‘व्युटि कन्टेष्ट’मा भाग लिएर उदाएकी अनुता

गुरुङ फिल्ममा स्थापित, अब नेपाली फिल्ममा काम गर्ने रहर

पोखरा न्यूज सम्वाददाता । पोखराको जनप्रिय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहँदा अनुता गुरुङले ‘ट्युसन’ पढ्नुहुन्थ्यो । ‘टेष्ट’ परीक्षा नजिकिदै गरेकोले समेत उहाँको ध्यान अध्ययनमा नै केन्द्रित थियो । ‘ट्युसन’ पढाउने शिक्षकले पोखरामा ‘व्युटि कन्टेष्ट’ हुँदैछ तिमीले भाग लेऊ, किनकि तिमी ‘ट्यालेन्ट’ छौं भनेर भन्नुभयो । ‘टेष्ट’को तयारी त्यसपछिको फलामे ढोकाको रुपमा रहेको प्रवेशिका परीक्षामा समेत असर पर्ने ठानेर उहाँले त्यसलाई अस्वीकार गर्नुभयो । ‘हुन्न भो, परीक्षा आउँदैछ गर्दिन’ उहाँको उत्तर थियो । तर उहाँका साथीहरुले शिक्षक कै प्रस्तावलाई मद्दत पुग्ने गरी भाग लिन नै सुझाए । साथीहरु कै यस्तो सल्लाह आएपछि उहाँलाई सोच्न बाध्य बनायो । स्कुलमा अध्ययन गर्दा नाच्ने अभिनय गर्ने गरेकोले साथीहरु तथा शिक्षकले उहाँलाई अगाडि बढ्न हौसाएका थिए ।

अब ‘व्युटि कन्टेष्ट’मा भाग लिने कुरा घरमा भन्नुपर्ने भयो । परीक्षाको तयारीमा रहँदाको बेलामा घरबाट स्वीकृत पाउन सजिलो उहाँलाई लागेन । अप्ठ्यारो मानी–मानी घरमा उहाँले मुख खोल्नुभयो । ‘मैले घरमा डराई–डराई व्युटि तथा ट्यालेन्ट कन्टेष्टमा भाग लिन्छु भने, घरबाट तलाई गर्न मन छ भने गर भन्दै प्रस्तावमा स्वीकृति पो मिल्यो, अनि प्रतियोगीतामा भाग लिए’ उहाँले भन्नुभयो । यसरी पहिलोपटक ‘व्युटि तथा ट्यालेन्ट कन्टेष्ट’मा भाग लिनुभएकी उहाँले निकै मेहनत गर्नुभयो । फलस्वरुप सो प्रतियोगीताको उपाधि जित्न सफल हुनुभयो । प्रतियोगीताको नाम ‘स्विट लिटिल लेडी–२००८’ थियो । स्कुलस्तरीय व्युटि तथा ट्यालेन्ट प्रतियोगीताको यो उपाधि जितेपछि उहाँको क्षमता विकास मात्र नभएर मोडलिङ क्षेत्रको यात्रा सुरु गर्न सघायो ।

त्यसो त उहाँलाई कुनै हिरोइनलाई टिभीमा देख्दा म पनि हिरोइन बन्न पाए यसरी नै टिभीमा देखिन्थे भन्ने सोच बाल्यकालदेखि नै आउथ्यो । पत्रिकामा अरुका फोटो देख्दा मेरो पनि आइदिए हुन्थ्यो भन्ने रहर उतिकै हुन्थ्यो । आफ्नो रहरहरु पूरा होलान् भन्नेमा विश्वास भने थिएन । प्रतियोगीताको उपाधि जितेपछि भने उहाँका रहरले मुर्तरुप लिन थाले ।

प्रवेशिका परीक्षा दिएपछि उहाँलाई फोटो सुटको अफर आयो । फोटो सुट पछि उहाँलाई झनै अवसरहरु आउन थाले । उहाँले म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनुभयो । कृष्ण कुमार गुरुङको ‘माया गर्छु’ भन्ने गीतमा अभिनय गरेर म्युजिक भिडियो क्षेत्रको यात्रा सुरु भयो । जुन यात्रा निरन्तर जारी छ । हालसम्म गुरुङ गीत र नेपाली गीत गरेर झण्डै दुई दर्जन म्युजिक भिडियोमा उहाँले काम गरिसक्नुभयो ।

पोखरामा आयोजना हुने ‘फेसन सो’ कार्यक्रममा र्‍याम्पमा उत्रदै दर्शकको ध्यान तानेको अनुभव उहाँसँग छ । ‘पोखरामा आयोजना हुने धेरै फेसन सो मा भाग लिए । अहिले पहिलाको जस्तो फेसन सो पोखरामा हुँदैन । त्यतिबेला धेरै फेसन सो हुने हुन्थ्यो, दर्शकले सर्पोट गर्नुहुन्थ्यो’ उहाँ भन्नुहुन्छ ।

