पार्वती, जमुना र प्रशंसा अवार्ड जित्ने दौडमा

राजाराम पौडेल, पाेखरा न्यूज सम्वाददाता । ‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ मा वर्ष उत्कृष्ट खेलाडी (महिला)को अवार्डको लागि तेक्वान्दोकी पार्वती गुरुङ, साइक्लिङकी जमुना थापा र तेक्वान्दोकी प्रशंसा क्षेत्री बिच प्रतिष्पर्धा हुदैँछ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही असार १८ गते शुक्रबार दिउँसो ३ बजे भर्चुअल रुपमा आयोजना हुने अवार्ड प्रतिष्पर्धामा उत्कृष्ट तीनको मनोनयनमा पर्न सफल उहाँहरुबिच प्रतिष्पर्धा हुने निश्चित भएको हो । तीनै जना आफ्नो क्षेत्रमा अब्बल हुनुहुन्छ ।

वर्ष उत्कृष्ट खेलाडी (महिला) विधामा उत्कृष्ट ३ मनोनयनमा पर्नुभएकी पार्वती गुरुङ तेक्वान्दो खेलाडी रहनुभएको छ । तेक्वान्दोको पुम्से विधाको र्‍याङ्किङमा अगाडि रहनुभएकी पार्वती नेपाल प्रहरीमा आवद्ध हुनुहुन्छ । उहाँले नेपालमा भएको १३ औं सागमा दोहोरो पदक हात पार्नुभएको थियो । साग इतिहासमै पहिलो पटकसहभागिता गराइएको पुम्सेअन्तर्गत २४–२९ वर्ष उमेर समूहमा उहाँले एकलतर्फ स्वर्ण र जोडी पुम्सेतर्फ कास्य पदक हात पार्नु भएको थियो । सागमा श्रीलंकन खेलाडीलाई फाइनलमा हराउँदै स्वर्ण जित्न सफल पार्वतीले कोरियन एम्बास्डर नेश्नल तेक्वान्दो च्याम्पियनसीप (चौथोदेखि नवौंसम्म) हरेक पटक गोल्ड मेडल जित्नु भएको छ ।

आठौं राष्ट्रिय खेलकुदमा २ स्वर्ण र १ रजत समेत उहाकै नाममा छ । एकल र जोडी पुम्सेतर्फ २ स्वर्ण र टिमतर्फ १ रजत उहाँले जित्नुभएको थियो ।

लमजुङको दूधपोखरी गाउँपालिका ३, बेत्यानीकी पार्वती बाबु ओमलाल र आमाकुमारी गुरुङ दम्पतीका ३ छोरी मध्ये कान्छी हुनुहुन्छ । २५ वर्षीया पार्वतीले ९ वर्षको उमेर छँदाबाट प्रतियोगीतामा भाग लिन थाल्नुभएको हो । ९ वर्षको उमेरमा चितवनमा पहिलो प्रतियोगिता खेलेको उहाँको मानसपटलमा अझै ताजै छ ।

राखेप च्याम्पियनसीपमा रजत, प्रथम लुम्बिनी नेश्नल च्याम्पियनसीपमा गोल्ड मेडल विजेता उहाँ १८ औं एशियन गेम्स, जार्कातामा नेपालको तर्पmबाट खेल्नु भएको थियो । थाइल्याण्डमा भएको सातौं तिराक ओपन तेक्वान्दो च्याम्पियनसीपमा गोल्ड मेडलधारी उहाँले खेलको सिलसिलामा इटाली, मलेसिया, भियतनाम, कोरिया लगायतका देश पुगेर आफ्नो क्षमता देखाइसक्नु भएको छ । चीनमा हुने एशियन गेम्सको लागि तयारीमा रहेको बताउने उहाँले ओलम्पिक सहभागिता जनाउने लक्ष्य लिनुभएको छ ।

यसैगरी मनोनयनमा पर्न सफल अर्को खेलाडी जमुना थापाले १३ औं सागमा डाउन हिल साइक्लिङतर्फ रजत पदक जित्नुभएको थियो । पोखराको पर्यटकिय क्षेत्र लेकसाइडमा जन्मे हुर्केकी २३ वर्षकी जमुनाको साइकल चलाउने रहर बाल्यकालदेखिकै हो । त्यतिबेला आमासँग ५ रुपैयाँ मागेर आधा घण्टासम्म भाडामा लिएको साइकल चलाएको उहाँले विर्सनु भएको छैन । स्कुल छुट्टि भएपछि जुम्ल्याहा गंगा–जमुना भाडामा साइकललिएर टाढा–टाढासम्म पुग्नुहुन्थ्यो । बावु रामबहादुर र आमा हरिमाया थापाका जुम्ल्याहा दिदीबहिनीमा गंगाहोटल म्यानेज्मेन्ट क्षेत्रमा हुनुहुन्छ । जमुनालाई भने रहरैरहरमा सिकेको साइकलले पछिल्लो समय नाम र दाम दुवै दिएको छ ।
पोखराको तालबाराही माविबाट प्लस टूको अध्ययन पूरा गरेकी जमुनाको खेलकुद क्षेत्रमा केही गर्ने लक्ष्य रहेको रहेको छ ।

