देशक सरन गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताको निर्णायकमा गायक तथा संगीतकार रामभक्त जोजीजु, विनोद बाँनिया, गुरुङ फिल्मकी निर्देशक जसु गुरुङ, कोरियोग्रफर निरुता गुरुङ र छेटौ संस्करणको विजेता सेविका कोइराला रहनुभएको थियो ।

युवा र्यापर टी सुनामीको रुपमा परिचित श्रीजल खनाल, छेटौ संस्करणको विजेता सेविका कोइरालासहित अनिषा श्रेष्ठ र रुविका श्रेष्ठको प्रस्तुतिसमेत फाइनल कार्यक्रमको आर्कषणको रुपमा रहेको थियो । यस अगाडि फाइनलमा पुगेका प्रतिष्पर्धिहरु देश दौडाहमासमेत निस्केका थिए । फाइनलमा पुगेका प्रतियोगिलाई देशव्यापी रुपमा परिचित गराउने उद्देश्यले अन्तिम प्रतिष्पर्धा अगाडि ‘फाइनलिष्ट लाइभ कन्र्सट एण्ड म्युजिकल टुर’ कार्यक्रम मार्फत देश दौडाह गरिएको गुरुङले बताउनुभयो । यसरी भएको कार्यक्रममा फाइनलिष्ट प्रतियोगीलाई स्थानीय कलाकारहरुले समेत साथ दिएका थिए ।

प्रतियोगिता आयोजना गर्नुको उद्देश्य लुकेर रहेको प्रतिभालाई उजागर गर्नु, उनीहरुलाई मञ्च प्रदान गरेर आम जनमानसमा प्रतिभालाई पुर्याउने रहेको आयोजकको भनाई छ । सातौ संस्करणको अडिसन २०७६ असोज ६ गतेबाट शुरु भएको थियो । ३६ जिल्लालाई सेन्टर बनाई गरिएको अडिसनमा ७७ जिल्लाकै प्रतियोगीको सहभागिता भएको आयोजकको दावी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button