पत्रकारलाई धम्की दिने श्रीकृष्ण श्रेष्ठ प्रहरी नियन्त्रणमा

पाेखरा न्यूज । नक्कली बिलमार्फत अनुदानको रकम समेत जोडेर विद्यार्थीलाई किताब बेच्दै गरेकाे पोखराको सरकारी स्कुलबारे समाचार लेख्ने पत्रकारलाई धम्की दिने श्रीकृष्ण श्रेष्ठ प्रहरी नियन्त्रणमा परेका छन् । नवलपरासी घर भई पोखरा ११ काहुँ बस्दै आएका श्रेष्ठलाई कास्की प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ ।

काहुँको कालिका माध्यमिक विद्यालयसँग सम्बन्धित रहि नक्कली बिलमार्फत अनुदानको रकम समेत जोडेर किताब बेच्दै पोखराको सरकारी स्कुल शीर्षकमा गत ६ साउनमा पाेखरा न्यूज डट कमले समाचार प्रकाशन गरेको थियो । त्यसबारेकाे समाचार साेही दिन गण्डक न्युजमा पनि प्रकाशित भएकाे थियाे ।

समाचारका लागि बुझ्ने क्रमदेखि नै विद्यालयकी प्रधानाध्यापक निर्मला मानन्धरको श्रीमान् हुँ भन्दै श्रीकृष्णले पत्रकारलाई लगातार फोन र म्यासेज गरेर भेट्न दवाव दिइरहेका थिए ।त्यसपछि श्रेष्ठले धम्कीपूर्ण भाषामा नभेटे राम्रो नहुने भन्दै पत्रकार अधिकारीलाई चेतावनीयुक्त म्यासेज पठाएका थिए । त्यतिमात्र होइन पत्रकार विरुद्ध नै मान्छे परिचालन गरी चरित्रहत्या गर्न श्रेष्ठ उत्रिए ।

लगातारकाे धम्की पछि पत्रकारहरु श्रेष्ठ विरुद्ध कानुनी उपचार खाेज्न बाध्य भए । यसैक्रममा  प्रेस चौतारी कास्कीले पत्रकारलाई धम्की दिइएकाे घटनाकाे विराेध गरेपछि श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् । प्रेस स्वतन्त्रताकाे हनन र पत्रकारले निर्वाधरुपमा कार्यक्षेत्रमा काम गर्न अवराेध गर्ने  याे घटनाकाे चाैतारीले कडा शब्दमा आपत्ति जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार आरोपी श्रेष्ठलाई शनिबार पूर्वान्ह १० बजे कार्यालयमै झिकाई नियन्त्रणमा राखिएको छ ।

समाचार लेखेकै विषयमा धम्की दिँदै पत्रकार विरुद्ध आक्रमण सुरु भएपछि पत्रकार सम्बद्ध संघसंस्थाले चर्को आपत्ति जनाएका छन् । पत्रकार महासंघ गण्डकी, पत्रकार महासंघ कास्की, प्रेस चौतारी कास्की, प्रेस युनियन कास्की, प्रेस संगठन कास्की, अनलाइन पत्रकार संघ गण्डकी, खेलकुद पत्रकार मञ्च गण्डकीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । प्रेस चौतारी कास्कीले पत्रकार महासंघ भवनमा तालाबन्दी गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button