फिल्मी क्षेत्रमा फराकिलो परिचय बनाउने मन छ : ताराबहादुर गुरुङ

नेपाली फिल्मकर्मीले मौलिकतालाई ध्यान दिनुपर्छ

पोखरा न्यूज सम्वाददाता । गुरुङ फिल्मी क्षेत्रमा स्थापित बनेको नाम हो ताराबहादुर गुरुङ । उहाँको जन्म स्याङ्जा जिल्लाको दरौँ सिरुवारीमा भएको हो । हाल उहाँ पोखराको रानीपौवामा बस्नुहुन्छ । सानैदेखि अभिनयमा रुचि राख्ने उहाँको अभिनयको यात्रा टेलिफिल्मबाट सुरु भएको हो । उहाँको फिल्मी यात्रा ‘एउटा घरको व्यथा हैन’ भन्ने गुरुङ फिल्मबाट बाट सुरु भयो । हालसम्म झण्डै दुई दर्जन गुरुङ फिल्ममा अभिनय गरेर आफ्नो बेग्लै परिचय बनाउन सफल हुनुभएको छ । गुरुङ फिल्ममा मात्र नभएर नेपाली फिल्म अग्निदहन र किडन्यापमा समेत उहाँको अभिनय हेर्न पाइन्छ । उहाँको अभिनय रहेका म्युजिक भिडियो समेत दर्शकको रोजाइमा पर्ने गरेका छन् ।

अभिनयको क्षेत्रमा मात्र नभएर संस्कृतिको क्षेत्रमा समेत उहाँको क्रियाशिलता तारिफयोग्य छ । उहाँले पोखरामा लालिगुँरास सांस्कृतिक पोशाक केन्द्र सञ्चालन गर्नुभएको छ । जहाँ विभिन्न सांस्कृतिक भेषभुषा पाइन्छ । २०४८ सालमा १ लाख रुपैयाँबाट सूरु भएको यो व्यवसायमा अहिले ५ करोड रुपैयाँ भन्दा बढी लगानी भएको छ । उहाँलाई व्यवसायमा श्रीमती लक्ष्मी गुरुङको साथ महत्वपूर्ण बन्ने गरेको छ । आफ्नो समुदायमा लाहुरे हुने चलन भएपनि उहाँले लाहुरे हुन ध्यान दिनुभएन । स्वदेशमा नै केही गर्ने दृढ इच्छाशक्तिका कारण कला र संस्कृतिको क्षेत्रमा उहाँ लाग्नुृभयो । कला तथा संस्कृतिको क्षेत्रका विभिन्न पुरस्कार र सम्मान उहाँले पाउनुभएको छ । यसपाली हामीले ताराबहादुर गुरुङसँग फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाई फिल्म कतिको हेर्नुहुन्छ ?
मैले फिल्म हेर्छु । मेरो सानैबाट फिल्म हेर्ने बानी थियो ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
गाउँमा रहँदा ठूला ठूला डेकमा हेरिन्थ्यो । विजुली नभएर जेनेरेटर लगाइन्थ्यो । ५, १० रुपैया उठाएर डेक ल्याइन्थ्यो । अहिले पो गाउँमा बत्ति पुग्यो बाटो पुग्यो त्यो बेला त अन्धकार नै थियो । पछि टिभीमा पनि हेरियो । त्यसपछि हलमा बढी हेरे । मोबाइलमा भने मैले खासै हेर्दिन ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभुती कस्तो हुन्छ ?
फिल्म हेर्न हलमा नै धेरै मज्जा हुन्छ । हलमा ठुलो पर्दा भएकोले अनुभूति रमाइलो हुन्छ । घरमा टिभीमा हेर्दा त्यस्तो रमाइलो हुँदैन । बरु सानोमा गाउँमा डेकमा हेर्न पाउँदा खुशी लाग्थ्यो ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
५, १० रुपैया उठाएर डेक लगेर जेनेरेटर लगाएर गाउँमा फिल्म हेरियो । अलि ठूलो भएपछि स्याङ्जा दरौँ सिरुवारीबाट कहिले साथीसहित कहिले एक्लै फिल्म हेर्न पोखरा आइथ्यो । त्यतिबेला टिकट काट्न निकै गाह्रो हुन्थ्यो । किनकी फिल्म हेर्ने दर्शकको भिड बढी हुन्थ्यो । मानिस धेरै हल कम भएको कारण ठेलमठेल गरेर टिकट काट्नुपर्ने बाध्यता थियो । टिकट पाउँदा के के न पाए जस्तो हुने थियो । पैसा बढी तिरेर ब्ल्याकमा टिकट काटेर समेत धेरै पटक फिल्म हेरियो ।

त्यतिबेला घरमा अहिलेजस्तो हेर्ने सुविधा थिएन । सोही कारण हलमा गएर फिल्म हेर्न निकै उत्साहित हुने थिए । गाउँबाट पोखरा फिल्म हेर्न पोखरा आएर उही दिनमा फर्कन सम्भव हुने थिएन । फिल्म हेर्न पोखरा आउँदा बास बस्नुपथ्यो । पोखरामा आफन्तहरु कमै मात्रामा हुनुहुन्थ्यो । जसोतसो उहाँहरुकोमा बसिन्थ्यो । पैसा जम्मा गर्न समेत सजिलो थिएन, अलि गाह्रै हुन्थ्यो । तर जसोतसो जम्मा गरेर आइन्थ्यो ।

