नेपालमा स्वास्थ्य सामग्री पठाउन सहयोग गर्नेलाई कतारमा सम्मान

दोहा कतार । कोरोनाका कारण परेको विषम परिस्थितिमा सहयोग पुर्‍याउने संस्थाहरूलाई कतारस्थित नेपाली राजदूतावासले सम्मान गरेको छ l मानवीय कार्यमा योगदान दिने व्यक्ति तथा संस्थाहरूलाई राजदूतावासको तर्फबाट सम्मान गरिएको हो l दूतावासको सभा हलमा सम्पन्न कार्यक्रम राजदूत नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l

नेपालमा कोरोना सङ्क्रमणबाट उत्पन्न समस्यामा राहत पुर्‍याउने उद्देश्यले राजदूत भारद्वाजको संरक्षकत्व र नेपाली व्यवसायी सङ्घ कतारका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईको संयोजकत्वमा काेभिड १९ क्राइसिस रिलिफ एण्ड सपाेर्ट ग्रुप गठन गरिएको थियो l उक्त ग्रुपले राजदूतावाससँगको सहकार्य र समन्वयमा, सङ्घ कतार तथा सदस्यहरूको समेत सक्रियतामा रु १ करोड २० लाख बराबरको १४ थान भेन्टिलेटर, ४२ अक्सिजन कन्सन्ट्रेटर, २१०० थान पल्स अक्सिमिटर र नेजल क्यानुला ५० थान गरी जम्मा २२०६ थान स्वास्थ्य सामाग्री खरिद गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरी सकेको छ l

उक्त कार्यक्रममा २ ओटा संस्था तथा ४८ जना व्यक्तिहरूलाई राजदूत भारद्वाजले सम्मान पत्रले सम्मान गर्नु भएको थियो l सम्मानित हुनेहरूमा नासर अल अलि इन्टर प्राइजेजका अध्यक्ष नासर अल अलि, सफारी ग्रुप अफ कम्पनीजका ह्युमन रिसोर्स म्यानेजर अनुप तुलसीधरन, सङ्घ कतारका अध्यक्ष महेन्द्र प्रसाद चौलागाई, सङ्घका पदाधिकारी तथा सदस्यहरू हुनुहुन्थ्यो । संस्थागत रूपमा नेपाल इन्जिनियर एसोसिएसन दोहा सेन्टर सम्मानित भएको थियो ।

कार्यक्रमको अन्त्यमा मन्तव्य राख्नु हुँदै राजदूत भारद्वाजले सम्मानित हुनुहुने सबैलाई हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा आवश्यक परेमा यस्तै सहयोग तथा सहकार्यको अपेक्षा गरेको बताउनु भयो।

नेपाल पठाएका स्वास्थ्य सामाग्रीको नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्च अधिकारीहरूबाट समेत प्रशंसा भएको र यस कार्यका लागि सम्बन्धित संस्था तथा व्यक्तिको समुचित मूल्याङ्कन भएको भारद्वाजले बताउनु भयो । कार्यक्रमको सहजीकरण दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले गर्नु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button