जमुना २०७७ मा आयोजित प्रथम त्रियुगा खेलकुद महोत्सवमा रजत पदक विजेता हुनुहुन्छ । उहाँ पौडी खेलाडी समेत हुनुहुन्छ । पोखरामा भएको आठौं राष्ट्रिय ट्राइथलन–२०७५ मा उनले कास्य पदक हात पार्नु भएको थियो । गण्डकी बोर्डिङ स्कुलमा स्वीमिङ लाइफगार्ड तथा कोच उहाँले लकडाउन अघिसम्म साइकल टुर्स एण्ड ट्राभल्समा काम गर्नुहुन्थ्यो । उहाँले माउन्टेन बाइकमै मनाङ र जोमसोमको टूर गर्नूृभएको छ । उहाँले गोरखामा आयोजित फस्ट लिगलिग साइक्लिङ म्याराथन (५४ किमी) प्रतियोगितामा भाग लिनु भएको थियो । प्रतियोगिताको समग्रमा नवौं स्थान तथा गण्डकी प्रदेशबाट कास्य पदक विजेता बन्न सफल हुनुभयो ।

यता यहीं विधामा मनोनयनमा पर्नुभएकी तेक्वान्दो खेलाडी प्रशंसा क्षेत्रीको जन्म २०५१ सालमा स्याङ्जाको हरिनास गाउँपालिका–२, चिसापानीमा भएको हो । बावु पिनराज भण्डारी क्षेत्री र आमा धनमाया भण्डारी क्षेत्रीका ४ सन्तानमा उहाँका १ दाइ र २ भाइ छन् । स्याङ्जाबाट पोखरा बसाइँ सरेसँगै उहाँले पोखराको सिद्ध माविबाट एसएलसी उत्तीर्ण गर्नुभयो । जिल्ला, क्षेत्रीय स्तरको प्रतियोगिता जित्दै खेल करियर अगाडि बढाउनुभएकी उहाँले दोस्रो काठमाडौं इन्टरनेशनल गेम्समा स्वर्ण, १२ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप, इटहरीमा स्वर्ण, प्रथम एभरेस्ट नेशनल ओपन गेम्समा रजत हात पार्नुभएको छ । राष्ट्रिय टिममा परेसँगै इण्डोनेसियामा आयोजित हाम्मादाङ च्याम्पियनसीपमा समेत उहाँले सहभागिता जनाउनुभयो ।

सुरुआतमा तेक्वान्दोमा क्योरोगीमै फाइटमा भिड्नु गर्नुभएकी उहाँले पछि गुरुहरुको सल्लाहमा पुम्से खेलेको सुनाउनुहुन्छ । हाल त्रिभुवन आर्मी क्लबमा आबद्ध प्रशंसाको एशियन तथा वल्र्ड च्याम्पियनमा भाग लिने लक्ष्य छ । उहाँको जन्मस्थल स्याङ्जा भए पनि कर्म थलो पोखरा हो ।

पोखराको सिद्ध मावि, फलेपाटन कक्षा ५ मा पढ्दै गर्ने समयमा प्रशंसालाई बुबालेनै तेक्वान्दो सिक्न लैजानु भएको थियो । शुक्रराज तेक्वान्दो डोजाङमा भर्ना भएर उहाँले आफ्ना गुरु कृष्ण श्रेष्ठसँग खेल सिक्न सुरु गर्नुभयो । सो समयमा १३ वर्षकी उहाँलाई खेलका विभिन्न कौशलले मोहित बनायो । यसरी सुरु भएको उहाँको खेल यात्राले सागमा स्वर्ण पदकसम्म चुमिसकेको छ । सागमा पहिलोपल्ट तेक्वान्दोमा (पुम्से विधा) १३ औं संस्करणदेखि सुरु भएको थियो । प्रशंसाको अन्तर्राष्ट्रिय सहभागिता पनि यहीबाट भयो । यसरी पहिलो सहभागितामै २४–२९ वर्ष उमेर समूहमा टिम इभेन्टतर्फ स्वर्ण जितेर आफ्नो खेल यात्रालाई महत्वपूर्ण बनाउन उहाँ सफल हुनु भएको हो ।

‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) बन्न सफल खेलाडीले २ लाख सहित अवार्ड प्राप्त गर्नुहुनेछ । अवार्ड जित्ने दौडमा रहनुभएका पार्वती, जमुना र प्रंशसा मध्ये अवार्ड कसको पोल्टामा पर्छ प्रतिक्षाको विषय बनेको छ । मनोनयनमा परेकोमा खुशी हुनुभएका तीनै जनाको अवार्ड हात पार्ने आशा रहेको छ । अवार्ड कार्यक्रम असार १८ गते दिउँसो ३ बजे पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअल माध्यमबाट हुनेछ । समारोहमा वर्ष उत्कृष्ट खेलाडी महिलासँगै विभिन्न ७ विधामा अवार्ड वितरण गरिने मञ्चले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button