छायाँकंनस्थलका लागि कास्कीकोटको उपल्लो क्षेत्र छनोट

फिल्म सिटीको आवश्यकता परिपूर्ति गर्ने विश्वास

पोखरा न्यूज । पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटको उपल्लो क्षेत्र छायाँकनस्थलको लागि छनोट भएको छ । नेपाल सरकारको एक प्रदेश एक छायाँकनस्थलको अवधारणा अनुसार गण्डकी प्रदेशको छायांकनस्थलका रुपमा कास्कीकोटको उपल्लो क्षेत्र छनोटमा परेको हो ।

गण्डकी प्रदेशमा ठाउँ छनोटका लागि चलचित्र विकास बोर्डका सह-सचिव महेन्द्र प्रसाद साँखीको संयोजकत्व एक अध्ययन समिति गठन गरिएको थियो । समितिको सदस्यमा किसान पोखरेल, माओत्से गुरुङ्, घनश्याम लामिछाने, सुरज आरडी, उत्तम द्धा, प्रदेशको आन्तरिक मामिला मन्त्रालयबाट खुबिराम पोखरेल रहनुभएको थियो । अध्ययन समितिको सचिवमा विकास बोर्ड सचिवालयका अधिकृत गिरिस शर्मा रहनुभएको थियो । अध्ययन समितिले गत आइतबार प्रतिवेदन चलचित्र विकास बोर्डमा बुझाएको छ । सातै प्रदेशमा ठाउँ छनोटका लागि अध्ययन समिति निर्माण भएपनि ठाउँ छनोट गरेर प्रतिवेदन बुझाउने प्रदेशमा गण्डकी प्रदेश पहिलो बनेको छ ।

समितिले कास्कीकोटको करिब ४ सय रोपनी क्षेत्रफलको जग्गा समग्र प्रदेशको छायांकलस्थलका रुपमा स्टुडियो बनाउन छनोट गरेको समितिका एक सदस्य घनश्याम लामिछानेले पोखरा न्यूजलाई जानकारी दिनुभयो । कास्कीकोट ऐतिहासिक महत्वको स्थल भएको तथा तहाँ छायाँकनस्थलको लागि आवश्यक पर्ने जग्गा एकैठाउँमा पाइएकोले छनोट गरिएको उहाँको भनाई छ । कास्कीकोटबाट रमणीय दृश्य नियाल्न पाइने, यातायात, सञ्चार, होटलको सुविधा समेत भएकोले गर्दा तहाँ छायाकंन स्थल बन्दा सहज हुने आफूहरुको निष्र्कष रहेको उहाँले बताउनुभयो ।

कास्कीकोट छनोट गर्न पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष ओम सुवेदीको सकारात्मक साथ महत्वपूर्ण बनेको उहाँले खुलाउनुभयो ।प्रतिवेदनमा छायाँकन स्थलको रुपमा सम्भाबित अन्य स्थलमा कालिकाको ठूलाकोट र बेगनासको बेगनासकोट राखिएको छ ।अध्ययन समितिका सदस्य सचिव गिरिस शर्माले २०, २५ वटा विशेषताका कारण कास्कीकोट छनोटमा परेको बताउनुभयो । ‘कास्कीकोट पहुँचको हिसाबले नजिकै, पूर्वाधार धेरै विकास भएको ठाउँ भएको, थप पूर्वाधार बनाउन खर्च कम लाग्ने, दृश्यको कुरै नगरौ, २०, २५ वटा विशेषता भएको हामीले पायौ’ शर्माले भन्नुभयो ।

चलचित्र विकास बोर्डको सचिवालय हेर्ने अधिकृत समेत रहनुभएका शर्माले सबै प्रदेशको प्रतिवेदन आएपछि एकैसाथ सातै प्रदेशको छायाँकंन स्थल घोषणा हुने बताउनुहुन्छ । ‘सबै प्रदेशको प्रतिवेदन आएपछि घोषणा हुन्छ । प्रतिवेदन तयार पार्नेमा गण्डकी प्रदेश पहिलो भएको छ । प्रदेश २ मा समेत लगभग टुंगोमा पूग्न लागिएको छ’ उहाँले भन्नुभयो । फागुन दोस्रो हप्तासम्म सबै प्रदेशको छायाकंन स्थल छनोट गरेर प्रतिवेदन आइसक्ने उहाँले जनाउनुभयो । छायाकंन स्थलको छनोट गर्ने कार्य प्रदेशको गौरवको आयोजनाको रुपमा विकास गर्ने उद्देश्यले सरकारले ल्याएको उहाँको भनाई छ ।

