गण्डकी प्रदेशसहित देशभर भारी वर्षाको सम्भावना !

पोखरा न्यूज । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । उक्त प्रदेशको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे, खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायत क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । प्र्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको विवरणमा उल्लेख छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पनि यही मौसमी प्रणाली कायम रहनेछ । आज काठमाडौँ उपत्यकामा बिहानैदैखि निरन्तर वर्षा भइरहेको छ ।

शनिबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज काठमाडौँको अधिकतम २४ दशमलव ४ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्रि सेल्सियस छ । गत २४ घण्टामा काठमाडौँमा ४० मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै विराटनगरमा ८९ दशमलव ९, सिमरामा ६२ र भैरहवामा ५७ मिलिमिटर वर्षा भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button