सोह्र दिनदेखि सडक अवरुद्ध, दुग्ध ढुवानीमा समस्या

पाेखरा न्यूज । बागलुङको दक्षिण क्षेत्र १६ दिनदेखि सडक सम्पर्कविहीन छ । एउटै पहिराले जिल्लाको दक्षिण जोड्ने चार सडकमा क्षति पुर्‍याएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिमामा समेत सवारी आवतजावत बन्द छ ।

गत असार १८ गते राति आएको पहिराले बागलुङ –१० एक्लेशालमा चार सडकमा क्षति पु¥याएको थियो । कालिगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड, बागलुङ कुश्मीशेरा सडक, करिडोरको वैकल्पिक सडक र एक्लेशाल–भकुण्डे सडक पहिरोले बगाएको हो । सडकको गहिराईबाट नै पहिरोले बगाएकाले सडक मर्मतमा समस्या भएको नगरपालिकाले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि दूध ढुवानी गर्न नपाउँदा यहाँका किसान मर्कामा परेका छन् । नगरपालिकाको बलेवा क्षेत्र र जैमिनी किसानले उत्पादन गर्ने दूधको ढुवानीमा समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा दूध उत्पादक किसान मर्कामा परेको कालिगण्डकी दूध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले बताउनुभयो । बलेवाका किसानले उत्पादन गरेको दूध पर्वतको सदरमुकाम कुश्मा, पोखरा र बागलुङ बजारमा बिक्री हुने गरेको छ । बलेवा कुश्मा यान्त्रिक पुलको प्रयोग गरेर किसानले दूध बजार पु¥याएका छन् । पुलको प्रयोग गर्दा लाग्ने भाडाले उत्पादन खर्च बढाएको किसान गुरुदत्त आचार्यले गुनासो गर्नुभयो । चिस्यान केन्द्र पर्याप्त नहुँदा र समयमा बजारमा दूध नपुग्दा फाट्ने समस्या रहेको उहाँको भनाइ छ ।

बलेवाका किसानले दैनिक २०० लिटरभन्दा धेरै दूध उत्पादन गरेर बजार पठाउने गरेका छन् । “हाम्रो मुख्य पेसा नै यही हो”, उहाँले भन्नुभयो, “एक दिन दूध रोकिँदा व्यावसायिक किसानको हजारौँको क्षति हुन्छ ।” वैकल्पिक सडकको व्यवस्था हुनुपर्ने उहाँको माग छ । कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पा, सडक डिभिजन कार्यालय बागलुङ र जिल्ला प्रशासन कार्यालय बागलुङलेसमेत आआफ्नोतर्फबाट सडक खुलाउने प्रयास गरिरहेका छन् । “काम निरन्तर भइरहेको छ, पहरो नै खसेकाले समस्या छ”, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भन्नुभयो, “विकल्पसमेत केही छैन् ।” तत्कालका लागि करिडोर मर्मतको प्रयास भएको हो । कालोपत्र भइसकेको बागलुङ कुश्मीशेरा सडक भने मर्मत गर्न महिनौँ लाग्ने गरी क्षति भएको उहाँले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button