पोखरामा स्पोर्टस् अवार्डको रौनक बढ्दै

विनेश, नवीन र सुमनबीच उत्कृष्ट बन्ने प्रतिष्पर्धा, कस्ले मार्ला बाजी ?

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । ‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ यही असार १८ गते हुने निश्चित भएपछि अवार्डको रौनक बढ्न थालेको छ । खेल क्षेत्रमा अगाडि बढ्नुभएका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई अवार्ड प्रदान गरेर खेल क्षेत्रमा थप क्रियाशील बन्न हौसला प्रदान गर्ने उद्धेश्यले आयोजना हुने कार्यक्रमप्रति खेलप्रेमीको अथाह माया रहने गरेको छ । कोरोना

महामारीका कारण अवार्ड कार्यक्रम पटक–पटक स्थगित हुँदा निरास बनेका खेलप्रेमीहरुले सेमी–भर्चुअल माध्यमबाट भएपनि कार्यक्रमको आयोजना हुन लागेकोमा सकारात्मक प्रतिक्रिया दिएका छन् । अवार्ड मनोनयन सार्वजनिक भएपछि मनोनयनमा परेको थाहा पाएर उत्साहित बनेका खेलाडीले अवार्ड समेत हात पार्ने विश्वासमा अवार्ड वितरण हुने दिनको प्रतिक्षामा बसेका छन् ।

मनोनयन सार्वजनिक भएका सबै विधामा उत्तिकै प्रतिष्पर्धा रहेको छ ।
यसैबीच वर्ष उत्कृष्ट खेलाडी पुरुष विधाको अवार्डको लागि टेबल टेनिस खेलाडी विनेश खनियाँ, कराते खेलाडी नवीन रसाइली र फुटबल खेलाडी सुमन अर्याल बीच प्रतिष्पर्धा हुदैँछ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुन लागेको अवार्ड कार्यक्रमको उत्कृष्ट खेलाडी पुरुष विधामा मनोनयनमा पर्नुभएका तीनजना मध्ये कस्ले बाजी मार्ला कौतुहलताको विषय बनेको छ ।

यो कौतुहलता असार १८ गते शुक्रबार दिउँसो साढे २ बजे पछि भर्चुअल रुपमा आयोजना हुने अवार्ड कार्यक्रममा बल्ल मेटिनेछ । तीनै जनाले आफूले अवार्ड हात पार्न सक्ने आशा राख्नुभएको छ । मनोनयनमा परेकोमा तीनै जना खेलाडी खुशी हुनुहुन्छ ।

उत्कृष्ट खेलाडी (पुरुष) विधामा उत्कृष्ट ३ मनोनयनमा पर्नुभएका विनेश खनियाँ २७ वर्षको हुनुभयो । टेबल टेनिस खेलाडी रहनुभएको उहाँ नेपाल प्रहरीमा आबद्ध हुनुहुन्छ । प्रहरी सेवामा उहाँ २०७३ सालदेखि आबद्ध हुनुभएको हो । सन् २००८ देखि यस खेलमा आउनुभएका उहाँ लमजुङ जिल्लाको दुराडाँडामा जन्मनुभएको हो । बावु गोविन्दराज खनियाँ र आमा निर्मला खनियाँका २ सुपुत्रमा उहाँ कान्छा हुनुहुन्छ । सर्वोदय मावि पढ्नेवेलामा दाइहरुले टेबलटेनिस खेलेको देखेर यस खेलप्रति मोह जागेको उहाँ सुनाउनुहुन्छ । काठमाडौंको सिद्धार्थ वनस्थलीमा पुगेपछि सिक्न कस्सिनुभयो । त्यहाँ उहाँलाई प्रशिक्षक सुरेन्द्र सुवालले तालिम दिनुभयो । यसरी उहाँको खेल क्षेत्रमा आगमन भएको हो ।

१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा उहाँले टिम इभेन्टमा रजत र मेन्स डबल्सतर्फ कास्य पदक जित्नुभएको थियो । सन् २०१७ मा बंगलादेशमा आयोजित साउथ एशियन क्लबमा रजत पदक जितेर देशको नाम रोसन गर्नुभएको थियो । सन् २०१८ मा मलेसियामा भएको १३ औं युआईटिएम इन्टरनेशनल स्पोर्टस् फेस्टामा उहाँले गोल्ड मेडल जित्नुभयो । आठौं राष्ट्रिय खेलकुदमा उहाँले स्वर्ण (मेन्स डबल्स), रजत (मिक्स डबल्स्) र कास्य (मेन्स् टिम) जित्नुभएको थियो ।

राष्ट्रिय करिब ३ दर्जन तथा अन्तर्राष्ट्रियस्तरका झन्डै एक दर्जन प्रतियोगिता खेलिसक्नुभएका उहाँले हंगेरी, अष्ट्रेलिया, क्रोयसिया, थाइल्याण्ड, मलेसिया, बंगलादेश, कोरिया, भारत लगायत देशमा पुगेर आफ्नो खेल कौसल देखाउनु भएको छ । व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण विनेश खेलकै सिलसिलामा विभिन्न देश पुग्नुभएको छ ।

