दोहोरो जिम्मेवारी नलिन प्रतिष्ठान अध्यक्ष रमेश विजीको आग्रह

राष्ट्रिय रनिङशिल्ड दोहोरी गीत प्रतियोगिता पोखरामा हुने सम्भावना

पोखरा न्यूज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले दोहोरो जिम्मेवारी नलिन प्रतिष्ठानमा आवद्ध केन्द्र, प्रदेश र जिल्ला प्रतिष्ठानका कलाकार समक्ष आग्रह गर्नुभएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष विजीले यो आग्रह गर्नुभएको हो । व्यवहारमा लोकदोरी गीत प्रतिष्ठान नेपाललाई काउन्टर दिन खोलिएका जस्तो देखिएका केही संघसंस्थामा लोकदोहोरी प्रतिष्ठान नेपालमानै आवद्ध भएका सदस्य हुँदा समस्या हुन थालेको उहाँको भनाई थियो । उस्तै प्रकृतिका दूई संस्थामा नलागेर कुनै एउटा मात्र संस्था रोज्न उहाँको आग्रह छ ।

‘लोक संगीतको जगर्ने जसले गरेपनि नराम्रो कुरा हैन तर, हामीले गरेको काममा बाधा पु¥याउने अप्ठ्यारो पार्ने, हामीलाईनै फुटाउने र हामीले गरेका कार्यक्रमलाई भाजो हाल्ने किसिमले अगाडि बढ्न खोज्नेलाई निरुत्साहित पार्नुपर्छ’ अध्यक्ष विजीले भन्नुभयो । जिल्ला प्रदेशमा मात्र नभएर केन्द्रिय समितिमाा रहेका केही साथीहरुले दोहोरो भुमिका निर्वाह गरेको पाइएको उहाँको दावी छ ।

‘हार्दिकताका साथ आग्रह गर्छु कि यताबाट विदा माग्नुप¥यो, कि उताबाट विदा मागेर यता आउनुप¥यो’ उहाँले आग्रह गर्नुभयो । दोहोरो जिम्मेवारीलाई निरुत्साहित पार्न केन्द्रले काम गरिरहेको उहाँको भनाई थियो । अब प्रदेशदेखि जिल्लासम्मका अध्यक्षले मौखीक तथा लिखित रुपमा दोहोरो जिम्मेवारी नदिनका लागि आग्रह गर्दै काम गर्न उहाँको निर्देशन थियो । ‘दोहोरो भुमिकामा रहँदा दुवै संस्थालाई असर पार्छ, त्यसैले जता तपाईंहरुलाई सहज हुन्छ त्यतातिर लाग्नुहोस भनेर भनौ’ अध्यक्ष विजीले भन्नुभयो ।

अवसर नपाएका साथीहरु अर्को संस्थामा गएर हामीले गरेउ भनेर देखाइरहनुभएको छ । यता अवसर नपाउने उता जाने, उता अवसर नपाउने यता आँउछन्, त्यो बानी हो । अवसर मात्र खोज्ने मानिसले अवसर पाएन भने त्यहाँबाट निस्कन्छ । यसमा हामी सचेत हुनुपर्छ । हामी विचलित हुनुपर्ने कुनै कारण छैन । संघसंस्था खोल्नु नराम्रो भने नभएको उहाँको प्रष्टोक्ति छ । व्यक्तिसँग रिस उठ्यो भनेर संस्थालाई कमजोर पार्न खोज्नु गलत हुने तर्क उहाँले गर्नुभयो ।

सपार्ने कुरामा गरिएका सबैका सल्लाहलाई मान्ने तर विर्गाने कुरामा गरिएका कुनै पनि काम सह्य नहुने उहाँको चेतावनी उहाँले दिनुभयो । संस्थालाई समस्या पार्ने कार्यको सबै मिलेर प्रतिकार गर्नुपर्नेमा अध्यक्ष विजीको जोड छ ।

अध्यक्ष विजीले फागुन २९ गते आफ्नो स्थापना दिवस मनाउने बताउनुभयो । गत वर्षबाट यो दिवस मनाउन थालिएको हो । ‘स्वस्थ जीवनका लागि स्वस्थ संगीत’ भन्ने नाराका साथ यो वर्ष मनाइदैछ । यो दिवस देशव्यापी मात्र नभएर विदेशका शाखामा समेत मनाइनेछ । स्वस्थ संगीत सुन्यो भने जीवन स्वस्थ हुन्छ भन्ने सन्देश यसपाली दिन खोजिएको उहाँले प्रष्ट्याउनुभयो । भाइरलका लागि, चर्चाका लागि मात्र गीत गाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उहाँको तर्क छ । दिवसको अवसरमा केन्द्रमा रक्तदान तथा स्वास्थ्य शिविर आयोजना हुनेछ । यसका अलावा प्रदेश, जिल्ला तथा विदेशमा रहेका शाखाले समेत कार्यक्रम गर्नेछ ।