पहिलो पटक फिल्म हेर्दानै ब्ल्याकमा टिकट काट्नु परेको थियो । ठेलमठेल गरेर टिकट काट्न खोजे । टिकट नपाएर फिल्म हेर्न पाइन्न कि भन्ने मनमा आउँदै गर्दा ब्ल्याकमा नै भएनि टिकट काटेर फिल्म हेर्न पाउँदा साह्रै खुशी लागेको थियो । फिल्म हेर्न पोखरा आउँदा घुमफिर समेत गरेर गाउँमा फर्किन्थे । सो समयमा सबै मानिस गाउँमा नै थिए । अहिले बरु खासै छैनन् । फिल्म हेरेर गाउँमा गएर फिल्मका कहानी भन्दा झनै रमाइलो हुन्थ्यो ।

हलमा हेरेको पहिलो फिल्म ?
मैले हेरेको पहिलो नेपाली फिल्म ‘सिन्दुर’ हो । यो फिल्म कल्पना सिनेमा हलमा हेरेको थिए । हिन्दीमा ‘हर हर महादेव’ हो ।

मनपर्ने फिल्मी कलाकार ?
मलाई मनपर्ने कलाकार शिव श्रेष्ठ र शर्मिला शाह हुनुहुन्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
नेपाली फिल्मको सकारात्मक पक्ष भनेको मौलिकता हो । विगतमा फिल्म मौलिकतामा जोड दिएर निर्माण गरिन्थ्यो । फलस्वरुप फिल्मले मानिसको मुटुमा छुन्थ्यो । एकपटक हेरेपछि झल्को आइराख्ने हुन्थ्यो ।

सुधार गर्नुपर्ने पक्ष ?
पहिलाको जस्तो फिल्म अहिले बनेका छैनन् । अहिले नेपालीपन भित्र घुसेजस्तो लाग्दैन । पश्चिमेलीपना बढेको छ । बाहिरी हावाले नेपाली फिल्मलाई छोएको छ । फाटेको पाइन्ट लाएर सुटिङ गरेको छ । हाम्रो मौलिकता घुसे जस्तो लाग्दैन । आफ्नौ मौलिकपन राख्नुपर्ने हो । पहिलाका इतिहास हामीले पढ्छौ र  तिनमा फिल्म बनेको पाइदैन । पृथ्वीनारायण शाह, भिमसेन थापा, विर बलभद्र कुँवर आदिको इतिहास पढ्दा हामीलाई आनन्द लाग्छ । अब त्यस्तो विषयमा फिल्म बन्नुपर्छ । सबैभन्दा मुख्य कुरा त नेपाली फिल्मकर्मीले मौलीकतालाई ध्यान दिए हुने थियो ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
फिल्म हेर्दा अभिनय गर्ने रहर हुने गथ्र्यो । त्यसैले त म कलाकार हुन पुगे । अहिले गुरुङ फिल्मको महानायकको परिचय दर्शकले दिनुभएको छ । सबैको सपना पूरा हुँदैन सपना जे सोचेको थिए पूरा भयो खुशी लागेको छ ।

तपाईको फिल्म यात्रा शुरु भयो ?
मेरो अभिनयको यात्रा नविन सुब्बाले निर्देशन गरेको टेलिफिल्मबाट सुरु भयो । फिल्मी यात्रा ‘एउटा घरको व्यथा हैन’ भन्ने गुरुङ फिल्मबाट बाट सुरु भयो । हालसम्म झण्डै दुई दर्जन गुरुङ फिल्ममा अभिनय गरे । यसका अलावा नेपाली फिल्म अग्निदहन र किडन्यापमा समेत अभिनय गरेको छु । अहिले केही फिल्मबाट अफर आएको छ । केही म्युजिक भिडियोमा अभिनय समेत गरे । दर्शकको साथ सर्पोट पाइरहेको छु । अब पुनः सक्रियता बढाउँछु ।

तपाईको अबको योजना ?
कला संस्कृतीको क्षेत्रमा नै केही गरौ भन्ने छ । दर्शकको अगाडि कला क्षेत्रबाटनै प्रस्तुत भइराखौँ भन्ने योजना हो ।

गुरुङ फिल्म किन हेर्ने ?
फिल्मले सन्देश बोकेको हुन्छ । भाषा संस्कार सस्कृती सम्बन्धी ज्ञान प्राप्ति हुन्छ । साथमा मनोरञ्जन समेत पाइन्छ । मौलिकतामा ध्यान दिएर निर्माण गरिने भएकोले समेत गुरुङ फिल्म हेर्नुपर्छ ।

फिल्मी क्षेत्रतपर्फ थप योजना बनाउनुभएको छ ?
फिल्म क्षेत्रबाट अझै फराकिलो परिचय बनाउन पाए भन्ने मनमा छ । अवसर आए नेपाली र गुरुङ फिल्ममा अभिनय गर्नेछु । आफैले बनाउने बारेमा भने सोचेको छैन ।

अन्त्यमा के भन्नुहुन्छ ?

दर्शकले जसरी माया गर्नुभएको छ यसबाट म खुशी छु । आगामी दिनमा समेत यसरी नै माया पाउने आशा छ । जसको लागि म क्रियाशील समेत हुनेछु । यो अवसरको लागि तपाईलाई धेरै धन्यवाद ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button