सबैलाई खोप लागउने प्रतिबद्धता गरेका मन्त्री श्रेष्ठ विदा भए

पोखरा न्यूज । पाँच मन्त्रालयको नेतृत्व समाल्नुभएका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजदेखि बिदा हुनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकूद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले उहाँलाई बिदाइ गरेको हो ।

मन्त्री श्रेष्ठ १९ दिनमा शिक्षा मन्त्रालयबाहेक चार मन्त्रालयमा करिब एक दर्जन महत्वपूर्ण काम गर्न सफल हुनुभएको छ । बिदाइ समारोहमा उहाँले अमेरिकी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपहारस्वरुप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ल्याउन आफू सफल भएको भन्दै चीनबाट करीब ४० लाख खोप खरिद गर्न सम्झौता गरिसकिएको बताउनुभयो । स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेलगत्तै उहाँले यस वर्षभित्र सबै नागरिकलाई खोप उपलब्ध गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यभार सम्हालेकै दिन चीनबाट खोप खरिद गर्ने सम्झौता गर्नुभएका मन्त्री श्रेष्ठ त्यसको एक साताभित्र आठ लाख मात्रा खोप ल्याउन सफल हुनुभएको छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मन्त्री श्रेष्ठको कार्यशैलीका कारण काम गर्न सहज भएको बताउनुभयो । उहाँको कार्यकालमा तीन मुलुकबीचको फुटबल खेलमा पहिलो स्थान हासिल गर्ने फुटबल खेलाडीलाई नगद पुरस्कार र युवा परिषद्को बैठक सम्पन्न भएकोे थियो ।

मन्त्री श्रेष्ठले गत असोज २९ गतेदेखि शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । गत पुस १२ गतेदेखि शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुग्नुभएका श्रेष्ठले मन्त्रालयअन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गत वर्ष स्थगित कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो । उहाँको कार्यकालमा विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारीको नियुक्ति भएको थियो ।

मन्त्री श्रेष्ठले आफूले जे जस्तो काम गरे पनि मन्त्रालयका सचिवलगायत कर्मचारीको सहयोगले सम्भव भएको बताउनुभयो । “सबै क्षेत्रमा आमूल परिवर्तन गर्ने सोच थियो, तर कम समय भएकाले सम्भव भएन, जति काम सम्पन्न गरेँ, त्यसमा मलाई खुशी लागेको छ”, उहाँले भन्नुभयो, “पाँच वटा मन्त्रालयका बारेमा सिक्ने मौका पाएँ, एक पटकमा पाँच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको छु ।”

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले आफूले १४६ दिनसम्म काम गर्ने मौका पाउँदा मन्त्री श्रेष्ठसँग धेरै विषयमा जानकारी हासिल गर्न पाएको बताउनुभयो । तीन दिनअघि मात्रै विज्ञान मन्त्रालयको कार्यभार सम्हाल्नुभएका विज्ञान सचिव सुरेश आचार्यले मन्त्रीको कार्यशैलीका बारेमा आफूलाई जानकारी भएको बताउनुभयो ।

युवा मन्त्रालयका सचिव केदार न्यौपाने, श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, वन मन्त्रालयका सचिव प्रेम कँडेल, स्वाथ्य मन्त्रालयका सचिव अर्याल र शिक्षा मन्त्रालयका सचिवद्वय थपलिया र आचार्यले बिदा भएर जान थाल्नुभएका मन्त्रीलाई आगामी यात्राको शुभकामना व्यक्त गर्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button