अध्ययन समितिका सदस्य माओत्से गुरुङले कास्कीकोटले छायाकंनको लागि चाहिने स्थलको परिपूर्ण गर्ने बताउनुहुन्छ । ‘हामीलाई करिब ४ सय रोपनी जग्गा स्टुडियो निर्माणका लागि चाहिने, यातायात सुलभ रहोस्, बत्ति, पानी, बस्नको लागि ठाउँ होस्, गाउँले वातावरण आदि कारणले कास्कीकोट उपयुक्त भयो’ उहाँले भन्नुभयो ।

पोखरा आफैमा प्राकृतिक स्टुडियो भएकोले आजको आजै नभएपनि यसलाई चरणवद्ध रुपमा अगाडि बढाउन सक्ने हो भने फिल्म सिटीको आवश्यकता यसले परिपूर्ति गर्ने गुरुङ फिल्म एशोशिएसन नेपालका संस्थापक अध्यक्ष समेत रहनुभएका गुरुङले बताउनुभयो ।
अध्ययन समितिका अर्का सदस्य किसान पोखरेलले बोर्ड मात्र टाँस्नुभन्दा वास्तविक छायाकंन स्थलको रुपमा प्रयोग होस् भन्ने हेतुले कास्कीकोट छनोट गरिएको बताउनुभयो ।‘कास्कीका कुनै टाढा गाउँमा गएर बोर्ड मात्र टाँस्नु भन्दा पोखराको सेरोफेरोमका भए सुटिङको लागि मात्र नभएर, हेर्नको लागि समेत जान खोज्नेहरु हुने भएकोले यो ठाउँ छनोट गरिएको हो’ पोखरेलले भन्नुभयो ।

फिल्म सिटी बन्दै गरेको दोलखाको डाङ्डुङे डाँडा भन्दा यो ठाउँको आर्कषण बढी हुने उहाँको दावी छ । दोलखाको डाङ्डुङे डाँडामा १५ सय रोपनीमा फिल्म सिटी बन्दैछ, कास्कीकोटमा २५ सय रोपनी जग्गा उपलब्ध गराइएको छ । जसको ४ सय रोपनीमा पुर्वाधार मात्र बनाइने छ’ उहाँले भन्नुभयो ।छायाकंन स्थलका कारण तहाँ रिर्सोट, होम स्टेको विकास हुने उहाँको भनाई छ । वडाबाट समेत प्रत्तिवद्धता आएकोले पूर्वाधार निर्माणमा सहजता हुने उहाँले खुलाउनुभयो ।

चलचित्र विकास बोर्डका पूर्व सदस्य शिवजी लामिछाने कास्कीकोटलाई छायाकंन स्थल तोक्नु उपयुक्त रहेको बताउनुहुन्छ । ‘कास्कीकोटलाई प्रदेशको हिसाबले डेस्टिनेसन भनेर तोकिएको हो, अरु प्रदेशमा छनोट भइसकेको छैन, छनोट गर्न गाह्रो भएको छ, असाध्यै उपयुक्त ठाउँमा छनोट भएको छ’ लामिछानेले भन्नुभयो ।

कास्कीकोट प्रदेशको छायाकंन स्थल मात्र नभएर पोखरेलीले भन्दै आएको फिल्म सिटीको रुपमानै सञ्चालनमा आउनसक्ने उहाँको दावी छ । बोर्डका पूर्व सदस्य लामिछानेले भन्नुहुन्छ-‘प्रदेशले अलिकति विकास ग¥यो, संघले अलिकती बजेट दियो भने त्यो प्रदेशको मात्र हुँदैन सोतह राष्ट्रियनै बनिहाल्छ, प्रदेशले तत्कालै अलिअलि संरचना निर्माण गरिदिनुपर्छ । फिल्मकर्मीले समेत त्यहाँ सुटिङगर्न जाने, प्रचार प्रसार गर्ने गरियो भने स्थापित हुन्छ, हामीले खोजेकै फिल्मसिटीनै हुन्छ । त्यो आकार लिन्छ ।’ सरकारले सबै प्रदेशमा छायाकंन स्थल खोज्नु सकारात्मक भएको उहाँले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button