कोभिड–१९ का कारण खेल क्षेत्रमा प्रभाव परेको बताउने उहाँले हाल काठमाडौं लैनचौरस्थित कभर्डहलमा नयाँपुस्ताका खेलाडीलाई प्रशिक्षण दिनुहुन्छ ।
काठमाडौं जिल्ला टेबलटेनिस एसोसिएसनका कार्यसमिति सदस्य समेत रहनुभएका उहाँले ओलम्पिक सोलिडारिटी कोर्स, कोचका लागि टेक्निकल कोर्स, आईटिटिएफ–पिटीटी लेभल कोर्स गर्नुभएको छ ।

यसैगरी मनोनयनमा पर्नुभएका कराते खेलाडी नवीन रसाइली साग विजेता हुनुहुन्छ । बागलुङ जिल्लाको बोंगादोभान–२ मा २०५५ सालमा उहाँको जन्म भएको हो । बावु पूर्णवीर र आमा भीमदेवी रसाइलीका ३ छोरा र १ छोरीमध्ये उहाँ माहिला हुनुहुन्छ । गत वर्ष भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा ६७ केजी तौल समूहमा उहाँले स्वर्ण हात पार्नुभएको थियो । उहाँको लक्ष्य ओलम्पिकमा सहभागी हुनु रहेको छ । जसका लागि उहाँले ललितपुरमा रहेर तालिम गर्नुभएको छ । बिहानीको समय राष्ट्रिय टिमसँग तालिममा व्यस्त हुने उहाँ दिउँसो भने बालाजु कराते डो एकाडेमीमा आबद्ध हुनुहुन्छ । बालाजुमा उहाँ आवद्ध भएको २०६६ साल देखि नै हो ।

नविनले सन् २०११ मा ब्ल्याक बेल्ट प्राप्त गर्नुभएको थियो । बंगलादेशमा भएको पाँचौं साउथ एशियन कराते च्याम्पियनसीपमा एकलतर्फ कास्य र टिम इभेन्टमा रजत पदक विजेता हुने अवसर उहाँले पाउनुभएको थियो ।
सन् २०१४ मा सम्पन्न साउथ एशियन क्याडेट/जुनियर तथा सिनियर कराते च्याम्पियनसीपमा उहाँ ६८ केजी तौल समूहमा प्रथम हुन सफल हुनुभयो । उहाँले भाग लिएका एक दर्जन बढी विभिन्न प्रतियोगितामा कुनै न कुनै पदक जित्नुभएको छ । सन् २०१० मा काठमाडौंमा भएको कराते प्रतियोगितामा उहाँले स्वर्ण जित्नुभएको थियो । परिवारमा उहाँका दाइसमेत यही खेलसँग आबद्ध हुनुहुन्छ ।

यता मनोनयनमा पर्नुभएका नवलपुर जिल्ला दुम्कीवासका सुमन अर्याल सानैदेखि फुटबलप्रेमी हुनुहुन्थ्यो । उहाँको सहभागिता यु–१६ साफ च्याम्पियनसीपबाट भयो । ५ वर्षअघि भएको सो प्रतियोगितामा क्वार्टरफाइनलसम्म नेपाल पुग्न सकेको थियो ।

गत वर्ष १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा यु–२३ मा उहाँ सहभागी टिमले नेपाललाई स्वर्ण दिलाएको थियो । त्यसबेला नेपालले भुटानलाई फाइनलमा २–१ गोलअन्तरले हराउन सफल भएको हो । यु–१८ साफ च्यापियनसीप, भुटानमा सहभागी नेपालले स्वर्ण जित्दा उहाँको योगदान छ । नेपालले त्यसबेला भारतलाई फाइनलमा हराउँदै उपाधि जितेको थियो ।

उहाँले एन्फामै तालिम लिनुभएको छ । ४ वर्षदेखि उनी नेपाल आर्मीमा आबद्ध हुनुहुन्छ । आर्मी टिमबाट आहारारा गोल्डकप खेल्न डिफेन्डर सुमन पोखरा रंगशाला समेत आउनुभएको थियो ।

‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ मा वर्ष उत्कृष्ट खेलाडी पुरुष विधामा बन्न सफल खेलाडीले २ लाख सहित अवार्ड प्राप्त गर्नुहुनेछ । अवार्ड कार्यक्रम असार १८ गते दिउँसो साढे २ बजे पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमि–भर्चुअल माध्यमबाट हुनेछ । समारोहमा वर्ष उत्कृष्ट खेलाडी पुरुषसँगै विभिन्न ७ विधामा अवार्ड वितरण गरिने मञ्चले जनाएको छ । लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकारतर्फ २ जनालाई यसपाली पुरस्कार प्रदान गरिनेछ ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउनका लागि तयारी तिव्र पारिएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताउनुभयो । सिमित व्यक्ति प्रत्यक्ष उपस्थित भइ सेमी भर्चुअल माध्यमबाट आयोजना हुने अवार्ड कार्यक्रम खेलप्रेमीले घरमानै बसेर हेर्न सक्ने व्यवस्था मिलाइने मुल समारोह समितिका संयोजक समेत रहनुभएका गिरीले जनाउनुभयो ।

अवार्ड कार्यक्रम सम्पन्न गर्न गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका सहित विभिन्न संघसंस्था तथा खेलप्रेमी महानुभावको विशेष सहयोग रहेको छ । भर्चुअल माध्यमबाट अवार्ड कार्यक्रम आयोजना गरिएपनि यसको रौनकतामा कुनै कमी नआउने महासचिव विजय नेपालको दावी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button