अन्ततः पोखरा स्पोर्टस् अवार्ड भर्चुअल माध्यमबाट हुने

कार्यक्रम प्रभावकारी बनाउन तयारी तिव्र

राजाराम पौडेल, पाेखरा न्यूज सम्वाददाता । अन्ततः कोरोना महामारीका कारण पटक–पटक स्थगित हुँदै आएको ‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड असार १८ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार बसेको २५ औं कार्यसमिति बैठकले अवार्डको ‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ भर्चुअल माध्यम मार्फत गर्ने निर्णय गरेको हो ।

अघिल्लो वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस प्रभावका कारण अवार्ड समारोह स्थगित हुँदै आएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअल मार्फत अवार्ड समारोह गर्न स्वीकृत दिएबमोजिम अवार्ड कार्यक्रम तयारी अघि बढाइएको मञ्चका अध्यक्ष एकराज गिरीले पोखरा न्युजलाई जानकारी दिनुभयो ।

असार १८ (जुलाई २) खेलकुद पत्रकारको लागि विशेष दिन ‘विश्व खेलकुद पत्रकार दिवस’ समेत भएकोले सोही दिनमा अवार्ड वितरण गर्ने तयारी गरिएको अध्यक्ष गिरीको भनाई छ । यस अगाडि गत वैशाख २० का लागि अवार्ड वितरणको तयारी गरिएकोमा निषेधाज्ञाका कारण अन्तिम समयमा आएर स्थगित भएको थियो ।

अब अवार्ड कार्यक्रम असार १८ गते दिउँसो ३ बजे पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअल माध्यमबाट सुरु हुनेछ । सिमित अतिथिलाई निमन्त्रणा गरेर सेमी भर्चुअल माध्यमबाट गरिने अवार्ड कार्यक्रम प्रत्यक्ष प्रसारण मार्फत खेलप्रेमी दर्शकलाई घरमानै बसेर हेर्न मिल्ने व्यवस्था मिलाइने मञ्चले जनाएको छ ।

समारोहमा विगतमा झैं यसपालि ७ विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई नगदसहित अवार्ड वितरण गर्नेछ । तीमध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको उत्कृष्ट ३ मनोनयन सूची यसअगाडि नै सार्वजनिक गरिसकेको छ ।

जस अनुसार वर्ष खेलाडी पुरुष विधामा करातेका नवीन रसाइली, टेबलटेनिसका विनेश खनिया र फुटबलका सुमन अर्याल मनोनयनमा पर्न सफल हुनुभएको छ । वर्ष खेलडी महिलाको मनोनयनमा साइक्लिङकी जमुना थापा, तेक्वान्दोकी पार्वती गुरुङ र तेक्वान्दोकै प्रशंसा क्षेत्री हुनुहुन्छ ।

यसैगरी उदियमान खेलाडीको विधामा पौडीका दुवाना लामा, लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन खत्री मनोनयनमा पर्नुभएको छ । उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा पर्न सफल हुनेमा पौडीका आनन्द कुँवर, फुटबलका किरण श्रेष्ठ र बक्सिङका सुरेश मल्ल ठकुरी हुनुहुन्छ ।

पोखरा स्पोर्टस् अवार्डमा खास प्रतिभा छनोट गर्दै अवार्र्डलाई पारदर्शी बनाउन मञ्चले खेलाडी छनौट उपसमिति गठन गरिएको थियो । मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित समितिले छनोट गरेकामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट ३ मनोनयन गरेको हो । मनोनयनमा परेका उनीहरुमध्येबाट उत्कृष्ट छनोट गरेर अवार्ड प्रदान गरिनेछ ।

मञ्चले प्रदान गर्ने अन्य विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्ड रहेको मञ्चका महासचिव विजय नेपालले जानकारी दिनुभयो ।

खेलाडी छनोट समिति संयोजकत्वमा रामकृष्ण ज्ञवाली सहित सदस्यमा केशव पाठक, विनोद लामिछाने, दीननाथ बराल, सन्देश श्रेष्ठ र सुदर्शन रञ्जित हुनुुहुन्छ भने वर्ष उत्कृष्ट पत्रकारिता अवार्डका लागि दीपेन्द्र श्रेष्ठ, त्रिभुवन पौडेल, विनोद लामिछाने रहेको प्रतिभा छनोट समिति गठन भएको छ । दुवै समितिको पदेनसदस्य मञ्च अध्यक्ष र महासचिव हुनुहुन्छ । सबैको साथ र सर्पोट सहित अवार्ड कार्यक्रमलाई प्रभावकारी बनाउन तयारीलाई तिव्र पारिएको मञ्चले जनाएको छ ।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिलालाई नगद दूई लाख सहित ट्रफी र दोसल्ला प्रदान गरिनेछ । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार सहित ट्रफी र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेलकुद संघलाई नगद ३५ हजारको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड पाउनेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला प्रदान गरिने कोषाध्यक्ष शशीकुमार पौडेलले बताउनुभयो । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेका सबैलाई ट्रफी र उपहार प्रदान गरिने कोषाध्यक्ष पौडेलको भनाई छ । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको मुख्य सहयोग रहनेछ ।

खेल पत्रकारको हित, संरक्षण र वृत्ति विकासमा सहयोग गर्ने उद्देश्य स्थापित संस्था भइकन पनि समग्र खेलकुदको विकासबिना खेल पत्रकारिताको पनि विकास हुन नसक्ने तथ्य मनन गर्दै विविध गतिविधि गर्ने क्रममा मञ्चले स्पोर्टस् अवार्डलाई निरन्तरता दिँदै आएको मञ्च अध्यक्ष गिरीले जनाउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button