गुरुङ फिल्मतर्फको यात्रा सुरु भएपछि उहाँको व्यस्तता झनै बढ्यो । माओत्से गुरुङको निर्देशनमा बनेको फिल्म ‘चोखो माया’मा अभिनय गरेर गुरुङ फिल्म क्षेत्रमा डेब्यु भएको थियो । उहाँले हालसम्म डेढ दर्जन बढी गुरुङ फिल्ममा अभिनय गरिसक्नुभएको छ । जसका कारण उहाँको परिचय फराकिलो बनेको छ । कलाकार भएकोले राम्रो फिल्म, राम्रो म्युजिक भिडियोको अवसर आए निरन्तर काम गर्ने योजना उहाँले बनाउनुभएको छ ।

उहाँको यो क्षेत्रमा देखेको सपना भनेको प्रगति गर्दै सबै माझ स्थापित बन्दै जाने भन्ने नै हो । ‘म अझै सिक्दैछु, राम्रो कलाकार बनेर सबैले चिन्ने बन्ने लक्ष्य छ’ उहाँले भन्नुभयो ।

गुरुङ फिल्ममा अभिनयको माध्यमबाट स्थापित बन्नुभएकी नायिका अनुतालाई अब भने नेपाली फिल्ममा काम गर्ने रहर छ । माओत्से गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘दयारानी’मा उहाँलाई अफर आएको थियो । फिल्मको लागि फोटो सुट पनि गर्नुभयो । पछि समय नमिलेर यो फिल्ममा उहाँले काम गर्नुभएन । यसरी नेपाली फिल्ममा डेब्यु गर्ने सुन्दर मौका उहाँले गुमाउनुभयो । अहिले यो सम्झेर उहाँलाई दुःख लागेको छ ।

उहाँ भन्नुहुन्छ–‘मलाई नेपाली फिल्म दयारानीमा अफर आएको थियो । निर्देशक माओत्से गुरुङले दयाहाङ राईको जोडी भएर खेल्ने अफर गर्नुभएको थियो । फिल्मको लागि हल्का फोटो सुट समेत भएको थियो । पछि समय नमिलेर खेल्न पाइन । अहिले दुःख लागेको छ । दयारानी फिल्म मेरो आफ्नै समय नमिलेर क्यान्सिल भयो ।’

एउटा कलाकार भइसकेपछि सबै खालको अभिनय गर्नुपर्ने हुन्छ । गुरुङ फिल्म भन्दा नेपाली फिल्मको दायरा फराकिलो छ । सोही कारण नेपाली फिल्मका निखारिएका कलाकारसँग फिल्म खेल्न पाए आफ्नो क्षमता बढ्ने मात्र नभएर आफ्नो कला देखाउन समेत पाइन्थ्यो भन्ने उहाँमा छ । नेपाली फिल्मको अवसर करियरका लागि ‘प्लसपोइन्ट’ हुन्थ्यो ।

गुरुङ फिल्म हेर्ने दर्शकलाई त मेरो अभिनय, नृत्य कस्तो छ भनेर थाहा छ । अब मेरो क्षमता गुरुङ समाजभन्दा बाहिरका धेरै दर्शकलाई देखाउदै मन जित्ने रहर हो । गुरुङ फिल्मभन्दा बाहिरका अन्य फिल्ममा काम गर्‍यो भने राम्रो हुन्छ जस्तो लाग्छ । मलाई दर्शक तथा शुभचिन्तकको सुझाब समेत नेपाली फिल्ममा प्रयास गर्नू भन्ने भएकोले नोपली फिल्ममा अवसर आए अभिनय गर्ने तयारी रहेको उहाँले खुलाउनुभयो ।

उहाँलाई फिल्म हेर्न असाध्यै मनलाग्छ । नेपाली, हिन्दी, गुरुङ लगायतका फिल्म हेर्ने गर्नुहुन्छ । हलमा दर्शकको भिडमा फिल्म हेर्दाको मज्जा बेग्ले हुने उहाँको अनुभव छ । दर्शकको सामु हेर्दा नजिकै रहेका दर्शकले कसरी हेरेका छन् ध्यान दिन पाइन्छ । अझ आफ्नै फिल्म दर्शकको माझमा बसेर हेर्दा प्रतिक्रिया कस्तो छ थाहा पाउन सकिन्छ । हाँस्ने ठाउँमा हाँस्ने, रुने ठाउँमा रुने गरे भने आनन्द आउँछ । जसले गर्दा फिल्ममा मैले राम्रो गरेको रहेछु भन्ने महसुस हुन्छ । फिल्म हेर्र्दा दर्शकको अनुहारमा कस्तो फिडब्याक छ त्यो पनि हेर्ने बानी उहाँको छ ।