कार्यक्रममा बोल्दै अध्यक्ष विजीले दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गर्दै आएको राष्ट्रिय रनिङशिल्ड दोहोरी गीत प्रतियोगिता यो वर्ष पोखरामा गर्ने तयारी भएको खुलाउनुभयो । यो प्रतियोगीता चैत्रको अन्तिम साता गर्ने तयारी छ । ‘गएको वर्ष बुटबलमा ग¥यौ, यो वर्ष पोखरामा गर्ने तयारी हो तर औपचारिक निर्णय हुन बाँकी छ, प्रायोजकको छनोट पनि पोखरा हो’ उहाँले भन्नुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले स्थापना कलाकार कल्ष्याणकारी कोषबाट प्राप्त हुने व्याज कलाकारलाई समस्या पर्दा सहयोगमा मात्र नभएर अब कलाकारको वृत्ति विकास तथा लोक दोहोरी क्षेत्रको विकासको लागि अन्र्तक्रिया, गोष्ठी, छलफल तथा शिक्षा र स्वास्थ्यको कार्यक्रमा खर्च गरिने तयारी गरेको बताउनुभयो । त्यसको लागि केन्द्रबाट रकम विनियोजन गरेर सबै प्रदेशमा पठाइने र प्रदेशले अन्र्तक्रिया, गोष्ठी लगायतका कार्यक्रम गर्ने उहाँको भनाई थियो । यसको लागि केन्द्रीय समितिले निर्णय गरिसकेको उहाँले खुलाउनुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दोहोरी गीत प्रतियोगीतलाई खेलको रुपमा समावेश गर्ने निश्चित भएको बताउनुभयो । दोहोरी खेललाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले आश्वासन दिइसकेको उहाँको दावी छ ।

सोही कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराको आयोजनामा हुने प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगीता २०७७ को जुरी निर्णायक कमिटी र प्राविधिक निर्णायक कमिटीलाई जिम्मेवारी हस्तान्तरण गरियो । प्रतिष्ठान गण्डकीका अध्यक्ष गुरुङले सबै निर्णायकलाई जिम्मेवारी प्रदान गरिएको पत्र मार्फत जिमेवारी हस्तान्तरण गर्नु भएको हो ।
प्रतियोगिताको मुख्य निर्णायकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी हुनुहुन्छ । यसैगरी जुरी निर्णायकको संयोजकमा प्राज्ञ प्रजापति पराजुली रहनुभएको छ । सदस्यमा पुरुषोत्तम न्यौपाने र शान्ति गुरुङलाई जिम्मेवारी दिइएको छ ।

प्राविधिक निर्णायक टिमको संयोजकमा प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल र सहसंयोजकमा प्रतिष्ठानका गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष शंकर बिरही गुरुङ रहनुभएको छ । प्राविधिक निर्णायक टिमको सदस्यमा सरला पान्डे, तारानाथ आचार्य, चोलेन्द्र पौडेल, तारापति सुबेदी र पार्वती जिसी रहनुभएको छ ।

फागुन २० गते भित्र जिल्लामा प्रतियोगिता सम्पन्न गरेर विजेता टिम फाइनल प्रतिष्पर्धाका लागि प्रदेशमा दर्ता गराउनुपर्ने सयम सीमा तोकिएको छ । यसरी जिल्लाबाट प्रतियोगितामा भाग लिने कलाकार सम्बन्धित जिल्लाकोनै हुनुपर्नेछ । जिल्लाले सिफारिस गर्दा कलाकारको नागरिकताको फोटोकपीसमेत संग्लन गर्नुपर्ने अनिवार्य गरिएको छ । जिल्लाबाट आएको प्रतियोगी तथा प्रदेशको एक टिम गरेर कूल १० टिम बीच फागुन २५ गते भित्र प्रदेशले क्वाटर फाइनल खेल सम्पन्न गर्नेछ ।

यसरी क्वाटर फाइनलमा प्रतिष्पर्धा गर्नेमा कास्की, तनहुँ, लमजुङ, स्याङजा, बागलुङ, पर्वत, म्याग्दी, गोरखा र नवलपुर जिल्लाबाट विजेता बनेको टिम तथा गण्डकी प्रदेशको एक टिम हुनेछन् । गण्डकी प्रदेशको मुस्ताङ र मनाङ जिल्लाले भने सहभागिता नजनाउने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

यस अगाडि बृहत लोक सांस्कृतिक महोत्सवको रुपमा हुँदै आएको कार्यक्रमलाई गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको विशेष सहयोगमा प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता हुन लागेको हो ।जिल्ला-जिल्लामा प्रतियोगिता संचालन गर्न आवश्यकताका आधारमा प्रदेश समितिले २५ हजार सम्म आर्थिक सहयोग गर्ने प्रदेश समितिले निर्णय गरेको छ ।लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना दिवसको अवसर पारेर फागुन २९ गते सेमीफाइनल र फाइनल प्रतिष्पर्धा गराई सोही दिन पुरस्कार वितरणसहितको समापन कार्यक्रम गर्ने आयोजकको तयारी छ । फाइनल कार्यक्रम पर्यटन बोर्ड पोखराको हलमा आयोजना हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । यसैगरी द्धितीय हुने टिमलाई ७७ हजार ७ सय ७७ रुपैयाँ, तृतीय हुने टिमलाई ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वना हुने टिमलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ । यसका साथै पुरुष तर्फ उत्कृष्ट गायक घोषित हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र महिला तर्फ उत्कृष्ट घोषित हुने गायिकाले ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार स्वरुप पाउनेछन् ।

अन्नपूर्ण रेष्टुरेन्ट एन्ड लाउन्जबार मुस्ताङचोकमा आयोजित कार्यक्रममा प्रतिष्ठानमा कलाकार जीवन दाहाल र दिलीप गायक पोखरा प्राज्ञ प्रतिष्ठानको सदस्यमा चयन भएको भन्दै केन्द्रीय अध्यक्ष विजीले कार्य सफलताको शुभकामनासहित सम्मान गर्नुभयो ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button