फिल्म क्षेत्रको मानिस भएकोले कस्ले कस्तो गर्‍यो भनेर समेत सबै खालका फिल्म हेर्नुपर्छ भन्ने मान्यता उहाँको हो । फिल्मले सन्देश पनि दिन्छ । फिल्मले के भन्न खोजेको छ, फिल्म कस्तो बनेको छ भनेर समेत फिल्म हेर्ने उहाँ गर्नुहुन्छ ।

हलमा मात्र नभएर घरमा रहदा समेत फिल्म हेर्नुहून्छ । घरमा प्रायः मोबाइलमा युट्युब मार्फत समेत उहाँ फिल्म हेर्नुहुन्छ । घरमा एक्लै हेर्दा हलको जस्तो मज्जा त हुँदैन ।

अनुताको जन्म पोखराको रत्नचोकमा भएको हो । बाल्यकालदेखिनै फिल्म, नृत्य तथा गायन क्षेत्रमा उहाँको रुचि थियो । नाच्ने गाउने रमाउने बानी थियो । सानैदेखि फिल्म हेर्थे । सानैदेखिबाटको बानीले होला अहिले फिल्म क्षेत्रमा लागे । नेपाली फिल्म ‘पकेटमार’ ममीसँग गएर हलमा हेरेका स्मरण उहाँसँग ताजै छ ।

आफुले अभिनय गर्न थालेपछि उहाँले झनै बढी फिल्म हेर्न थाल्नुभएको हो । ‘फिल्म बुझ्नको लागि बढी हेरे । फिल्म हेर्दा कलाकारले कस्तो अभिनय गरेको ध्यान दिन्छु । फिल्म हेर्दा सिक्ने मौका पाइन्छ । अहिले बढी हेर्छु । हेर्न मन लाग्छ’ उहाँले थप्नुभयो ।

उहाँलाई अभिनेत्रीहरु केकी अधिकारी, सपना गुरुङ, प्रतिक्षा गुरुङको अभिनय मनपर्छ । नेपाली फिल्म गुरुङ फिल्मकोभन्दा बढी दर्शकमाझ पुग्ने भएकोले उहाँलाई नेपाली फिल्ममा काम गर्न मन लागेको हो ।
उहाँ भन्नुहुन्छ–‘गुरुङ फिल्म बढी मात्रामा गुरुङ समुदायमा मात्र सिमित छ । नेपाली फिल्म एकसाथ नेपालभर प्रदर्शन हुन्छ । सिमित दर्शकलाई च्यारिटी सो मार्फत देखाउनुपर्ने बाध्यता नेपाली फिल्ममा हुँदैन । हलमा प्रदर्शन भएको फिल्मको प्रमोसन दर्शकले समेत गर्नुहुन्छ । गुरुङ फिल्ममा च्यारिटि सो गर्न टिकट भिराउनुपर्ने हुन्छ । फिल्म राम्रो भएर मात्र पुग्दैन । जिफानले प्रयास गरेको छ । आशा गरौ अब केही सुधार होला ।’

नेपाली फिल्ममा सुधार भइरहेको भएपनि सन्तुष्ट हुने अवस्था भने नभएको उहाँको बुझाई छ । पहिलाका फिल्मको कथा राम्रो हुने थियो । अहिले प्रायः उस्तै–उस्तै हुन्छ । अहिलेको भन्दा पहिलेको नेपाली फिल्म राम्रो लाग्छ । त्यसैले अब सन्देशमुलक फिल्म बनाउनुपर्नेमा उहाँको जोड छ ।

उहाँ यतिबेला समेत म्युजिक भिडियोमा व्यस्त हुनुहन्छ । ‘भिडियोमा काम गरिरहेको छु, कोरोनाले गर्दा अहिले खासै फिल्म बनेको छैन, बरु विज्ञापनको सुटिङ हुँदैछ’ उहाँले भन्नुभयो ।

गुरुङ फिल्म एशोसिएशन नेपाल जिफानमा आवद्ध उहाँ नेपाली फिल्म तथा गुरुङ फिल्म हेरेर कलाकारलाई माया गर्न दर्शकसँग आग्रह गर्नुहुन्छ । फिल्म क्षेत्रको उत्थानको लागि हलमा गएर फिल्म हेर्नुपर्नेमा उहाँको जोड छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button